पहिरोले सुनकोसी नदी थुनियो, ८ को मृत्यु, नदी छेउको वस्ती जोखिममा, पहिरो अझै झर्दै(अपडेट)
सिन्धुपाल्चोक , श्रावण १७, अपडेट: पहिरो अझै झर्दै, घटनास्थल पुगेका स्थानीय ध्रुव थापाका अनुसार अहिले पनि पहिरो झर्नेक्रम जारी छ । सुनकोसी नदीको पानी जमेर बाह्रबिसे पुलसम्म आइपुगेको छ । नेपाली सेनाको दुई हेलिकप्टरले घटनास्थलको रेकी गरिरहेको छ ।
अपडेट: बम बिष्फोट गराएर बाँध खुलाउने तयारी
सिन्धुपाल्चोकमा जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी नदीको बाँध खुलाउन नेपाली सेनाले हेलिकप्टरबाट बम बिष्फोट गराउने तयारी गरेको छ । पहिरो बगेर तीन किलोमिटर भन्दा लामो बाँध बनेको छ । जसको कारण सुनकोसी खोला बग्न पाएको छैन् ।
अपडेट: ८ जनाको शव फेला
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी गणेश केसीका अनुसार घटनास्थलमा ८ जनाको शव फेला परेको छ । १६ जना घाइतेको उद्धार गरिएको छ । सयौं हराइरहेका छन् । २ जना महिला, १ बच्चा र ३ जना पुरुषको शव घट्नास्थलमा भेटिएको छ ।
उनले पहरोले थुनिएको नदी कसरी खुलाउने विषय महत्वपूर्ण बनेको बताए । 'एकैचोटी फुट्यो भने ठूलो धनजनको क्षति हुन सक्छ,' उनले भने-'कन्ट्रोल ब्लास्टबाट फुटाउने प्रयास गरिदैंछ ।' उनले घट्नास्थलदेखि नदी छेउका मध्य र पूर्वका सबै जिल्लालाई सतर्क गराइएको बताए ।
सावधानीपूर्वक काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध भएको सुनकोशी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित ढंगलले बहाव गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले जन धन र भौतिक संरचना जोगाउन गृृहमन्त्रालयलाई निर्देशन दिएका हुन् ।
कोइरालाले सुरक्षाका सबै निकाय, स्थानीय प्रशासन र प्राकृतिक प्रकोप व्यवस्थापनसंग सम्बन्धित निकायबीच आवश्यक समन्वय गरी काम गर्न भनेका छन् । नदी थुनिएको र नदीको तल्लो तटीय किनाराका बस्तीका बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सार्न , सावधानीपूर्वक सुरक्षित रुपमा तालिएको नदीको निकास खोल्न र तालिएको स्थानको तल्लोतटीय क्षेत्रमा सुरक्षा सावधानी अपनाउन स्थानीय जनतालाई सचेत गराउन उनले निर्देशन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा विज्ञप्तीमा जनाइएको छ ।
.............................................
सुनकोसी नदी थुनियो
काठमाडौंबाट चीनको सीमा क्षेत्र तातोपानी पुग्ने अरनीको राजमार्ग छेउबाट बाग्ने सुनकोसी नदी माङखा गाविसको ड्याम साइड भन्ने स्थानमा थुनिएको छ । राजगमार्गमाथिबाट आएकोे पहिरोले नदी थुनिएर जलाशयमा परिवर्तन भएको छ । नदीको प्राकृतिक बहाव हुननसक्दा ठूलो खतराको सम्भावना छ । थुनिएको पानी एकैचोटी निकास भए ठूलो बाढी आउने सक्ने भएले स्थानीय त्रसित छन् ।
राति करिब साढे २ बजेतिर पहिरोले बनेको अस्थायी बाँधले थुनिएको नदीमा जलस्तर बढ्दै गएको हो । पहिरोले माङखा गाविसको २० देखि २५ घर पुरिएको स्थानीय प्रशासनले जनाएको छ । ६ जनाको शव फेला परेको छ । पहिरोले राजमार्ग अवरुद्ध छ ।
नदी थुनिएको स्थानभन्दा तीन किलोमिटर माथि बाहृबिसे बजारसम्म पानी पुग्न थालेको छ । थुनिएको स्थानभन्दा माथि डुबानको र खोला एकैचोटी खुले पानीको तिव्र बहावले तलतिर ठूलो धनजनको क्षतिको सम्भावना अनुमान गर्दै स्थानीय प्रशासनले नदी छेउछाउका वासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
सुनकोसी आसपासका बाहृबिसे, लामोसाँघु, खाडी चौर,बलेसी, सुकुटेसम्मको बजार खतरामा छ । त्रसित स्थानीयबासी सुरक्षित स्थलको खोजीमा छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले अकल्पनीय घटना भएको बताएका छन् । उनले थुनिएको खोला कसरी सुरक्षित रुपमा खुलाउने र स्थानीयको उद्धारबारे विभिन्न कोणबाट छलफल र प्रयास भइरहेको बताए । स्थानीयको उद्धारमा सेनाको हेलिकप्टर परिचालन गरिएको छ । सेनाले बम हानेर पहिरो हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
