सार्वजनिक कार्यक्रममै किन भक्कानिए कलाकार सुनिल थापा ? (भिडियोसहित)

काठमाडौं, भाद्र १२ । कार्यक्रमको अन्तिम क्षणतिर जब कार्यक्रम सञ्चालक राजेन्द्र सलभले माइकबाट अभिनेता सुनिल थापालाई नजिकबाट चिन्ने साथीभाइ तथा  सहकर्मीहरुलाई एक वाक्यमा उनको बारेमा भन्न लगाए, सबैले उनलाई एक असल मान्छेको रुपमा परिचित गराइरहेका थिए । जब साथीभाइहरुको बोल्ने पालो सक्कियो उनी स्टेजमा देखा परे ।

माइक समातेर बोल्न सुरु मात्र के गरेका थिए, सुरुमै उनी भक्कानिए । प्रसंग हो, बुधबार उनको सम्मानको लागि आयोजना गरिएको एक कार्यक्रमको । आफूलाई पक्का कलाकारको रुपमा स्थापित गराएकोमा सबैलाई धन्यवाद दिँदै उनले पछिल्लो समयमा आफूले अभिनय गरेको हिन्दी चलचित्र ‘मेरी कोम’को अनुबन्धित हुँदाताकादेखि अहिलेसम्मका अनुभव समेत बाँडे ।

हालै बलिउड चलचित्र ‘मेरी कोम’मा अभिनय गरेर फर्किएका थापा नेपाली चलचित्रको क्षेत्रमा परिचित नाम हो । सन् १९८० को दशकतिर ‘एक दुजे के लिए’, ‘आज कि आवाज’ लगायतका १ दर्जन हिन्दी चलचित्रमा अभिनय गरिसकेका थापालाई सञ्जय लिला भन्सालीले निर्माण गरेको यस चलचित्रमा नायिका प्रियंको चोपडाको बक्सिङ गुरुको रुपमा देख्न सकिन्छ ।
भाद्र २० अर्थात् सेप्टेम्बर ५ तारिखदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्र ५ पटककी  बक्सिङको वल्र्ड च्याम्पियन रहिसकेकी भारत मणिपुरकी बक्सिङ खेलाडी मेरी कोमको जीवनीमा आधारित छ । विशेषतः चलचित्रमा नकरात्मक भूमिकामा देखा परेका थापा वि.सं २०४६ सालमा रिलिज भएको चलचित्र ‘चिनो’मार्फत ‘राते काइँला’को नामले नेपालीहरु माझ परिचित भएका थिए ।

नेपाली चलचित्रको क्षेत्रमा साढे ३ दशक बिताएका ५७ वर्षीया थापा नेपाली रजतपटको क्षेत्रमा प्रताप सुब्बा निर्देशित चलचित्र ‘मसाल’बाट आफ्नो पाइला सुरु गरेका थिए ।

कार्यक्रममा बोल्दै थापाले आफू बलिउडमा मात्र नभइ आफने अभिनय क्षमताको आधारमा ओस्कर अवार्डमा नेपाली दौरा सुरुवालमा उपस्थित भइ नेपाललाई चिनाउने इच्छा व्यक्त गरे ।

‘ह्याप्पिनेस फ्रम सक्सेस’ नाम दिइएको उक्त कार्यक्रमलाई नेपाल चलचित्र प्राविधिक संघ, श्री बालाजी फिल्मस्, मौरी इन्टरटेन्मेन्टले  आयोजना गरेका थिए ।

, , ,