यसरी गुम्यो डिभिजन थ्री क्रिकेट आयोजनाको जिम्मा
२७ जेठ, काठमाडौं ।
आईसीसीले मंगलबार डिभिजन थ्री अक्टोबर २६ देखि नोभेम्बर २ सम्म गर्ने निर्णय गर्दै आयोजनाको जिम्मा युगाण्डालाई दिने घोषणा गरेको हो ।
प्रतियोगिता आयोजनाका लागि नेपालले आईसीसीसमक्ष प्रस्ताव राखेको थियो । ‘नेपाल डिभिजन थ्रीमा घटुवा भएको पुष्टि गरेपछि हामीले आयोजनाको इच्छा राखेका थियौं’ क्यानका एक अधिकारीले भने-’नेपाललाई दिने सम्भावना पनि थियो । तर, आज युगण्डाले दिएको सुनेको छु ।’
डिभिजन थ्री आयोजनाको जिम्मा दिने तयारी स्वरुप आईसीसीका अधिकारीहरु नेपाल आउने बताइएको थियो ।
तर, पछिल्लो समय नेपाल क्रिकेट संघ क्यानमा देखिएको विवादले नेपालले डिभजन थ्रीको आयोजना गर्ने मौका गुमाएको जानकारहरु बताउँछन् । एनपीएल क्रिकेटलाई लिएर क्यानभित्रको विवाद चरमउत्कर्षमा पुगेको छ भने अध्यक्ष टंक आङबुहाङसहित १० पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको छ । उनीहरुका अनुसार यस्तो अवस्थामा नेपालले मैदान कसरी तयार गर्छ । कसरी खेलाउँछ भनेर आयोजनाको जिम्मा नदिएको हुनसक्छ ।
पछिल्लो पटक नेपालमा भएको अन्तराष्ट्रिय प्रतियोगिता एसीसी ट्वान्टी-२० कप हो । कीर्तिपुरमा भएको प्रतियोगिताको फाइनलमा पुगेको नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेसँगै ट्वान्टी-ट्वान्टी विश्वकपको छनोटका लागि चयन भएको नेपालले गत चैतमा बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप समेत खेल्यो ।
को-को छन् सहभागी ?
डिभिजन २ बाट घटुवा भएको नेपाल र युगाण्डाले डिभिजन थ्री खेल्नेछ । अन्य दुई टोलीमा अमेरिका र बर्मुडा छ । गत वर्ष नेपालले बर्मुडामा डिभिजन थ्रीको उपाधि जित्दा अमेरिका तेस्रो र बर्मुडा चौथो भएको थियो ।
सिंगापुरमा हुने डिभिजन ४ को शीर्ष दुई टोलीले डिभिजन थ्री खेल्नेछन् ।
डिभिजन थ्रीसँगै डिभिजन २ जितेमा विश्व क्रिकेट लिग च्याम्पियनसिप र अन्तरमहादेशीय कपमा छनोट हुनेछ । डिभिजन २ मा मामिबिया, केन्या, नेदरल्याण्ड र क्यानडा छन् ।
