किन भक्कानियो दिपाश्रीको मन ? किन भयो आँखा भरी आसु ?

काठमाडौं, कात्तिक १३– हाँस्यकलाकार दीपाश्री निरौलाले बिहीबार तीनकुनेस्थित निसहाय वृद्धाश्रमका वृद्धवृद्धालाई खाना खुवाएर आफ्नी आमाको सम्झना गरिन् । आमाको २४ औं पुण्य तिथिको अवसरमा उनले आश्रममा बस्ने ४२ जना वृद्धवृद्धालाई खाना खुवाईन ।
वृद्धा आश्रममा पुगेर आमाहरुको मुख हेर्दा आफ्नै आमाका मुख हेरे जस्तो लाग्छ रे दीपालाई । ‘आमाको पुण्यतिथिको बेलामा म प्रायः यहाँ आइरहन्छु । यहाँ आउँदा आत्मसन्तुष्टि मिल्छ’, खाना बाँड्दै उनले भनिन् ‘एकछिन भएपनि असहाय आमा बुबाहरुको उज्यालो मुख हेर्न पाउँदा आनन्द महसुस गर्छु’।
दीपाश्री निरौलाकी आमा गीतादेवी निरौलाको ४२ बर्षको उमेरमा सेफ्टीसेमियाको कारणले निधन भएको थियो । बिराटनगरबाट उपचारको लागि काठमाडौं ल्याईएको बेला आफु बिराटनगरमै टेष्ट परीक्षा दिईरहेकोले आमासँग अन्तिम पलमा भेट हुन नपाएकोमा उनलाई निकै दुःख लाग्छ ।
‘आमा त्यति चाँडै बित्नुहुन्छ भन्ने सोचेकै थिइँन’ गहभरी आँसु पार्दै उनले भनिन् ‘आज मसँग सबै कुरा छ तर आमा हुनुहुन्न, आमा नहुँदा संसार नै शून्य भए जस्तो लाग्छ । सोच्छु, आमा भैदिएको भए मेरो सफलतामा म अझ बढी खुसी हुने थिएँ ।’
उनी हरेकवर्ष आफ्नी आमाको पुण्य तिथिमा वृद्धाश्रममा गएर असहाय आमाबुबाहरुलाई भेट्ने गर्छिन । आमाको सम्झना गर्छिन, वृद्धवृद्धालाई खाना खुवाउँछिन । खुशी बनाउँछिन र आफु खुशी हुने प्रयास गर्छिन ।
उनी भन्छिन्, ‘यदि आमा बुबाको आशीर्वाद छोराछोरीमाथि छ भने उनीहरुले संसारको जुनसुकै युद्ध पनि जित्न सक्छन् ।’
–अर्जुनकुमार संग्रौला/ उज्यालो अनलाइन बाट

, ,