आज गुरुपूर्णिमा || आफूलाई विद्या दान गर्ने गुरुलाई सम्मान गरी गुरु पूणिर्मा मनाइँदै

काठमाडौ, असार २८ - आफूलाई विद्या दान गर्ने गुरुलाई पूजा सम्मान गरी शनिबार मुलुकभर आचार्य दिवसका रूपमा गुरु पूणिर्मा मनाइँदैछ । यस दिन साहित्य, कला, गायन, वाद्यवादन आदि सिकाउने गुरुलाई उनका शिष्यले पूजा तथा सम्मान गर्ने परम्परा छ । गुरुहरूले पनि आफ्ना शिक्षार्थीलाई उज्ज्वल भविष्यको कामना गर्दै आशीर्वाद दिन्छन् ।

हिन्दु संस्कृतिमा अज्ञानता रूपी अन्धकार हटाई प्रकाशतर्फ डोर्‍याउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्म भनी उच्च सम्मान गरिन्छ । आमा र बुवापछि आफूलाई शिक्षा दिने गुरुलाई देवतासमान सम्मान गर्ने हिन्दु परम्पराअनुसार प्रत्येक वर्ष असार शुक्ल पूणिर्माका दिन गुरुको पूजा गरी सम्मान गर्ने परम्परा छ ।

यस दिनलाई व्यास जयन्तिका रूपमा पनि मनाउने परम्परा छ । यसै दिन तनहुँको दमौली नजिक सेती र मादी नदीको दोभानमा ठूलो मेला लाग्ने गर्दछ । यसै दिन बौद्ध भिक्षुहरूले वर्षावासका लागि एकै ठाउँ (सत्तागार) जम्मा भई विनयी कर्म गर्ने परम्परा छ । गुरु पूणिर्माको भोलिपल्टदेखि भिक्षुहरू वर्षावास बस्ने गर्दछन् ।

मानव जातिकै उद्वारगर्ने समस्त गूरुहरुप्रती हाम्रो हार्दिक सम्मान ||

,