पत्नीको शव जलाएपछि पतिसहित बाह्र मलामी पक्राउ

प्रतिक्षा काफ्ले
१४ चैत, स्याङ्जा । घरैमा झुण्डिएको अवस्थामा भेटएकी स्याङ्जाको चित्रेभञ्याङ-८,की एक महिलाको शव दाहसंस्कारमा संलग्न १२ जना मलामीलाई प्रहरीले पक्राउ गरेको छ ।
४१ वर्षीया खुमाया राना घरैमा झुण्डिए मृत्यु भएको अवस्थामा भेटिएपछि उनका पति र गाउँले मिलेर गत फागुन ३० गते दाहसंस्कार गरेका थिए । आफैं झुण्डिएर मरेको भन्दै गाउँलेले प्रहरीलाई खबरै नगरी शवको दाहसंस्कार गरेपछि प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका लागि पतिसहित १२ जनालाई हिरासतमा लिएको हो ।
खुमायाको मृत्युपछ गिाउँलेले ४५ मिनेटको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी नदिई दाहासंस्कार गरेपछि मलामी गएका ४८ जनामध्ये पतिसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटना रहस्यमय भएको जनाउँदै छानविनका लागि मलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बडुवालले बताए । प्रहरीले खुमायालाई हत्या गरेर झुण्डाइएको आशंकाका आधारमा घटनालाई नयाँ ढंगले अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा मृतकका पति घमानसिङ रानासहित चित्रेभञ्याङ-८ का बालकृष्ण राना, पृथबहादुर राना, कृष्णबहादुर थापा, श्रीकृष्णबहादुर थापा, दिलमाया राना, खिमसरा राना, यमबहादुर थापा, गिरमाया राना, लक्ष्मी राना, चन्द्रकुमारी राना र मनीषा राना छन् । प्रारम्भिक चरणमा पतिलगायत १२ मलामीलाई पक्राउ गरिएको जनाउँदै आवश्यक परे सबै मलामीलाई पक्राउ गरिने प्रहरी निरीक्षक बडुवालले बताए ।
गाउँलेले भने खुमाया आˆनै घरमा झुण्डिएर मरेकाले दाहासंस्कार गरिएको गाउँलेको भनाई छ । तर उनी झुण्डिएर मरेको बारे गाउँलेले कतै जानकारी गराएका छैनन् । प्रहरी निरीक्षक बडुवालले आफैँ झुण्डी मरेको पुष्टि भए लास जलाई छिपाई अन्तर्गत सबै मलामीलाई कारबाही हुने बताए । यदि हत्या गरेर झुण्डाएपछि जलाइएको पुष्टि भए पतिसहित मलामीविरुद्द कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।

,