बुवाको साथीले जबर्जस्ती गरेपछि...एउटी किशोरीको कथा– यौन दुव्र्यवहारदेखि आर्यघाटसम्म

वकिललाई भेटेर प्रविण थापा बौद्धमा भएको आफ्नो काठ कारखानामा आए। कारखानाको छेउमा उनीहरुको भान्छा छ, त्यहीँ सधैँझैँ छोरीले पकाएर राखिदिएको खाना खाए। छोरीलाई आफूसँगै बोलाउन उनी माथि कोठामा गए।

भित्रबाट ढोका लगाएको थियो, बोलाउँदा छोरी बोलिनन्। प्रविणको मनमा चिसो पस्यो।

उनकी छोरी पविना बोलाउँदा कहिल्यै नबोल्ने भैसकेकी थिइन्।

बेलाबेला छोरी भनिरहन्थिन्, ‘बुवा तपाई हामीसँगै बस्नुहोस्। तर, उनी काममा जानुपथ्र्यो छोरीकै लागि। गए। फर्किँदा उनले आफ्नी छोरी सधैँका लागि गुमाइसकेका थिए।

११ कक्षामा पढ्ने पविना पढाइमा अब्बल थिइन्। कतिखेर पढ्ने, कतिखेर भाइ र बुवालाई खाना खुवाउनेजस्ता सबै काम टाइमटेबल बनाएर गर्थिन्।
उनको मृत्युको टाइमटेबल पनि उनी आफैंले सेट गरिन्। घाँटीमा पासो लगाएर उनी झ्यालमा झुण्डिएको देख्नुपर्‍यो उनका बुवाले।

कलेजले दिएको होमवर्क लेख्ने कपीमा उनले सुसाइड नोट लेखेर छाडिन्।

‘मर्न त नहुने हो, तर के गर्नु मैले यो घटनालाई बिर्सन नै सकिन, कोसिस त मैले गरेको बुवा... ’

प्रवीणले प्रहरी बोलाए। पासोबाट छुटाएर छोरीलाई प्रहरी चौकीमा लगियो।

उनलाई आत्महत्या गर्न बाध्य पार्ने अम्बिका लामिछाने हुन् भन्ने जाहेरी दिँदा आइतबार (चैत ९ गते) बौद्ध प्रहरीले दर्ता गर्न भोलि आउनू भन्यो। सोमबार, पनि प्रहरीले यो आत्महत्या भएको भन्दै जाहेरी लिन मानेको थिएन।

प्रविणका छिमेकी र आफन्त प्रहरी कार्यालयअघि दबाब दिन जम्मा भए। ‘जाहेरी दर्ता नगरे लास नबुझ्ने’ भने। आफन्तहरुको चर्को दबाब सहन नसकेर प्रहरीले जाहेरी लियो।

‘अम्बिकाकै दबाब र धम्की समेतका कारणले मेरी छोरीको चैत ९ गते मृत अवस्थामा घरडेरामा भेट्टाएको हुँदा यी अभियुक्त अम्बिकाले मेरो घरडेरामा गई कुनै विषालु वा नसाजन्य पदार्थको सेवन गरी गराई मरेको हुन सक्ने र निजहरुले शारीरिक र मानसिक पीडा खडा गरी ज्यान मार्नेसम्मको सम्पूर्ण प्रयास गरेको हुनाले यो जाहेरी दर्ता गर्न आएको छु।’

पविनाका बाबु प्रविणले दिएको जाहेरीमा उल्लेख छ।

उनका अनुसार अम्बिकाले भेटेको केही समयपछि पविना झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
...
गणेश लामिछाने र प्रविण थापा साथीसाथी हुन्। तीनवर्ष यता उनीहरुको आउजाउ निकै थियो। परिवारमा पनि चिनाजानी थियो। प्रविणले आफ्नो काठको काम गर्दा गणेशको घरको काम गरेरै सुरु गरेका थिए।

फागुनको २९ गते प्रविण कान्छी छोरीको उपचारका लागि आफ्नो घर सिन्धुपाल्चोकको थाप्लाङ जानुपर्ने भयो।

भाडामा लिएको बौद्धको कोठामा छोरी पविना र छोरालाई छोडेर उनी घर गए।

आफ्नो साथी नभएको मौका पारेर गणेश फागुन २९ गते साँझ प्रवीणको डेरामा गए।

पविना र उनका भाइ सँगै थिए। गणेशले पविनाको भाइलाई ‘आज मेरोमा जाम हिँड’ भनेर लगे।

बुवाका साथीसँग उनी सजिलै गए। गणेश घर पुगेर ‘म एकजना साथीलाई भेटेर आउँछु है’ भनेर बाहिरिए। अनि पविनाको ढोकामा पुगे।

भाइ आयो भनेर उनले ढोका खोलिन् तर गणेश भित्र पसे।

त्यहाँ उनले पविनाको बाबुलाई बेस्सरी गाली गरे।

प्रविणको काठ कारखाना पनि आफ्नै कारणले चलेकाले बन्द गराइदिन्छु भन्नेसम्मको धम्की दिएपछि गणेशले पविनालाई जबरजस्ती गरे।

आफ्नै छोरी उमेरकी पविनालाई बलात्कार गरेर गणेश निस्किए।

भोलिपल्ट साँझमात्र कान्छी छोरीको उपचार सकेर प्रविण कोठा  फर्के।
पविनाले बाबुलाई सबैकुरा बताइन्।

