अछाममा एक बालकले बनाए काठको मोटरसाइकल

अछाम, चैत १३ – तुर्माखाँदका १३ वर्षीय बालकले काठको मोटरसाइकल निर्माण गरेका छन् । तुर्माखाँद ४ का राजेश वयकले स्थानीय काठ, पाईप र पुराना कपडाको प्रयोग गरी मोटरसाइकल बनाउनुभएको हो ।
हेर्दा वास्तविक मोटरसाइकल जस्तै देखिने काठको मोटरसाइकलमा ठेला गाडामा प्रयोग हुने दुईवटा टायर प्रयोग गरिएको छ । पुरानो कपडा सिलाएर मोटरसाइकलको सिट बनाइएको छ । काठ र सिटलाई किला र तारले बेरिएको छ । राजेशले एक हप्ता लगाएर निर्माण गरेको काठको मोटरसाइकल ओरालोमा मात्रै चल्छ ।
‘ओरालोमा चढेर जान्छु भने उकालोमा धक्का मारेर बोक्छु,’ गाउँकै सडकमा मोटरसाइकल चलाउँदै गर्दा भेटिएका राजेशले भन्नुभयो, ‘गाउँका मानिसहरु आफूले निर्माण गरेको मोटरसाइकल चढ्न तछाडमछाड गर्छन् ।’
स्थानीय कालिकेश्वरी उच्च माविमा कक्षा ९ मा अध्ययनरत राजेशले वास्तविक मोटरसाइकल देखेर आफूलाई काठको मोटरसाइकल बनाउने इच्छा जागेको बताउनुभयो । मोटरसाइकल बनाउन आवश्यक पर्ने काठ खोज्न भने लामो समय लागेको उहाँको भनाइ छ ।
उहाँले ठुलो भएपछि उकालोमा पनि चल्ने मोटरसाइकल बनाउने इच्छा रहेको पनि बताउनुभयो । ओरालोमा मोटरसाइकल चलाएको देख्दा पहिलो पटक देख्नेहरु अचम्ममा पर्ने गरेका छन् ।

,