विश्वकप खेलेपछि क्रिकेटरलाई जागिरको चिन्ता, सेनाको सानो पदमा भिड्दै चर्चित खेलाडी

१४ चैत, काठमाडौं । आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा देशलाई उच्च सफलता दिलाएका नेपाली क्रिकेटरलाई सम्मान ओइरिने क्रम थामिएको छैन् । उनीहरुले बिहीबार मात्र तीनभन्दा बढी सम्मान थापे । तर, केही खेलाडी त्यो प्रवाह नगरी जागिरको खोजीमा राजधानीबाहिर हानिएका छन् ।
विश्वकप सफलताको खुसीमा देशै उर्लिरहेका बेला क्रिकेटरहरुलाई सेनाको अति सामान्य जागिरले तानेको हो । भर्खरै भर्ना खोलिएको बन्दोबस्ती कार्य सिपाही -बकासी) पदमा आवेदन दिन उनीहरु यतिखेर उपत्यका बाहिरका विभिन्न ठाउँमा छन् ।
खेलेरै गुजारा चल्ने गुन्जाइस अझै नभइरहँदा विश्वभर प्रशंसा बटुलेका नेपाली क्रिकेटरहरुले बकासीको जागिरमा आर्थिक स्थायित्वको सपना देखेका हुन् । यो सेनाभित्रको सबैभन्दा तल्लो पद हो । यसलाई यसअघि पिपा भनिन्थो । करिब १४ हजार मासिक पारिश्रमिक पाउने बकासीको काम मुख्यतः मेस (भान्सा) व्यवस्थापन र सरसफाइ हो ।
‘चौतारामा बकासीका लागि र्फम भर्न गएकाले बिहीबारको सम्मान कार्यक्रममा सहभागी हुन पाइनँ,’ राष्ट्रिय टिमका प्रारम्भिक व्याट्म्यान तथा विकेटकिपर सुवास खकुरेलले भने, ‘सुरुमा यो पदमा प्रवेश गरेपछि अधिकृत तहमा लड्न पाइन्छ भनेर चौतारा गएका हौं ।’ बकासीमा २६ वर्षसम्मकाले मात्र आवेदन दिन पाउँछन् ।
ग्रामीण विकास विषयमा स्नाकोत्तर गरिरहेका सुवासले एक महिना उमेर कटेकाले आवेदन दिन पाएनन् । उमेर केही महिना कम भएर बकासीनिम्ती योग्य हुँदा समेत उनले त्यसमाथिको पदको प्रतिस्पर्धा गर्न पाउने थिएनन् । सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलका अनुसार बकासीमा भर्ना भएको एक वर्षपछि मात्रै माथिल्लो पदनिम्ति आवेदन दिन पाइन्छ । एक वर्षपछि माथिल्ला पदमा भर्ना खुल्दा पनि आवेदन दिन २६ वर्ष नपुगेको हुनुपर्ने कान्तिपुर दैनिकमा खबर छ ।

,