भ्यालेन्टाइन मनाउँदा ३२ वर्ष कैद, सञ्चारकर्मी पनि जेलमा

रियाद (एजेन्सीहरू), वैशाख २८ - महिला साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच युवालाई साउदी अरबको एउटा अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको छ । उनीहरूलाई अल फारुक क्षेत्रको भाडाको घरबाट गत १४ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।

उनीहरूमाथि महिलासँग अवैध सम्बन्ध बनाएको, नाचेको र रक्सी पिएकामा दोषी ठहर गरिएको छ । पार्टीमा सहभागी ६ महिलालाई अहिलेसम्म सजाय सुनाइएको छैन । पुरुष अभियुक्तहरूले भने जेद्दाहस्थित क्रिमिनल कोर्टसामु अपराध स्वीकारेका छन् । मुस्लिम सरिया कानुन कार्यान्वयन गर्ने सरकारी एजेन्सी कमिसन फर द प्रमोसन अफ भर्चु एन्ड पि्रभेन्सन अफ भाइस (सीपीभीपीभी) र सुरक्षाकर्मीको गस्तीले ती ११ जनालाई कब्जामा लिएको थियो ।

सीपीभीपीभीले सरिया कानुन अबज्ञा गर्नेमाथि निगरानी राख्छ । यसलाई धार्मिक प्रहरी पनि भनिन्छ । यसले धर्मको मार्गमा समाज चल्नुपर्ने भन्छ ।

सीपीभीपीभीमा झन्डै ४ हजार प्रहरी छन् । तिनलाई साउदी राजा अब्दुल्लाहले सीधै नियुक्त गर्छन्, जसलाई असीमित अधिकार दिइएको हुन्छ । त्यसका अधिकारीहरूले सार्वजनिक स्थानमा डे्रस कोड, महिला र पुरुषका अलग-अलग पंक्ति, नमाज (इस्लामका प्रार्थना), नमाजको समय र नागरिकको अनुचित व्यवहारजस्ता कुरामा निगरानी गर्छन् । त्यहाँको कानुनअनुसार भ्यालेन्टाइन डे मनाउन पाइँदैन । मदिरा सेवन निषेधित छ । महिलाले परम्परागत पहिरन लगाउनुपर्छ । परिवारका सदस्यबाहेक महिला-पुरुषको निकटता बर्जित छ ।

सञ्चारकर्मी पनि जेलमा
धर्मबारे टिकाटिप्पणी गरेको भन्दै साउदीकै अदालतले वेबसाइट सञ्चालक रइफ बदाबीलाई यो साता १० वर्ष जेल, हजार कोर्रा र १० लाख रियाल जरिवाना सुनाएको छ । उनलाई सन् २०१२ को जुनमा साइबर क्राइम गरेको भन्दै पक्राउ गरिएको थियो ।

 सन् २००८ मा स्थापना भएको फ्रि साउदी लिबरल नेटवर्क बेबसाइटका उनी संस्थापक हुन् । उनको बेबसाइटले परम्परावादी इस्लामिक राज्यमा धर्मको भूमिकाबारे बहस चलाएको थियो ।

उनले एक टेलिभिजन अन्तर्वार्तामा धार्मिक प्रहरीको आलोचना गरेको र पिताको आदेश नमानेको अभियोग पनि थियो । उनको वेबसाइटले साउदी धार्मिक व्यक्तित्व ग्रान्ड मुफ्तीको आलोचना हुने गरी लेख पनि प्रकाशन गरेको थियो । यसअघि उनलाई ती आरोपमा ७ वर्ष कैद र ६ सय कोर्राको सजाय सुनाइएको थियो । पुनरावेदन अदालतमा पुनः सुनुवाइ गरिँदा सजाय थपिएको हो ।

एमनेस्टी इन्टरनेसनलले अदालतको यो फैसलालाई 'उपद्रव' भनेको छ । उसले बदाबीलाई दिइएको सजाय रद्द गर्न आग्रह गरेको छ । सरकारी अभियोजन पक्षले भने उनलाई मृत्युदण्ड माग गरेको थियो । अलिखित कडा मुस्लिम कानुन अनुसरण गरिने उक्त मुलुकमा अदालतका जुनसुकै फैसलालाई आश्चर्य मानिँदैन । नजिर वा लिखित कानुनभन्दा न्यायाधीशकै व्याख्यामा फैसला हुन्छ ।

यो कठोर कानुनबाट महिला र पुरुष बराबर पीडित छन् । तेल भण्डार रहेको यस मुलुकमा महिलालाई सार्वजनिक स्थलमा गाडी चलाउनसमेत प्रतिबन्ध छ । उनीहरूले घर कम्पान्ड र मरुभूमिमा मात्र ड्राइभिङ गर्न पाउँछन् ।

४५ वर्षभन्दा कम उमेरका महिला यात्रामा निस्कँदा बुवा, काका, दाजु/भाइ वा पति साथमा हुनैपर्छ । घरमा पुरुष नभएमा घुमफिरका लागि लिखित अनुमति लिनुपर्छ । सार्वजनिक स्थलमा सांगीतिक कार्यक्रम र विद्यालयमा संगीत शिक्षामा प्रतिबन्ध छ ।

,