गहना नल्याउँदा बिहे नै रद्द

बारा, जेष्ठ २८ - पारिवारिक राजीखुसीले तय भएको विवाह जन्ती आइसकेको अवस्थामा समेत गहना विवादले भाँडिएको छ ।

प्रसौनी-८ का हीरा साह र उनको परिवारले केटा पक्षबाट गरगहना नल्याइएको भन्दै सोमबार १६ वर्षीया छोरी रुक्मिणीको बिहे नै रद्द गरेका हुन् । पथरा-५ का ज्ञानचन साहका १८ वर्षीय छोरा रामनारायण जन्तीसहित आउनेबित्तिकै दुवै पक्षबीच विवाद भएको थियो ।

केटी पक्षले 'तिलक' स्वरूप बुझाएको ३ लाख ४० हजारसहित ५ लाख ४० हजार असुल्न केटाका बुवा र दाजुलाई सोमबार रातभर बन्धक बनाए । केटा, जन्ती र सवारीचाहिँ तुरुन्तै फिर्ता पठाइएको थियो । मंगलबार बिहान केटा पक्षको रोहबरमा 'पञ्चायती' बसेर तिलक फिर्ता र विवाह रद्द गर्ने निर्णय गरिएको हो ।

तिलक पचाएर गहनाचाहिँ नल्याएकामा केटी पक्ष आक्रोशित भएको हो । विवाह छिनिएपछि १ मोटरसाइकल र ३ लाख नगद केटाका अभिभावकलाई बुझाइएको थियो ।

'बेहुलीका बहिनीज्वाइँले हामीसित दुर्व्यवहार गरेपछि चित्त दुख्यो, तैपनि छोराको विवाह गर्ने पक्षमा थियौं । बेहुली पक्षले मानेनन्,' केटाका बुवा ज्ञानचनले भने ।

'अभिभावकबीचको विवादले विवाह भएन,' पुरोहित मृतुन्जाकुमार त्रिपाठीले भने, 'सामाजिक चलनअनुसार 'तिलक' मध्येबाट बेहुला पक्षले बेहुलीका लागि ल्याउनुपर्ने गहना, शृंगार, डल्लालगायत सामग्री चित्तबुझ्दो गरी ल्याएनन्, जसले गर्दा बेहुलीका अभिभावकले बिहै रद्द गरिदिए ।'

पञ्चायतीमा सहभागी पथराका पूर्वगाविस अध्यक्ष बृजकिशोर चौधरीले विवाहका लागि पहल गर्दा केटी पक्षले नमानेको र तिलक फिर्ताको निर्णय भएको बताए । 'बेहुलाका बुवाले समाजमा कसैले नदेख्ने गरी अबेला राति जन्ती ल्याए, बाजा पनि थिएन, बेहुलीको शृंगारसमेत ल्याइदिएनन् र यति हुँदा सहेर बस्दासमेत हामीलाई उल्टै दुव्र्यवहार गर्न खोज्दा विवाह नगर्ने निर्णयमा पुग्यौं,' केटीका दाजु भुलावन साहले भने ।

उनले भने, 'मन नमिलेपछि बहिनीलाई विवाहपश्चात् बेहुला पक्षले घरमा लगेर यातना दिने वा अपि्रय घटना गर्न सक्ने डर भयो, त्यसैले विवाह

गराएनौं ।' प्रसौनी-८ का १ सय २ वर्षीय बलराम तिवारीले जीवनमा यस्तो घटना यसअघि नभएको बताउँदै चिन्ता व्यक्त गरे ।

दाइजोविरुद्ध महिला

तेजापाकड, रौतहट- तेजापाकड-७ की किसुनदेवी पासवानले केही दिनअघिको छोराको बिहेमा एक पैसा पनि दाइजो लिइनन् । तराईका जिल्लामा केटी पक्षले दाइजोबापत रकम नदिँदासम्म विवाह तय हुँदैन । किसुनदेवीले केटी पक्षले दाइजोका लागि रकमको कुरा गर्दा अस्वीकार गरिन् ।

'दाइजो लेनदेन नगरून् भनेर यस्तो विवाह गराएकी हुँ,' उनले भनिन्, 'यस्तो प्रथाको अन्त्य हुनुपर्छ ।' गाउँमा यस प्रथाविरुद्ध दलित र अन्य समुदायका गरी चार समूह गठन भएका छन् । १ सय २० महिला सक्रिय समूहले बोक्सी प्रथा, दाइजो प्रथा, छुवाछूतविरुद्ध अभियान चलाउन सुरु गरेका छन् ।

 दुई साताअघि आकाश समूहकी सुरपतियादेवी पासवानले छोरीको विवाहमा केटा पक्षलाई केही पनि दाइजो दिइनन् । 'दाइजोविरुद्ध अभियान चलाएका छौं,' उनले भनिन्, 'यसले राम्रो सन्देश दिन्छ ।'

,