प्रधानमन्त्री कोइरालाले भारतीय विदेशमन्त्रीलाई के भने?
प्रधानमन्त्री कोइराला र तीन दिने नेपाल भ्रमणमा रहेकी स्वराजबीच शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा विदेशमन्त्री स्वराजले आफ्नो व्यक्तिगत, भारत सरकार र भारतीय जनताको तर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी थिइन्।
उनले विगत १७ वर्षमा भारतका प्रधानमन्त्रीको औपचारिक भ्रमण नभएको र २३ वर्षसम्म नेपाल–भारत संयुक्त आयोगको बैठक बस्न नसकिरहेका अवस्थामा आफू त्यसको ब्याजसमेत चुक्ता गर्ने ढंगले नेपाल भ्रमणमा आएको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाए।
भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो सरकारले दिगो शान्ति, राजनीतिक स्थायित्व, लोकतान्त्रिक संविधान निर्माण र विकासलाई प्राथमिकता दिएको बताएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको सरकारले छिमेकीहरूप्रति लिएको उदार र नरम नीतिको प्रशंसासमेत उनले गरेका थिए। भारतमा जस्तै नेपाली जनताले पनि विकासमा अति रुचि राखेको उनको भनाइ थियो। प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान बनाउन सकिनेमा आफू विश्वस्त भएको बताउदै संविधान बनेपछि नेपालको विकासले फड्को हान्ने उल्लेख गरेको प्रेस संयोजक अधिकारीले जनाए।
भेटमा भारतीय विदेशमन्त्री स्वराजले संयुक्त आयोगलाई पुनर्जीवन दिनुका अतिरिक्त भारतको नयाँ सरकार नेपालप्रति असाध्यै सद्भाव राख्छ भन्ने सन्देश दिन पनि आफू आएको बताएकी थिइन्। सरकार बनेको २ महिनामै नेपाल भ्रमण गर्न पाएकोमा सन्तोष व्यक्त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन महिनाको सोमबार नै पारेर नेपाल भ्रमणको मिति तय गर्न निर्देशन दिएकाले भारतीय प्रधानमन्त्रीको नेपालप्रतिको भावनात्मक सम्बन्ध उजागर भएको पनि प्रष्ट पारेकी थिइन्।
उनले भारतको नयाँ सरकारका शिक्षामैत्री कार्यक्रम, विकासमुखी कार्यक्रम र भावनात्मक सम्बन्धबाट फाइदा लिन पनि आग्रह गरेकी थिइन्। देश र जनताको हितमा हुने विकासलाई प्राथमिकता दिन उनको सुझाव थियो। ऊर्जामा लगानी भएमा उत्पादित ऊर्जा पहिले नेपालले नै उपयोग गरी बचेको विद्युत बिक्री गरेमा यसले नेपालको व्यापार घाटा कम गर्न सघाउने उनको दाबी थियो। नेपाल सार्वभौम राष्ट्र भएकाले कुनै कुरामा पनि दखल नदिने तर सहयोग मागेको क्षेत्रमा सघाउन भारत सदा तत्पर रहेको उनको भनाइ थियो।