काभ्रे प्रशासनले पनि सुनकोसी खोला छेउका दोलालघाटदेखि सिन्धुलीको केशेश्वर दुम्जा क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सर्न सतर्क गराएको छ । सिन्धुलीमा पनि स्थानीय प्रशासनले सुनकोसी छेउका वासिन्दालाई सतर्क गराएको छ ।
नदी क्षेत्रको वस्तीमा सर्तकता
काभ्रे-कान्तिपुर संवाददाता मनोज वस्नेतका अनुसार काभ्रेको दोलालघाटबजार देखि सिन्धुलीको कुशेश्वर सम्मको नदीको छेउको करिब वस्ती जोखिममा छ । स्थानीय प्रशासनले ती वस्तीहरुमा सुरक्षित स्थानतर्फ सर्नका लागि आग्रह गर्दै माइकिङ गरेको छ । त्रास र हतारमा स्थानीयवासी छन् । रुवावासी समेत चलेको छ । घट्नास्थलमा पुगेका बागमती अञ्चल प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरेले पहिरो खस्ने अहिले पनि जारी रहेको बताएका छन् । पहिरोले पुरिएको स्थानमा पुग्ने अवस्था नरहेकोले उद्धारमा कठिनाई भएको उनले बताए । प्रहरी प्रधान कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरी बलको स्पेसल टास्क फोर्स घट्नास्थलमा जाँदैछ । बम पड्काएर पहिरो हटाउने विषयमा समेत सुरक्षा निकायबीच छलफल चलेको छ ।
ओखलढुंगा- कान्तिपुर संवाददाता कुम्भराज राईका अनुसार गएरातिदेखि नै सिन्धुपाल्चोकको जुरेमा सुनकोसी नदी थुनिएको खबर आएपछि नदीले असर गर्न सक्ने यहाँको नदी किनारक्षेत्रमा सतर्कताको लागि आव्हान गरिएको छ ।
सिन्धुली र उदयपुरसँग जोडिएको हर्कपुर, टोक्सेल, सिस्नेरी, वलखु, पलापु क्षेत्रमा प्रहरीको टोली पठाई सुरक्षित रहन स्थानीयलाई आग्रह गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक श्याम खत्रीले बताए ।
थुनिएको नदी फुटिनसकेकोले तत्काल त्रसित नहुन प्रहरीले आग्रह गरेको छ । सर्वसाधारण भने नदी किनार छोडेर उच्च भाग तर्फ सर्न थालिसकेका छन् ।
सिन्धुली-कान्तिपुर संवाददाता राजकुमार कार्कीका अनुसार सिन्धुपाल्चोकमा थुनिएको सुनकोसी नदी फुटेर बाढी आएमा ठुलो क्षति हुने भन्दै सिन्धुली प्रशासनले नदी किनार आसपासका वासिन्दालाइ सुरक्षितस्थानतर्फ सार्न थालेको छ । थुनिएको सुनकोसी फुटेर बाढी आएमा सिन्धुलीको खुर्कोटबजार सबैभन्दा बढि खतरामा पर्ने भएको छ ।
सुनकोसी नदी किनारकै समथर जमिनमा खुर्कोट बजार तथा बसपार्क रहेको छ । सोही स्थानमा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन समेत छ । त्यसका अलावा कुशेश्वरदुम्जा, पुरानोझागाझोलीको मुलकोट, जोखिममा रहेका छन् ।
बीपी राजमार्ग समेत सुनकोसी किनारबाटै निर्माणाधिन अवस्थामा रहेकाले जोखिममा छ । हिमाल तराइ जोड्ने सिन्धुली, रामेछापको सुनकोसी नदीमा भर्खरै निर्माण सम्पन्न भइ संचालनमा आएको खुर्कोटको पक्की पुल समेत खतरामा रहेको स्थानीयले बताएका छन् । नदी किनार तथा आसपासका बासिन्दालाइ सचेत गराउदै कतिपयस्थानमा सार्न थालिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।
खोटाङ- कान्तिपुर संवाददाता डम्बरसिंह राईका अनुसार पहिरोले थुनिएको सुनकोसीनदी खुल्दा त्यसको बहावले खोटाङको भूभागमा पनि असर गर्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन खोटाङ प्रशासनले आग्रह गरेको छ । शनिबार बिहान सुरक्षा समितिको बैठकपछि प्रशासनले जिल्लाको १४ गाविस हुँदै बग्ने नदी क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले नदीले प्रभाव पार्न सक्ने खोटाङको भूभाग पर्ने सर्वसाधारणलाई सूचना दिनका साथै पर्न सक्ने खतराप्रति सेना, सशस्त्र र जनपथ लगायतका सुरक्षा संयन्त्र तयारी भएको बताए । 'खोटाङको भूभागमा सागुरो गल्छिनो भएर बग्ने नदी भएकाले निक्कै ठूलो क्षति हुने सम्भावना छ ।' प्रजिअ सापकोटाले भने-'यसलाई मध्यनजर गरेर सुरक्षितस्थलमा जान आग्रह गरिएको छ ।'
उदयपुर- कान्तिपुर संवाददाता डिल्लीराम खतिवडाका अनुसार उदयपुरमा पनि कोसी क्षेत्रको वासिन्दालाई उच्च सर्तकता अपनाउन भनिएको छ । घुर्मीदेखि मैनामैनीको कोठु सम्मको कोसी किनारका वस्तीका सर्वसाधरणलाई उच्च सर्तकता साथ सुरक्षित स्थानमा सर्न भनिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलितयाले वताए । -कान्तिपुर बाट