उनी त छाँगाबाटै खसे। गणेश कस्तो मान्छे हो भन्ने उनलाई थाहा थियो।

‘उसले मसँग आफूले गरेका धेरै कुरा बताएको थियो, ती सबै मैले अहिले भनेर प्रमाण त पुग्दैन, ऊ कस्तो मान्छे हो भन्नेचाहिँ मलाई थाहा थियो तर मेरी छोरीलाई पनि यस्तो गर्ला भन्ने मैले सोचेकै थिइन,’ प्रविणले भने।

प्रवीणले बौद्ध प्रहरीमा जाहेरी दिए। गणेश समातिए। गणेश समातिएपछि उनकी श्रीमती अम्बिका लामिछाने पविनाकहाँ आउजाउ गर्न थालिन्।

उनी बेलाबेला आफ्ना श्रीमानलाई भेट्न थाना पनि जान्थिन्।

सायद दुवैको सल्लाह भयो, पविनाले उजुरी फिर्ता लिए गणेश छुट्ने छन्।

अम्बिकाले पविनालाई फकाइन्, मुद्दा फिर्ता लेऊ भनेर। उनले जागिर लगाइदिन्छु भन्ने पनि प्रलोभन दिन थालिन्। तर, पविनाले आफूलाई बलात्कार गर्नेलाई छोडाउन चाहिनन्।

अम्बिकाले धम्की दिइन्– मेरो श्रीमानलाई नछुटाए तिमीहरुको परिवारै मारिदिन्छौँ।

एकदिन गणेशले यो थाहा पाए, अनि अम्बिकालाई थर्काएर पठाए।

त्यसपछि,यस्तो दबाब उनले पविनासँग मात्र होइन, प्रविणलाई पनि दिएकी थिइन्। परिवार एकैठाउँमा भएको बेला पनि उनी आएर धम्क्याएर जान्थिन्। प्रविणका घरबेटी रामबहादुर बुढाथोकीले भने, ‘त्यो अम्बिका धेरै आउँथ्यो उहाँ भएको बेलामा पनि मैले तीनचारपटक देखेँ, छोरी मात्रै भएको बेलामा पनि आउँथी, उसको घर हाम्रोबाट त्यही एकसय मिटर पर त छ नि।’

प्रविणको घर वरिपरि, गणेशका मान्छेहरुले चियो पनि गर्न थाले। उनी कहाँ जान्छन्, के गर्छन् ती सबै बुझ्न थाले।

‘अम्बिकाले दबाब दिन थालेपछि उसका मान्छेहरुले पनि म जता जान्छु त्यतै गएर चियो गर्थे,’ प्रवीणले भने।

जब कारखाना या कोठामा जान्थे, पविना एक्लै परेको मौका छोपेर, अम्बिका आइहाल्थिन्, उनलाई धम्की दिन।

शायद त्यसैले होला पविनाले कारखानामा काम गर्ने र त्यतै सुत्ने बाबालाई बेलाबेला भन्दिरैछन्– बुवा हामीसँगै बस्नुस्।

आफूुलाई जबर्जस्ती भएपछि पविना विक्षिप्तजस्तै बनेकी थिइन्। डराउने टोलाउने गर्थिन्। यस्तो अवस्थामा पनि उनले आफूलाई जबरजस्ती गर्नेलाई कारबाही हुनपर्छ भन्ने अडान लिइरहिन्। ‘मेरी छोरीले जसरी पनि गणेशलाई कारबाही गर्नुपर्छ, ऊ अपराधी हो भन्थी, उसैको आडले मैले त्यसलाई जेल हालेँ र यो मुद्दामा लागिरहेँ।’

आइतबार बिहान ९ बजे पनि अम्बिका पविनालाई भेटेर गएकी थिइन्।

उनी गएको केही समयपछि पविना आफ्नै कोठाको झ्यालमा झुण्डिएको अवस्थामा मृत भेटिइन्।

उनले सुसाइड नोटमा लेखेकी छन्, ‘म बाँचेर पनि मैले केही गर्न सक्दिन। मेरो भाग्यमा नै यही लेखिएको थियो, यही नै भयो, पीर नगर्नुस् है। जन्म दिने बाबुआमा! म त्यही पातकीको कारणले मर्नुपर्यो‍, हुन त आज मरे पनि भोलि मरे पनि मर्नु नै त हो। ममाथि अपराध गर्नेलाई सक्नुहुन्छ भने राम्रोसँग सजाय दिनुस्। मैले हजुरलाई भएको कुरा जति सबै सत्य नै भनेको हुँ। यो मान्छेसँग कहिले पनि म घुम्न गएको छैन, फोन पनि भएको हैन, एसएमएस पनि गरेको छैन। होस् आज म बुवाआमा, भाइबहिनी सबैलाई बिर्सेर अर्कै संसारमा जाँदै छु बुवा अबको बाटो राम्रो रोज्नु, धेरै दुख नगर्नुस् है?’

प्रविणले सोमबार साँझ पशुपति आर्यघाटमा छोरीको चिता हेर्दै भने, ‘अब छोरीकै लागि भए पनि अन्तिमसम्म म लडिरहने छु, तपाईँहरुले साथ दिनुहोला।’ शोभा शर्मा काठमाडौँ, चैत ११, सेतोपाटी

,