अमेरिकि अदालती झमेलामा अमिताभ बच्चान

काठमाडौ, कार्तिक १२ - सन् १९८४ मा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो । उनका सिख अंगरक्षकहरू नै त्यसमा संलग्न रहेकाले भारतमा त्यति बेला सयौं सिखहरू बदलाको सिकार भए । कति मारिए, कतिले देशै छोडेर भाग्नुपर्‍यो । त्यसका लागि भीडलाई उक्साएको आरोपमा पछि गान्धीको पार्टी कंग्रेस आईका धेरै नेता फसे । धेरैले सधैंका लागि राजनीति त्याग्नुपर्‍यो । ८४ को भूतले अझैसम्म धेरैलाई खेदने गरिरहेको छ । अहिले त्यो भूत बलिउड अभिनेता अमिताभ बच्चनतिर सोझिएको छ । त्यो पनि अमेरिकाबाट ।

अमिताभलाई मानव अधिकार हननको आरोप लागेको छ । त्यति बेला सिखहरूको विरोधमा लागेको भन्दै उनलाई लस एन्जसलको अदालतले समन जारी गरेको छ । भर्खरै ७२ औं बर्थडे मनाएका अभिनेताले तत्कालीन अवस्थामा दंगा भड्काउन भूमिका निर्वाह गरेको अदालतको आरोप छ । भनिएको छ- गान्धीको हत्यापछि उनले 'हत्याको बदला हत्या' को नारा घन्काएका थिए ।

अमिताभलाई यस्ता आरोप पहिले पनि लागिसकेका छन् । त्यति बेला उनले आफू निर्दोष रहेको उद्घोष गरिदिन सिखहरूको सर्वोच्च संस्थासमक्ष गुहार लगाएका थिए । यस्तो आरोप किन पनि निराधार छैन भने, अमिताभ त्यही कालखण्डमा राजनीतिमा प्रवेश गरेका थिए । इन्दिरा गान्धीका छोरा राजीवका घनिष्ठ मित्र उनले त्यो हत्याकाण्डपछिको चुनावमा कंग्रेस आईका तर्फबाट उम्मेदवारी दिएका थिए र सहानुभूतिको लहरका कारण लोकसभामा पुगेका थिए । त्यसमा उनको सिखविरोधी छविले पनि काम गरेको सिख संस्थाहरूको आरोप रहँदै आएको छ । त्यति बेला भारतभर गरी आठ हजार सिखहरू मारिएका थिए र अमेरिकाका केही गैरसरकारी संस्थाले यसलाई मानव अधिकार हननका रूपमा अन्तर्राष्ट्रिय रूपमा बेलाबेला उठाउँदै आएका छन् ।

समयले बताउला, अहिलेको उठानले अमिताभलाई कति अप्ठयारोमा पार्छ ।

, ,