मुटु छुने सत्य घटना: सुन खोज्न भन्दै कलीला बालक लेक चढेपछी ... |
पाल्पा- तानसेन गोर्खेकोटमा चार कलिला बालकले ढलको पाइपभित्र रात काटे। नौ–दस वर्षका उनीहरुको साथमा सानो चक्कु र डोरीका टुक्रा थिए। झोलामा चिउरा र गंगटा बोकका उनीहरूको साथमा ३० रुपैयाँ थियो। दुईजनाले प्यान्ट र जुत्ता, दुईजनाले जाँगे र चप्पल लगाएका थिए।
‘मुनादन' का मदन धन कमाउन भोट हिँडेजस्तै दमकडा उच्चमावि कक्षा ४ मा पढ्ने यी चार बालकले धन (सुन) पाइने लालसामा घर छाडेका हुन्।
यो फिल्मको कथा होइन। तर मुनमदन चलचित्रको कथासँग भने मिल्दोजुल्दो छ।
केशव सोमै, सुदीप ढकाल, दीपक सिन्जाली र उपेन्द्र कुमाल पाल्पाको लेकमा सुन पाइने लालसामा हिँडेका हुन्। मंगलबार हाफछुट्टीमा स्कुलबाट भागेर लेकमा सुन पाइने गुफा खोज्न हिँडेको उनीहरुले बताए।
‘स्कुल नजिकै जंगलमा झोला र किताब लुकाएर लेकतिर निस्केछन्,’ प्राचार्य माधवप्रसाद पाठकले भने, ‘लेकमा गुफाभित्र सुन पाइन्छ भन्ने हल्ला सुनेर उनीहरु हिँडेका रहेछन्।’ उनले भने, ‘स्कुलबाट विद्यार्थीलाई मुनामदन चलचित्र हेर्न लगेका थियौं, सायद त्यसैको प्रभाव हो कि?’ चलचित्रमा घरको दुःख टार्न मदन धन कमाउन हिँडेजस्तै चारैजना सुन भेटाइन्छ भन्दै लेकतिर लागेको बताए। विद्यार्थीको यस्तो मनोविज्ञान देखेर चकित परेको उनी बताउँछन्।
गाउँले र प्रहरीले मंगलबार रातभर खोजी गर्दा पनि उनीहरु भेटिएनन्। अर्को दिन खोजी टोलीले उनीहरुलाई जंगलमै भेट्टाएर घर ल्याएको हो। ‘अनुहारमा डरको भाव पटक्कै थिएन, चारैजना उत्साही चालमा हिँडिरहेका थिए,’ प्राचार्य पाठकले भने, ‘उनीहरुलाई गाली नगर्न र नपिट्न भनेका छौं।’ चारैजनालाई यात्रा विवरण लेख्ने होमवर्क दिएको उनले बताए।
मंगलबार स्कुलबाट घर नफर्केपछि उनीहरुको खोजी सुरु भएको थियो। परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए। चारमध्येका एकले बैनीलाई आफूहरु ६ दिनका लागि सुन खोज्न लेक जान लागेको बताएका रहेछन्। ‘तीन दिन जान तीन दिन आउन लाग्छ,’ बैनीलाई भनेको उद्धृत गर्दै शिक्षक नेत्र पाण्डेले भने, ‘आउँदा तिमीलाई सुन ल्याइदिन्छु, घरमा चिन्ता नलिन भन है।’ दमकडाबाट उत्तरतिर फाँटैफाँट पिप्ले हुँदै उनीहरु बग्नास लेकतर्फ लागेका थिए।
‘बाटोमा भेटेका सबै मन्दिर र देउरालीमा फूलपाती चढाउँदै तीन फन्को घुमेछन् र यात्रा सफल होस् भन्दै पूजा गरेछन्,’ अर्का शिक्षक धनपति गैरेले उनीहरुको भोगाइ सुनाए, ‘भोक लाग्दा चिउरा र जंगलका कन्दमुल खोजेर खाएछन्।’
‘ढलको पाइपभित्र बसेर रात बितायौं, खासै डर लागेन,’ केशव सोमैको भनाइ सुनाउँदै गैरेले भने, ‘एकजना साथी बाघ आउँछ कि भन्दै डरायो, हामीसँग सलाइ थियो, बाघ भगाउन आगो बाल्यौं।’ उनीहरुले सुन पाइने गुफामा चढ्न भन्दै साथमा डोरी पनि बोकेको शिक्षक गैरेले सुनाए। ‘भिजेका जुत्ता र मैलिएका कपडामा पसिना काढ्दै जंगलमा हिँड्दै गर्दा भेट्टायौं र सम्झाएर ल्यायौं,’ गैरेले भने, ‘उनीहरु र परिवारलाई राम्रो परामर्श दिएका छौं।’ उनले यो घटनाबाट विद्यालय, परिवार र समाजले बाल मनोविज्ञान बुझ्नुपर्ने पाठ सिकेका बताए।
-टेकनारायण भट्टराई/नागरिकन्यूज
