साबधान ! अपाङ्ग, असहायका लागि सहयोग भन्दै, आफ्नो खल्ती भर्दै |||

९ असार, काठमाडौं ।
तपाईँको घर आगनमा अपाङ्ग, असहायका लागि सहयोग माग्दै कोही आएको छ ?  सचेत रहनुहोस् है त्यस्ता व्यक्ति ठग पनि हुनसक्छन्।

'अपांग सरोकार केन्द्र काठमाडौ' र 'अन्धा अपांग असहाय आश्रम पोखरा' का नाममा संस्थाबाट चन्दा उठाउँदै गरेका चार व्यक्ति दोलखामा पक्राउ परेका छन्। एकै जनाले खोलेको ती दुई संस्थाले ठगीकै लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरेको ती व्यक्तिबाट बुझिएको खबर आजको कान्तिपुरमा छापिएको छ।

अपाङ्गको हीत गर्न भन्दै काठमाडौं र पोखरामा संस्था दर्ता गरी खटिएका व्यक्तिहरुमार्फत देशभरीबाट गैरकानुनी ढंगले रकम संकलन गर्ने गरेको ठहर जिल्ला प्रहरी कार्यालय दोलखाको छ । 'अपाङ् सरोकार केन्द्र काठमाडौ' र 'अन्धा अपाङ्ग असाहाय आश्रम पोखरा' नामका गैरसकारी संस्थाहरुबाट चन्दा उठाउँदै गरेका चार जना पक्राउ परेपछि ठग्न देशभर परिचालन गरिएको रहश्य खुलेको हो । 'पोखरा घर बताउने नवराज अधिकारीको नामबाट खुलेको दुई संस्थामार्फत डेढसय जति मान्छे चन्दा उठाएर ठगी गर्दै हिडेको पाइयो,' प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेले भने, 'नवराजलाई सम्पर्क गर्दा पक्राउ पर्नेहरुलाई चन्दा उठाउन नलगाएको दावी गरेका छन् ।'

काठमाडौं जिल्ला प्रशासनबाट ९७४ नम्बरमा दर्ता भएको अपाङ्ग सरोकार केन्द्रको रसिद प्याडसहित विहीवार दिप्ती श्रेष्ठ र दिलपिया श्रेष्ठ पक्रिन भने कास्कीबाट ५५० नम्बरमा दर्ता भएको अन्धा अपाङ्ग असाहाय आश्रमको रसिदप्याडसहित शनिवार काब्रे धुलिखेलकी शोभा राय र भक्तपुर सुडालकी बालकुमारी केसी प्रहरी फन्दामा परिन् । दुवै संस्थाले चन्दा उठाउदा गरिनुपर्ने नियम पूरा नगरी ठगीको नियत राखेको प्रहरीको भनाई छ ।

अपाङहरुलाई आश्रय र खानपान गराउन भन्दैे सदरमुकाम चरिकोटमा चन्दा उठाउदै गरेका उनीहरुले नवराज अधिकारीले नै खटाएको बयान दिएका छन् । चन्दा उठाउन बढीजसोः महिलाहरु खटिएका छन् । आरोपी दिप्ती र दिलले पुरुषहरु पनि खट्ने गरेको बताइन् । 'चन्दा उठाएर लगेपछि नवराज सरले सिमित रकम दिनुहुन्थ्यो,' दिलपियाले भनिन् । प्रहरी अनुसन्धानमा चन्दा उठाएबातपत राम्रै कमिसन पाउने भएकाले महिलाहरु घर परिवार छाडेर जिल्लाजिल्ला चाहर्ने गरेको खुलेको छ । दुई समुहबाट बरामद प्याडमा चितवन, अमलेखगञ्ज, विरगञ्ज, सिन्धुपाल्चोक, मोरङ, सुनसरी, धनकुटा र दोलखाबाट रकम असुलेको उल्लेख छ ।

अपाङ र असाहायको नाम लिनेवित्तिकै दयाले इच्छा अनुसार रकम दिएको सदरमुकाम चरिकोटका चन्दादाताहरुको भनाई छ । रसिदको अर्धकट्टी अनुसार भन्सार, सहकारी, बैक र ठूला पसलहरुबाट छ हजारसम्म चन्दा असुलेको छ । व्यक्तिहरुले पाँचसयसम्म चन्दा दिएका छन् । दुवैको रसिदप्याडमा करिब ५० हजार जति उठाइएको पाइए पनि रकम भने नौ हजार दुईसय मात्र बरामद भएको छ ।

,