कार्यबाहक नपाएपछि गुट बनाउँन थाले रामचन्द्र पौडेल

९ चैत, काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले कार्यबाहक सभापतिको जिम्मेवारी नदिएपछि उपसभापति रामचन्द्र पौडेल रुष्ट भएका छन् । पौडेल अहिले प्रधानमन्त्रीनिवास बालुवाटार पनि जान छोडेका छन् ।
उपसभापति पौडेल कोइरालासँग असन्तुष्ट नेताहरूलाई समेटेर छुट्टै गुट बनाउने तयारीमा लागेका छन् । आकांक्षी भए पनि मन्त्री बन्न नपाएका अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीसहितका केन्द्रीय नेतालाई सहभागी गराई उनले छुट्टै समूह बनाउन लागेका छन् ।
‘पार्टीमा निरन्तर काम गरे पनि पौडेलजीलाई उचित जिम्मेवारी दिइएको छैन,’ पौडेलनिकट स्रोतले भन्यो, ‘शक्ति देखाउन केही नेता वरिपरि हुनुपर्ने रहेछ । त्यस्तै भए उहाँको पनि छुट्टै शक्ति बन्छ ।’
संसदीय दलको चुनावमा सहयोग गरेपछि आफूले कार्यवाहक पाउने सहमति भएको, तर डेढ महिनासम्म पनि सभापति कोइरालाले बेवास्ता गरेको भन्दै पौडेल असन्तुष्ट बनेका हुन् । ‘संसदीय दलको नेतामा सहयोग गर्दा उपसभापतिलाई कार्यवाहक दिने ११ बुँदे सहमति भएको थियो,’ पौडेलनिकट स्रोतले भन्यो, ‘तर, सभापतिले कार्यवाहक दिन आलटाल गर्दै आउनुभएको छ । त्यसैले उपसभापति आजभोलि बालुवाटार पनि जान छाड्नुभएको छ ।’
सभापति कोइराला तत्काल कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिने पक्षमा नरहेको नयाँ पत्रिकामा खबर छ ।पौडेललाई दिँदा वरिष्ठ नेता शेरबहादुर देउवा रिसाउने र देउवालाई दिँदा कोइराला खानदानबाट कांग्रेसको राजनीति टाढिने विश्लेषणमा महाधिवेशनसम्म दुवैलाई कार्यवाहक नदिने मनस्थितिमा उनी छन् ।
यसअघि देउवापक्षसँग ६० र ४० प्रतिशतको भागबन्डाका आधारमा कोइरालाले पार्टी चलाउँदै आएका थिए । तर, संसदीय दलको चुनावमा देउवाले ४६ प्रतिशत शक्ति आर्जन गरेपछि पौडेललाई कार्यवाहक नदिन दबाबमा परेका छन् । संसदीय दलमा उपसभापति पौडेलको पक्षमा करिब १२ सभासद् छन् ।
‘निर्वाचनपछि कसरी पार्टी चलाउने भन्नेमा तीन नेताबीच सहमति हुने गरी ११ बुँदे सहमति गर्ने तयारी थियो,’ कोइरालानिकट नेता दीपकुमार उपाध्यायले भने, ‘तर, देउवाजीले दलको चुनाव लडेपछि सहमति कार्यान्वयन हुनै सकेन ।’

,