अर्जेन्टिनाका गोलकिपरलाई सिकाउने नेदरल्याण्डका प्रशिक्षक !

ब्राजिल, असार २७– प्रतियोगिताको पहिलो खेलमै साबिक विजेता स्पेनलाई ५-१ गोलले हराएपछि नेदरल्यान्ड्स एकाएक जारी विश्वकपको उपाधि दाबेदारका रूपमा देखापरेको थियो।

यस हारमा स्पेनका धेरै खराब कीर्तिमान बनेका थिए। त्यो नतिजाले डच टोली र उसका प्रशिक्षक लुइस भान गाललाई चर्चामा ल्यायो।
समूहगत चरणका तीन खेलमा १० गोल गर्दै दोस्रो चरणमा पुगेपछि त नेदरल्यान्ड्सको चर्चा झनै चुलियो। यसअघि तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेका कारण डच टोली ब्राजिलमा विश्वविजेता बनेर उपाधिको प्यास मेट्न चाहन्थ्यो। तर नेदरल्यान्ड्स बुधबार राति भएको सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भयो।
यस नतिजाले डच टोली र ६२ वर्षीय प्रशिक्षक भान गाल दु:खी हुनु अस्वाभाविक थिएन। भान गाल पीडामा पिल्सिरहँदा अर्जेन्टिनाका गोलरक्षक सर्जियो रोमेरो भने खुसीमा नाचिरहेका थिए। रोमेरोले टाइब्रेकरमा नेदरल्यान्ड्सका दुईवटा प्रहार रोकेका थिए। रोमेरोको यो प्रदर्शन डच टोलीका प्रशिक्षक भान गालका लागि सुख र दु:ख दुवैको सम्मिश्रणयुक्त क्षण थियो। किनभने पेनाल्टी प्रहारलाई कसरी रोक्ने भन्ने कला भान गालले नै रोमेरोलाई सिकाएका थिए।
‘मैले नै रोमेरोलाई कसरी पेनाल्टी रोक्ने भनेर सिकाएको थिएँ। आज मैले सिकाएको ज्ञान नै मेरा लागि अभिशाप बन्यो। यसले मलाई अझ बढी चोट पु:याएको छ’, भान गालले भने। रोमेरोले सन् २००७ देखि दुई वर्ष अल्कमारका लागि व्यावसायिक फुटबल खेल्दा भान गाल टोलीका प्रशिक्षक थिए। अल्कमारमा आबद्ध हुँदा रोमेरो मात्र २० वर्षका थिए। रोमेरोले पनि भान गालबाट धेरै कुरा सिकेको स्वीकारेका छन्।
‘जब म नेदरल्यान्ड्समा क्लब फुटबल खेल्न गएको थिएँ, त्यतिबेला भान गालले मलाई धेरै कुरा सिकाएका थिए। वास्तवमा मैले फरक परिवेशमा भान गालबाट धेरै कुरा सिक्ने अवसर पाएको थिएँ। उनीप्रति म सधैं कृतज्ञ रहनेछु’, २७ वर्षीय रोमेरोले भने। सेमिफाइनलमा आफ्नो टोली विजयी भएपछि रोमेरोले डच टोलीको ड्रेसिङ रुममा गएर भान गाललाई ‘धन्यवाद’ भनेका थिए।
रोमेरोले टाइब्रेकरमा वेस्ली स्नाइडर र रोन भिलारको प्रहार रोकेका थिए। रोमेरोले स्नाइडरको प्रहार बायाँतर्फ डाइभ गर्दै र भिलारको प्रहार दायाँतर्फ डाइभ गरेर रोकेका थिए। स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका भान गालले यो सिजनदेखि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड समाल्ने भएका छन्।
‘पहिलो पेनाल्टी प्रहार गर्न कसैले मानेनन्’
अर्जेन्टिनाविरुद्ध भएको टाइब्रेकरमा आफ्ना भरपर्दा खेलाडीहरूले पहिलो प्रहार गर्न नमानेको डच प्रशिक्षक भान गालले खुलासा गरेका छन्। आफूले दुई खेलाडीलाई अनुरोध गरे पनि उनीहरूले पेनाल्टी प्रहार गर्न नमानेको प्रशिक्षक भान गालले बताए।
नेदरल्यान्ड्सका लागि पहिलो पेनाल्टी प्रहार गर्न आएका रोन भिलार गोल गर्न असफल भएका थिए। ‘मैले भिलारलाई पठाउनुअघि दुईजना खेलाडीलाई अनुरोध गरेको थिएँ तर उनीहरू तयार भएनन्। त्यसैले मैदानमा राम्रो खेलिरहेकाले भिलारलाई मैले उक्त जिम्मेवारी दिएको हुँ’, प्रशिक्षक भान गालले भने। -एजेन्‍सी

,