जातिय राज्य विरुद्ध उभिए जनजाति तथा मधेशी सभासद्हरु

काठमाडौं, पौष २५ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दल सम्वद्ध दलका सभासद्हरुले माघ आठमै संविधान जारी गर्नका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् ।
संविधानसभा भवनमा भएको ती दलहरु सम्वद्ध सभासद्हरुको भेलाले माघ आठमा संविधान ल्याउन जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको भन्दै दबाब अभियान शुरु गरेका हुन् ।
भेलामा सत्तारुढ दलहरुसहित परिवार दल, दलित जनजाति पार्टी तथा स्वतन्त्र सभासद्हरु समेत सहभागी थिए ।
उनीहरुले पुस २८ गतेभित्र सहमति नभए २९ गतेदेखि प्रक्रियामा गएर संविधान निर्माणलाई टुंगोमा पुर्‍याउन सभाध्यक्ष सुबास नेम्वाङलाई हस्ताक्षर बुझाउने भएका छन् ।
भेलामा सहभागी कांग्रेस, एमाले, राप्रपा, माले, जनमोर्चा लगायत दल सम्वद्ध जनजाति तथा मधेशी सभासद्हरुले जातीय आधारको संघीयता स्वीकार्य नहुने र मधेशलाई पहाडबाट छुट्याउने संघीयता पनि स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।
संविधानका विवादित विषयलाई टुंग्याउने जिम्मा अन्तिम पटकका लागि संवाद समितिमा आएको र सहमति नभए पुस २९ गतेपछि सभामा प्रक्रिया शुरु हुने बताइएको बेला बहुमत सभासद्हरुको यो अभियानले संविधान जारी गर्नका लागि सकारात्मक दबाब दिने विश्वास गरिएको छ ।
-इमेज खबर बाट

,