अल कायदाद्वारा भारतमा शाखा खोल्ने | दक्षिण एसियालाई लक्ष्य

नयाँदिल्ली (एएफपी), भाद्र २० - विश्व आतंककारी सञ्जाल अल कायदाले दक्षिण एसियालाई लक्ष्य गरी भारतमा शाखा खोल्ने निर्णय गरेको छ। यसपछि भारतका कतिपय राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

अल कायदाका प्रमुख आयमन अल जवाहिरीले बुधबार भिडियो सन्देशमार्फत उक्त घोषणा गरेका थिए। उनले भिडियो सन्देशमा दक्षिण एसियालाई लक्ष्य भारतमा 'कायदात अल जिहाद' यस्तो उक्त संगठनको शाखा खोल्न लागेको जानकारी दिएका थिए। केही साताअघि इस्लामिक स्टेट (आईएस) का नेता अबु बकार अल बघदादीले पनि दक्षिण एसियामा शाखा खोल्ने इच्छा प्रकट गरेका थिए।

भारतका राज्यहरू गुजरात, मध्यप्रदेश, उत्तर प्रदेश र बिहारमा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ। 'यो भिडियोलाई निकै गम्भीरताका साथ लिएका छौं, यस्तो धम्कीलाई कम आँकलन गर्नुहुँदैन,' भारतका एक गुप्तचर अधिकारीले बताए। ती अधिकारीका अनुसार पहिलो चरणमा विशेष गरी चार प्रदेशमा यस्तो सतर्कताको लागि निर्देशन जारी गरिएको छ। आउँदो केही दिनमै यो घेरालाई बढाउन पनि सकिनेछ।

हालै सिरिया, इराक लगायतका केही भागमा सुरु भएको मुस्लिम जिहादीहरूको अतिवादका साथै इस्लामिक स्टेट (आईएस) को प्रभावसँगै अल कायदाको पनि आफ्नो संगठन विस्तारको खबर आएको छ। केही समयअघि मात्र यस्ता अतिवादीहरूलाई अफगानिस्तान र पाकिस्तानको बोर्डरमा तालिम दिइएको थियो।

त्यससँगै आएको यो संगठन विस्तारको अवस्थासँगै दक्षिण एसियामा पनि अल कायदाको प्रभाव बढ्न सक्ने पाइएको छ। अल कायदा प्रमुख जवाहिरीले उक्त शाखाले म्यान्मार, बंगलादेश र भारतमा लड्ने जानकारी पनि दिएका छन्। म्यान्मारमा मुस्लिम बौद्धबीच द्वन्द्व चलिरहेको छ भने बंगलादेश आप्रवासीबाट भारत पीडित छ।
-श्रोत इकान्तिपुर 

, ,