राजेश हमालले सुहागरातका तस्बिर सार्वजनिक गर्नुको रहस्य |
राजेश हमालले मधु भट्टराईलाई बिहे गर्न प्रस्ताव राखेको समाचारदेखि लिएर उनले आफ्नी दुलहीलाई सिन्दुर हालेको समाचारलगत्तै सुहागरात मनाउने ओछ्यानको तस्बिरसम्म समाचार बन्यो। निश्चय पनि राजेश एक सेलिब्रिटी हुन् र उनका रिललाइफ सँगै रियल लाइफका अत्यन्त निजी मानिने क्षणहरुमा झन् उनको प्रशंसकहरुको रुचि हुने हुनाले यस्ता घटनाहरु समाचार बन्नु कुनै अचम्म होइन।

तीन साताअघि ५० वर्षका राजेश हमालले २८ वर्षकी मधु भट्टराईसँग विवाह गरे। उनको बिहेले उनी चलचित्रमा प्रवेश गरेदेखि उनलाई सोधिँदै आएको “बिहे कहिले गर्ने” भन्ने एउटा सनातन प्रश्न अब अनावश्यक भएको छ। तर उनको बिहे सम्बन्धी केही समाचार र नितान्त निजी मानिने रुमानी क्षणहरुको तस्बिरहरुले भने हमाल आफूबारे स्पष्ट पार्न अलि बढी नै व्यग्र भएका हुन् कि जस्तो भान हुन्छ। उदाहरणको लागि मधुलाई बिहेको प्रस्ताव राखेको समाचार। बिहे प्रस्ताव प्रेम सम्बन्धको एक उत्कर्ष हो, यो एक अत्यन्त निजी रुमानी क्षण हो जसमा धैरैजसो प्रेमीहरु अरु मानिसहरुको उपस्थिति रुचाउँदैनन्। हमालले भने पत्रकार सम्मेलन गरेरै मधुलाई बिहे प्रस्ताव गरे। तर यो प्रस्ताव निश्चय पनि एकान्त निजी क्षणमा गरिने जस्तो स्वाभाविक अर्थात स्पोन्टेनियस थिएन। किनकि हमालले मधुको “हुन्छ” पहिल्यै थाहा पाइसकेका थिए। सार्वजनिक रुपमा राखिएको त्यो प्रस्ताव केवल उनका प्रशंसकहरु माझ आफू वास्तविक जीवनमा पनि उत्तिकै रोमान्टिक छु भन्ने सन्देश दिनका लागि योजना गरिएको थियो शायद।
विवाहको क्षणमा मधुको भविष्यको बारेमा उनले दिएको अभिव्यक्तिले उनको प्रगतिशिल आधुनिक पुरुषको छविमा प्रश्न उठाएको छ। मधु सिने क्षेत्रमा संलग्न नहुने उनकै स्वेच्छा होला तर “उनी घर सम्हाल्दै मलाई प्रेरणा दिनेछिन्” भन्ने अभिव्यक्ति आफैंमा हास्यास्पद छ। हुन त अपवाद बाहेक अधिकांश स्टार पत्नीहरु ऋाफ्ना पतिहरुको स्टारडममै रमाउँदै छायाँमा बस्न रुचाउँछन्। तर राजेश हमाल अपवाद हुन्छन् कि भन्ने मेरो आशा थियो। राजेश हमालको समाजमा आफ्नो परिचय छ। उनको अबकोे चुनौती भनेको त बनिसकेको परिचयलाई सही ढंगले व्यवस्थापन गर्ने मात्र हो। समाज परिवर्तन सँगसँगै “असल पति” र “असल पत्नी”को परिभाषा पनि बदलिँदो छ। हमाल एक सेलिब्रिटी भएको नाताले हमालका विवाह सम्बन्धी सोच र व्यवहारहरुले समाजमा केही न केही प्रभाव पारिराखेको हुन्छ। आशा गरौं, राजेश हमालले आफूलाई “असल पति” को परिवर्तित परिभाषा अनुसार मधुको परिचय “मिसेज हमाल” भन्दा फराकिलो बनाउन प्रमुख भुमिका खेल्नेछन्।
