मोदी झुक्किँदा भुटानी संसदमा नेपालको चर्चा !
३ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भुटानको संयुक्त सदनलाई सम्बोधन गर्ने क्रममा ‘टङ स्लिप’ भएर भुलबस नेपालको नाम लिए । मोदीको यो मानवीय कमजोरीलाई लिएर यतिबेला भारतीय सामाजिक सञ्जाल गर्माएको छ ।

मोदीले भन्न खोजेका थिए, ‘म सबैभन्दा पहिले भुटानको त्यो महान परम्परालाई अभिनन्दन गर्छु, जुन राजसंस्थाले सामान्यभन्दा सामान्य नागरिकलाई पनि अधिकार प्रदान गर्यो ।’
भारतीय प्रधानमन्त्री मोदीले भुटानी राजतन्त्रले सांस्कृतिक विरातलाई अक्षुण राखेर राजपरिवारलाई पुरै सजगताका साथ अगाडि बढाएको बताए । ‘यसैले भुटानी राजपरिवारलाई म भारतका तर्फबाट बधाइ दिन्छु,’ उनले भने ।
पछिल्लो एक शताब्दीमा विश्वमा धेरै ठूला परिवर्तनहरु भए पनि भुटान अपवादबाट गुजि्ररहेको मोदीले बताए । भुटानले विस्तारवादी तरिकाबाट नभई शिक्षको माध्यमबाट जनताको मन जितेर लोकतान्त्रिक परम्परा अवलम्बन गरेको उनले बताए । यसैले भुटान दुनियाँ सामु एउटा उत्तम उदाहरणका रुपमा खडा भएको भारतीय प्रधानमन्त्रीले भुटानी संसदमा बताए ।
नेपालमा जस्तो शासन आए पनि भारतसँग सम्बन्ध नबिग्रने
एकपटक झुक्किएर नेपालको नाम लिएका मोदीले एक घण्टाभन्दा लामो आफ्नो मन्तव्यका क्रममा दोहोर्याएर नेपालको नाम लिए ।
भुटानमा जस्तो शासन व्यवस्था भए पनि भारतसँगको मित्रतामा आँच नआउने बताउने क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको नाम लिएका हुन् ।
‘भारत र भुटानको सम्बन्ध शासन व्यवस्थाको सम्बन्ध भनेर सोचियो भने त्यो गलत फहमी हुनेछ । भारत र भुटानमा साशकीय व्यवस्था बदलिए पनि भारत र भुटानवीचको सम्बन्धमा आँच आउँछैन ।’ मोदीले भने- ‘भारत र भुटानको सम्बन्ध सिर्फ शासकीय व्यवस्थाका कारण होइन, शासनको ऐतिहासिक धरोहरका कारणले भएको हो । हाम्रो सीमाका कारणले मात्रै होइन, हामी आफ्नो दिलको ढोका खोलेर एकता गर्दछौं ।’
हिन्दी भाषामा मन्तव्य दिएका मोदीले भने – ‘भुटान र नेपाललाई हामी आफ्नो दिलको ढोका खोलेर हेर्छौं । यसैले त हामी हाम्रो एकतामा ताकतको अनुभूति गर्छौं । शासन व्यवस्था बदलिँदैमा दिलको ढोका बन्द हुँदैन ।’
सार्क मुलुकका लागि भारत शक्तिशाली हुन आवश्यक
भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एशियाका छिमेकी देशको खुशीका लागि भारत शक्तिशाली हुनुपर्ने बताएका छन् । त्यसैले आफू प्रधानमन्त्री बन्नासाथ सार्क मुलुकका सबैलाई बोलाएको उनले स्मरण गरे ।
‘सार्क देशको भलाइका लागि भारत सुखी सम्पन्न हुन आवश्यक छ,’ उनले भने- ‘छिमेकी देशको पहिलो नजर आफ्नो छिमेकी देशमा पर्दछ । भारत दुर्बल भयो भने छिमेकीको चिन्ता कसरी दूर गर्न सकिन्छ ?’
कम होला त भारतको दबाव ?
नेपालमा यतिबेला कस्तो शासकीय स्वरुप अवलम्वन गर्ने भन्ने विषयमा संविधानभिाभित्र चर्काचर्की बहस भइरहेको छ । अहिलेसम्म भारतीय संस्थापन पक्षले नेपालमा राष्ट्रपतीय प्रणाली अपनाउनै नहुने र संसदीय प्रणाली नै अपनाइनुपर्ने जिरह गर्दै आइरहेको छ । तर, भारतीय प्रधानमन्त्री मोदीले छिमेकमा जस्तोसुकै शासन प्रणाली भए पनि भारतसँगको सम्बन्धमा आँच नआउने बताएपछि मनमोहन प्रशासनको नेपालप्रतिको हेराइमाथि प्रश्न उठाएका छन् ।
मोदीको यस्तो भनाइले नेपालमा जुनसुकै शासन प्रणाली अवलम्बन गरिए पनि त्यसमा भारतको हस्तक्षेप हुने छैन भन्ने संकेत गरेको छ ।
