रुपन्देहीको मर्चवारमा भारतद्वारा नेपाली भूमि अतिक्रमण, मर्चवार अर्को सुस्ता बन्ने खतरा

सलमान खान ११ चैत, भैरहवा ।

नवलपरासीको सुस्ताकै शैलीमा भारतीय पक्षले रुपन्देहीको मर्चवारक्षेत्रको नेपाली भूमि अतिक्रमण गर्न थालेको छ । मर्चवार क्षेत्रको नेपाली भूमि भारतीय पक्षले योजनावद्द रुपमा हडप्न थालेको स्थानीयले बताएका छन् ।
मर्चवारक्षेत्रको नेपाल-भारत सिमानाका बगौली-८ स्थित मनझरियाको दशगाजासँग जोडिएको करिब २० विघा नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) हतियारसहित गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन छ ।
मर्चवारक्षेत्रमा दुवै देशको सीमाना डन्डा नदीले छुट्टयाएको छ । उक्त भूमिनजिकैका तीनवटा सीमास्तम्भमध्ये दक्षिणतर्फको सीमास्तम्भ ‘५ सय २८ एच’ नदीवारी आइपुग्ने अवस्था छ । सो स्तम्भ जमीनभित्र करिब २ फिट तल पुरिएको अवस्थामा छ । उत्तरतर्फको अर्को स्तम्भ नदीभित्र रहेको छ, जसले गर्दा दुबै देशको भू भाग छुट्याउन पनि समस्या भएको छ ।
राम्रो अवस्थाको भन्न मिल्ने स्तम्भ नम्बर ‘५ सय २८ जी’ नदी पारी छ । नदी र सीमास्तम्भबीचमा करिब २० विघा जग्गा छ, जसलाई नेपाली किसानले जोतभोग गर्न सकेका छैनन् । सोही जग्गासहितको नेपाली भूमिमा एसएसबीले हतियारसहित गस्ती गर्दै आएका छन् । नदी पारीको दशगजासँगै जोडिएर भारतीय एसएसबीको क्याम्प राखिएको छ । यता नेपाली सशस्त्र प्रहरी र जनपद प्रहरीको चौकी सीमा भन्दा धेरै भित्र छ ।
नेपालको भूमि अतिक्रमित भएको बारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी भने बखेबर छन् । उनी भन्छन्, ‘मलाई त केही पनि थाहा छैन ।’
नदीवारी नेपाल र नदीपारी भारत रहेको भनिएकाले आफ्नो जग्गा हुँदाहुँदै पनि जोतभोग गर्न नपाएको नेपाली किसानहरुको गुनासो छ । उक्त भूमिमा जोतभोग गर्दा पनि भारतीय नागरिकले क्षति गरिदिने गरेका नेपाली किसानहरुको गुनासो छ । आफूले उक्त भूमि जोतभोग गरी बाली लगएपनि भारतीयहरुले गाईगोरु छाडिदिने तथा बाली पाकेपछि चोरेर लगिदिनाले बाँझै छोड्न बाध्य भएको नेपाली किसानहरुले बताएकाा छन् ।
दुवै देशका सीमासुरक्षाबलका सुरक्षाकर्मीहरुसगँ गुनासो गरेपनि आश्वासन बाहेक केही नपाएको बगौली-८ का किसान अब्दुल रहमान फकिरले गुनासो पोखे । यसैगरी उक्त भूमिमा नेपाली किसानकै बगैंचा रहे पनि भारतीयले बगैंचाको रुख काटेर लैजाँदा आफूहरुसँग टुलुटुलु हेर्ने बाहेक अरु विक्लप नरहेको अर्का किसान बसिउल्लाह मुसलमानले बताए । ‘दुवै देशका सुरक्षाकर्मीलाई समस्याबारे जानकारी गराउँदा उनीहरुले ध्यानै दिदैनन्’ उनले भने ।

त्यसैगरी अर्को स्थानिय बासिन्दा अब्दुल रहमान फकिर भन्छन्- “सिमानाकामा रहेको ३ वटा सिमा स्तम्भ मध्य २ वटा स्तम्भ विस्थापित सरह नै छ, यदी बाकी एउटा नदी पारी रहेको स्तम्भ नम्बर ‘५ सय २८ जी’ विस्थापित भयो भने उक्त नेपाली भुमि भारत सरकारले पूर्ण रुपमा कब्जा गर्न कुनै समय लगाउँदैन । ” उनी भन्छन्- “हामी सानो उमेरको हुदाँ पहिला सिमानाका करिब ६० फिट चौडा रहेको थियो तर अहिले त्यो भन्दा निकै कम रहेको र भारतले करिब २५ फिट जग्गा समेत कब्जा गरिसकेको छ, ” उनले थपे- “यदि नेपाल सरकारले यस विषयमा ध्यान नदिने हो भने नवलपरासीको सुस्ता झै यो ठाउँलाई भारतले कब्जा गरेर अर्को सुस्ता बनाउन्मा कुनै समय लागउँदैन ।”
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले सीमा मिचिएकोबारे कसैले जानकारी नगराएकाले आफू बेखबर रहेको बताए । ‘डन्डाखोलापारी पनि नेपालको भूभाग पर्छ भन्ने मलाइ जानकारी छैन’, प्रजिअ पन्थीले भने, ‘सीमा सुरक्षाको जिम्मा शसस्त्र प्रहरी बलमा छ, उनीहरुलाई यसबारे बढी जानकारी होला ।’
सीमा मिचिएको बारे सशस्त्र प्रहरी बल सीमासुरक्षा कार्यालय रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाहसँग सम्पर्क गर्दा दशगजा क्षेत्रमा माईनर र मेजर गरी दुई प्रकारका पिलर रहेका बताउँदै जमीनमुनिको पिलर माईनर भएको बताए ।
जंगे पिलरहरुको आवश्यकता औल्याउँदै उनले पिलर पुर्ननिर्माणको लागि केन्द्रबाट बजेट माग गरिएपनि अहिलेसम्म प्राप्त नभएकाले काम अघि नबढेको जानकारी दिए ।
स्थानीयले आफूलाई सीमा मिचिएको र नेपाली किसानहरुले बाली लगाउन नपाएको बारे कुनै जानकारी नदिएको बताउँदै शाहले लिखित उजुरी आए तत्काल कारवाहीप्रकिया अगाडी बढाउन सजिलो हुने प्रतिक्रिया दिए ।

, ,