अब सार्वजनिक गरिएको सुहागरातको ओछ्यानको कुरा गरौं। हुन त विश्वभरि नै पापाराजी फोटोग्राफरहरु स्टारहरुको निजी भन्दा निजी क्षणहरुको तस्बिर सार्वजनिक गर्न आतुर रहन्छन्। यस्तो अवस्थामा स्टारहरु आफ्नो निजि जिन्दगी जिउने अधिकार र गोपनीयताको सम्मान हुनुपर्ने कुरा उठाउँछन्। तर हमालले जस्तै कहिलेकाहिँ स्टारहरुले आफूखुसी निजी क्षणहरु सार्वजनिक गर्छन्। त्यसको स्पष्ट कारण भने प्रचारबाजी नै हो। विकसित मुलुकहरुमा त स्टारहरु आफ्ना निजी तस्बिरहरु कुनै मिडिया मार्फत सार्वजनिक गर्ने सहमति गर्दै थुप्रै पैसा कमाउँछन् पनि। बिहेको दोस्रो दिन सुहागरात मनाउने ओछ्यानमा बसेर खिचेको मधु र राजेश हमालको तस्बिर सेतोपाटीमा आउने बित्तिकै सामाजिक संजालहरुमा विभिन्न किसिमका टीका टिप्पणीहरु आए। यौनिकताको विषयमा खुलेर बहस नहुने हाम्रो समाजमा यो तस्बिरले उठाएका बहसहरु केलाउनु आफैंमा महत्वपूर्ण हुनेछ। हमालजस्ता सार्वजनिक जीवन भएका सेलिब्रिटीहरुले कुन हदसम्म आफ्नो निजी क्षण्हरुलाई सार्वजनिक गर्ने भन्ने आफैं एक महत्वपूूर्ण बहसको विषय हुन सक्ला। तर अहिले भने म राजेश हमालले किन आफ्नो निजी रोमान्टिक क्षणलाई सार्वजनिक गरे भन्ने अनुमानमा मात्र केन्द्रित हुन चाहन्छु।
सार्वजनिक गरिएका चार तस्बिरमध्ये एउटामा मधु र राजेश दुईतिर बसेका छन् बीचमा वाइन राखेको सानो टेवल छ अनि टेबलको अगाडि फलफुलको टोकरी। अर्को तस्बिरमा मधु र राजेश फूलले सजाएको खाटमा सँगै हैन, अलि टाढा दुईतिर बसेका छन्। सबै तस्बिरहरुमा मधुले केही अफ्ठ्यारो महसुस गरिरहेको भान हुन्छ। राजेश हमाल भने सधैँजसो आफ्नो रेडिमेड मुस्कानमै देखिन्छन्। यी तस्बिरहरु सार्वजनिक भए लगत्तै सामाजिक संजालहरुमा थुप्रै टीका टिप्पणीहरु आए। कसैले चर्चाको लागि यसो गरिएको भने, कसैले अब उनी छिटै बावु बन्ने भनेर हाँसो पनि गरे। हमालले तस्बिर सार्वजनिक गर्नुको पछाडि शायद अर्को कारण पनि छ। राजेश हमालजस्ता स्टारहरु यो राम्रो बुझ्छन् कि उनका प्रशंसकहरु सधैँ रिल लाइफभन्दा बढी रियल लाइफका निजी क्षणहरुमा चासो राख्दछन्। प्रशंसककलाई आफूमा झुकाव कायम राखिराख्न आफ्ना व्यक्तिगत विचार र किस्साहरु क्रमैसँग निरन्तर सार्वजनिक बनाइराख्न आवश्यक पनि हुन्छ शायद। त्यसमाथि हिन्दी र नेपाली चलचित्रहरुमा गरिएको अतिरञ्जित चित्रणले सुहागरातसम्बन्धी केही निश्चित आकांक्षा स्थापित गर्दै आइरहेको छ। राजेश र मधुका तस्बिरहरुले पनि तिनै आकांक्षा प्रतिबिम्वित गर्छन्। अर्को कोणबाट हेर्दा, कहिलेकाहिँ स्टारहरुको रिल लाइफ र रियल लाइफका सीमानाहरु धमिलिँदै जान्छन्। लामो समयसम्म दर्शकको लागि क्यामराअगाडि प्रेम र विवाहका क्षणहरु खेल्दाखेल्दै वास्तविक जीवनमा पनि त्यही गर्ने आवश्यकता महशुस हुँदै जान सक्छ। त्यसैले यी तस्बिरहरुमार्फत हमालले कि त आफ्ना प्रशंसकहरुलाई माया गर्दै आफ्नो जीवनको महत्वपूर्ण रोमान्टिक क्षणमा साझेदार बनाएका हुन्। अथवा अघि चर्चा गरिएजस्तै उनको मानसपटलमा रिल लाइफ र रियल लाइफबीच फरक कम हुँदै गएको पनि हुन सक्छ। जे भए पनि, लामो समयसम्म प्रेमको लागि विवाह आवश्यक छैन भन्दै आएका महानायकको विवाह, सबैको लागि प्रेरक र उदाहरणीय बनोस्। उनका सबै प्रशंसकहरुको तर्फबाट नव दम्पतिलाई शुभकामना।
