विश्वको सबैभन्दा छोटो खेल, सकियो मात्र १ सेकेण्डमा

१२ चैत, एजेन्सी । वारियर्स च्यालेन्ज फाइटका क्रममा एक अनौठो रेकर्ड बनेको छ । माइक ग्यारेटले आफ्ना प्रतिद्धन्दीलाई मात्र १ सेकेण्डमा पराजित गरेर सबैभन्दा कम समय प्रतिष्पर्धामा जित हासिल गरेको वर्ल्ड रेकर्ड कायम गरेका हुन् । खेलको सुरूवात हुने बित्तिकै माइक ग्यारेटले एमएमए फाइटर स्याम हेरोनको छातीमा एक जोडदार प्रहार गरेका थिए । उक्त प्रहार पछि हेरोन रिंगमा उठ्न सकेनन् ।

७६ किलोग्राम अन्तर्गतको खेलमा खेल सुरू भएको मात्र १.१३ सेकेण्डमा खेलको टुङ्गो लागेको थियो । ग्यारेटले आफ्ना प्रतिष्पर्धी २१ वर्षीय हेरोनको छातीमा जोडदार प्रहार गर्दै पहिलो प्रयासमा नै रिङ्गमा ढालेका थिए । उक्त प्रहार पछि हेरोन रिंगमा उठ्न सकेनन् र उक्त प्रतिष्पर्धामा हेरोनलाई ग्यारेटले सहजै पराजित गरे र एउटा नयाँ रेकर्ड कायम गरे ।

विजेता घोषणा गरेपछि ग्यारेटलाई खेल हुनुअगाडि यस्तो गर्ने कुनै सोच थियो भनेर सोधिएको थियो । सो क्रममा उनले आफूले यस विषयमा केही नसोचेको तर आफूले विपक्षीलाई जोडदार प्रहार गरेर सकेसम्म जित हासिल गर्ने ध्याउन्नमा रहेको बताएका थिए ।

यो भन्दा अगाडि यो रेकर्ड पाँच मिनेटको थियो । यो रेकर्ड कोरी कान्बेको नाममा दर्ता भएको थियो । यही महिना भएको प्रतिष्पर्धामा कोरी कान्बेले एजे लिबोनलाई पाँच सेकेण्डमा पराजित गरेका थिए । कोरी सुरूदेखी नै आक्रामक रहेका थिए ।

, ,