सँगै बसेर रक्सी खाए अनि कुटेर मारे !

गोरखा, कात्तिक १६ – गोरखा नगरपालिका–२ का वीरबहादुर रम्तेलको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राऊ गरि सार्वजनिक गरेको छ । शनिबार बिहान सिम्जुङको बालुवा वजारबाट पक्राऊ गरि उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ का १७ वर्षका सुजन थापा, बुंकोट घर भै गोरखा नगरपालिका–१ मा बस्ने १६ वर्षका कौशल रानामगर, गोरखा नगरपालिका–६ का १७ वर्षका शिशिर राना र गाँखु–२ घर भै अहिले गोरखा नगरपालिका–३ मा बस्ने १६ वर्षका रुपेश गुरुङ छन् । प्रारम्भिक बयानका क्रममा उनीहरुले रम्तेललाई आफूहरुले कुटपिट गरेको स्विकार गरेको प्रहरी नायव उपरीक्षक रमेश थापाले बताउनुभयो । कात्तिक १२ गते राति सदरमुकाममै भएको देउसी कार्यक्रममा सहभागी भएका १८ वर्षका मृतक रम्तेललाई उनीहरुले भेट्न बोलाएर कुटपिट गरेका थिए ।






कुटपिट गर्नुअघि उनीहरुले सँगै बसेर रक्सी खाएको प्रहरीले जनाएको छ । शक्तिचोकमा भएको देउसी भैलोमा आएका रम्तेललाई कुटपिटमा संलग्न ४ जनासँग भेट गराउन भूमीका खेलेका गोरखा नगरपालिका–२ का १६ वर्षका विजय शाहीलाई पनि प्रहरीले पक्रेको छ । झण्डै एक घण्टासँगै बसेर रक्सी खाएपछि उनीहरुबीच पुरानो विवादका विषयमा भनाभन भएको शाहीले प्रहरीलाई बताएका छन् । उनीहरुबीच गएको तीजमा सदरमुकाममै भएको एउटा साँस्कृतिक कार्यक्रमका क्रममा विवाद भएको र त्यसयता सम्बन्ध बिग्रिएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
उनीहरुले रम्तेल बेहोश हुनेगरि कुटेर भागेका थिए । भोलीपल्ट रम्तेलको मृत्यु भएको थाहा पाएपछि उनीहरु गोरखाको वारपाक गाविसको एउटा घरमा लुकेका थिए । लुकेको घरमा प्रहरी आएको चाल पाएपछि भागेर फेरि सदरमुकामतर्फ आउने क्रममा उनीहरुलाई बालुवा बजार नजिकैको दरौंदी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएका मध्ये रुपेश, सुजन र शिशिरलाई यसअघि पनि प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो ।
सभार किरण लोहनी/उज्यालो







,