नायक श्रीकृष्णको निधनपछि स्वेता दिल्लीमा अचेत | सहयोगको अपेक्षा गर्दै मन्त्रीनिवास पुगे चलचित्रकर्मी

२५ साउन, काठमाडौ । नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि पत्नी स्वेता खड्का अचेत बनेकी छन् । स्वेता र श्रीकृष्णवीच एक महिनाअघि मात्रै विवाह भएको थियो । स्वेता अहिले दिल्लीस्थित एपोलो अस्पतालमै छिन् ।

श्रीकृष्णका साथमा दिल्लीस्थित एपोलो अस्पतालमै रहेकी पत्नी स्वेताको अवस्था अचेत रहेको चलचित्रकर्मीहरुले अनलाइनखबरलाई जानकारी दिए । निर्माता सुनीलकुमार थापाले उनको अवस्था अचेत रहेको खबर आए पनि कसैले फोन नउठाएकाले धेरै कुरा वुझ्न नसकिएको अनलाइनखबरलाई बताए ।
नायक श्रेष्ठको निधनले यतिबेला सिंगो सिने नगरी नै स्तब्ध बनेको छ । गएराति उपचारका क्रममा भारतको एपोलो अस्पतालमा उनको निधन भएको हो ।
एक महिनामात्रै अगाडि बिहे गरेका श्रीकृष्ण हनिमुनका लागि भन्दै भारत पुगेका थिए । तर, सुख्खा खोकीले सताएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी डीप निमोनियाका कारण अझ गम्भीर भएका थिए । दिल्लीमा यतिबेला श्रीकृष्णका एक मात्र दाजु रहेका छन् ।
सहयोगको अपेक्षा गर्दै मन्त्रीनिवास पुगे चलचित्रकर्मी
आइतबार बिहान चलचित्र कोहिनुरका निर्देशक आकाश अधिकारी, निर्माता सुनीलकुमार थापालगायतको टोलीले नेपाल सरकारका तीनजना मन्त्रीलाई भेटेको छ । संस्कृति मन्त्री भीम आचार्य, परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटेर चलचित्रकर्मीहरुले शव नेपाल ल्याउन सहयोगका लागि आग्रह गरेका छन् ।
सञ्चारमन्त्रीले तत्कालै भारतीय दुतावाससँग कुरा गरेर पूर्ण रुपमा सहयोग गर्ने चलचित्रकर्मीको टोलीलाई आश्वासन दिएका छन् । भारतीय दुतावासले एपोलो अस्पतालमा प्रतिनिधि पठाइदिने तयारी गरेको छ । जसका कारण पनि नायक श्रेष्ठको शवलाई चाँडो नेपाल ल्याउन सकिने आशा चलचित्रकर्मीहरुले गरेका छन् ।
स्रोतका अनुसार एयर एम्बुलेन्सबाट शव ल्याउन नमिल्ने भएकाले हवाइजहाजबाट शव ल्याउने तयारी गरिएको छ । यसका लागि श्रीकृष्णका दाजुहरु अहिले दिल्लीतर्फ लागेका छन्
-विजय अावाज/अनलाइन खबर बाट

, ,