चुरोट र रक्सी खानेलाई छोराछोरीले तिराउँछन् जरिवाना

९ चैत, डोटी । सुर्ती, चुरोट र रक्सी सेवन गर्ने डोटीका अभिभावकहरु आफ्नो सन्तानबाट कारबाहीमा पर्न थालेका छन् । लक्ष्मीनगर ४ का खिमडा, खलंगा र टाकका बालबालिकाले १० रुपैयाँ जरिवाना लिई कारबाही गर्ने गरेका हुन् । परिवारबाटै दुव्र्यसनी हटाउने उद्देश्यले जरिवाना गराउने अभियान चलाइएको सामाजिक कार्यकर्ता हेमा कपड्यालले बताइन् ।
टोलभरिका बालबालिका संगठित भई ‘जनउत्थान क्लब’ नै गठन गरेका छन् । बालबालिकाले डेढ वर्षमा जरिवानाबाट १७ हजार ५ सय रुपैयाँ जम्मा गरिसकेको क्लबका अध्यक्ष भीम दुराले बताए । कारबाही हुने डरले खिमडा, खलंगा र टाकका अभिभावकहरु छोरा/छोरीका अगाडि चुरोट/सुर्ती खाने आँटनै गर्दैनन् ।
स्थानीय पार्वती दुरालाई बिंडी पिउने अम्मल थियो । उनको त्यो अम्मल आफ्नै सन्तानले छुटाइदिएको कान्तिपुर दैनिकमा खबर छ । त्यस्तै, बालबालिकाहरुको अभियानले अर्का स्थानीय बासिन्दा श्रीधर थापाको पनि बानी सुधि्रएको छ । बालबालिका देख्नेवित्तिकै सडक, बाटाघाटा, चौतारा, चिया पसलमा सुर्ती, चुरोट सेवन गरिरहेकाहरु तर्सेर भाग्ने गरेका छन् । ‘बालबालिका आएर एकै पटक घेरिहाल्छन्,’ स्थानीय महेश कठायतले भने । डेढ वर्षअघि सुरु भएको अभियान अहिले जोरायल क्षेत्रमा प्रशंसा कमाउँदैछ ।

,