प्रेमको नाटक गर्दै युवतीले ठगिन ५ युबाहरु !

जनकपुरधाम, पुस २६ - सर्लाहीकी एक युवतीले प्रेमको नाटक गरी एक महिनाको अवधिमा पाँच जना यूवालाई ठगेकी छिन् । सर्लाहीबाट १२ कक्षा पास गरी ६ महिनादेखि जनकपुरको एक क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत्त ती युवतीले पाँच जना यूवा (प्रहरीले नाम सार्वजनिक नगर्न आग्रह गरेकाले नाम सार्वजनिक नगरिएको) लाई एकै शैलीमा ठगेकी हुन् ।
ठगिएका यूवाका अनुसार ती २० वर्षकी युवतीले प्रेमको नाटक गरी जनकपुरबाट काठमाडौंसम्म लगेर ठगेकी हुन् । खर्चालु र उत्तेजक तथा पैसा भएका यूवाहरुको मोवाईल नम्बर पत्ता लगाएपछि उनले सुरुमा मोबाइलमा मिस कल गरिन् । त्यसपछि युवकले कल गर्न थाले र  उनले युवकहरुलाई प्रेमको नाटक गरी आफ्नो जालमा पारिन् ।
त्यसपछि उनीहरुसँग प्रेमको नाटक गर्दै भेटघाट गर्न थालिन् र विस्तारै पैसा धुत्ने काम गरिन् । आफूले प्रेमको नाटक गरेको युवकले पैसा खर्च गर्न सक्छ भन्ने बुझेपछि उनले सँगै रात पनि बिताउने र घुमघाम पनि गर्ने भन्दै युवकलाई काठमाडौं जान उत्प्रेरित गरिन् । ठगिएका यूवालाई उनले काठमाडौंमा घुम्न पुग्ने पैसा बोक्न लगाइन् । युवकसँगै रात्री बस चढेर काठमाडौं पनि पुगिन् ।
काठमाडौं पुगेपछि उनले युवकलाई आरामसँगै रमाइलो गर्ने भन्दै लजमा लगिन् । लजमा पुगेपछि युवकलाई नुहाउनका लागि बाथरुम छिराएर उनी युवकसँग भएको सबै पैसा बोकेर फेरि जनकपुर फर्कने गर्थिन् । ‘म नुहाएर आउँदा त केटी कोठामा छैन ।’ ठगिएका एक युवकले भने ‘प्यान्टको गोजीमा भएको पैसा पनि छैन । फोन गर्दा मोबाइल अफ छ । त्यसपछि मात्र ठगिएछु भन्ने थाहा पाएँ ।’ त्यसपछि आफू काठमाडौंमा नै रहेका एक साथीले आर्थिक सहयोग गरेपछि आफू जनकपुर फर्किएको ती युवकले बताए ।
उनले एक एक गर्दै ५ जना यूवालाई यसैगरी उनले फरक फरक सिमकार्ड प्रयोग गर्दै यहि शैली अपनाएर फसाएको जिल्ला प्रहरी कार्यालय धनुषामा स्वीकार गरिन् । उनले ५ जना यूवासँग कम्तिमा १२ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ठगेको पाईएको छ ।
रंगभूमी मैदानमा युवक र युवतीको जम्काभेट

यसरी ठगिएका युवक र युवतीबीच गएको हप्ता जनकपुरको रंगभूमी मैदानमा जम्काभेट भयो । त्यसपछि उनीहरुबीच विवाद भइरहेको बेला प्रहरी पुग्यो र प्रहरीले केरकार गर्दा ठगिको रहस्य खुलेको हो । आफूहरुको मानप्रतिष्ठा जाने भन्दै युवतीलाई नभेट्दासम्म ठगिएको गुनासो कतै नगरेको ठगिएका युवकले बताए ।
प्रहरी श्रोतका अनुसार जानकी प्रहरी चौकीबाट ती यूवतीलाई पक्राउ परेकै दिन जिल्ला प्रहरी कर्यालयमा पठाई युवतीका अविभावकलाई बोलाएर आयिन्दा यस्तो गलत काम नगर्ने कागजात गरि छोडिएको छ । उनले ठगेका ५ जना यूवा सम्पर्कमा आएको तर उनले अरु यूवालाई पनि प्रेमको नाटक गरेर ठगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
-शैलेन्द्र महतो/उज्यालो

,