प्रधानमन्त्री कोइरालाको राजीनामाको हल्ला | के साचो होला त ?
नेकपा एमालेको नौ महिने सरकारका पालामा अस्पतालको शैयाबाटै त्तकालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई राजीनामा दिन बाध्य पारिएको थियो । यतिबेला प्रधानमन्त्री सुशील कोइराला अमेरिकामा क्यान्सरको उपचार गराइरहेका बेला उनले नेपाल फर्केपछि राजीनामा दिने गाइँगुइँ चर्चा सुरु भएको छ ।
यद्यपि अहिले बिरामीमाथि सहानुभूति राख्ने समय हो । तर, सिंगै मुलुक यतिबेला एकजना विरामी प्रधानमन्त्रीका कारण बन्धक बनेको छ । प्रवासमा रहेका नेपालीसँग फोटो सेसन गरेर समय कटाउन बाध्य बनेका प्रधानमन्त्रीलाई पक्कै पनि सात समुद्र पारि रहँदा मुलुककै चिन्ता लागिरहेको होला । तर, कहिलेसम्म वामदेव गौतमले दामोदर पाण्डेले जसरी नायवी चलाइरहने ?
देशमा बजेट ल्याउन ढीलो हुन लागेको छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्नेमा सत्तारुढ दल नै विपक्षीको भूमिका निभाइरहेका छन् । के प्रधानमन्त्री कोइरालाले यो अवस्था टुलुटुलु हेरिरहन मिल्छ ?
प्रतिधिको विकास नभएका बेला दामोदर पाण्डेलाई नुवाकोटबाट नायवी चलाउन जति जटिल थियो, अहिले अमेरिकामा रहेर पनि नेपालको राजनीतिमा नेतृत्व दिन कोइरालालाई त्यति अप्ठ्यारो छैन । हाइटेक प्रविधिको कुरा गर्ने नेताहरुले चाहने हो भने इमेलबाटै राजीनामासमेत लेख्न सक्ने प्रविधि आइसकेको छ । अहिल्यै राजीनामा नलेख्ने हो भने अमेरिकामा बसेरै पनि २६ सभासदको मनोनयन प्रक्रियालाई अघि बढाउन सकिन्छ । यद्यपि देशमै सद्दे अवस्थामा रहँदा पनि प्रधानमन्त्री कोइरालाले २६ संविधानसभालाई पूर्णता दिन नसकेकै हुन् ।
कोइराला सरकारसँग अब संसदबाट नीति तथा कार्यक्रम पारित गराउनुपर्ने अहम् दायित्व आइलागेको छ । कांग्रेस र एमालेका नेताहरुले असन्तुष्टि जनाए पनि कोइराला सरकार टिकाउने मूल्यमा यसमा दस्तखत गर्ने सम्भावना सकियो भने बजेट ल्याउन नपाउँदै प्रधानमन्त्री कोइरालाले मनमोहन अधिकारीको नियति भोग्नु नपर्ला भन्न सकिने स्थिति छैन । तथापि यो स्थितिसम्म विवाद तन्किने गरी स्थिति पाकिसकेको छैन ।
सुशील कोइरालको विकल्प खोज्ने हो भने फोक्सोको बिरामीलाई कर्सीबाट हटाएर हामीले अर्को अंगको बिरामीलाई सत्तामा राख्नुपर्ने सम्भावना रहन्छ । सुशील कोइरालालाई राजीनामा देऊ भन्ने हो भने उनीजस्तै विरामी अवस्थाका केपी ओलीलाई प्रधानमन्त्री बनाइरहनुको तात्विक अन्तर के होला ? हाम्रो लोकतन्त्रको नियति नै यही हुने भयो कि अमेरिका र वेलायतमा जस्तो ३०/४० वर्षका उमेरदार सरकार प्रमुखहरुको अभ्यास नेपालले राणकालपछि कहिल्यै गर्न पाएन ।
कांग्रेसको संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार केही सभासदले जग हँसाउने काम गरे । संसदमा राष्ट्रपतिले पढेको कार्यक्रमलाई ‘नीति तथा कार्यक्रम’ भनिएकोमा केही कांग्रेस सभासदले आपत्ति जनाए । नीति भन्ने शब्द कम्युनिष्टको भएकाले नीति तथा कार्यक्रम भन्न नहुने सभासदको तर्क सुन्दा यस्तो लाग्थ्यो, यो परम्परागत कार्यक्रम यसपालिमात्रै आएको हो । यस्तो चेतनास्तर भएका सभासदहरुले एकोहोरो ५ करोडको माग गर्नु कुनै आश्चर्य रहेन । गोटीहरुको यस्तो हालत छ, स्ट्राइकरहरु विरामी छन् ।
प्रधानमन्त्री सुशील कोइराला इमान्दार र निश्कलंक नेता हुन् भन्नेमा शंका छैन । उनी कति निर्दोष र निरीह छन् भन्ने त उनको पछिल्लो ‘बडील्याङ्वेज’ले नै बताइरहेको छ । उनले भनेकै छन्, मैले सकिँन भने कुर्सीमा टाँसिइरहन्न, छाडिदिन्छु । प्रधानमन्त्रीको यो भनाइ पनि उनको छविजत्तिकै निर्दोष छ । तर, अब प्रश्न एउटैमात्र बाँकी छ, प्रधानमन्त्रीले सकेको र नसकेको कसरी मापन गर्ने ? बिरामी भएर पनि सत्तामा टाँसिइरहन हुँदैन र मुलुकलाई बन्धक बनाउन हुँदैन भन्ने प्रधानमन्त्री कोइरालालाई अझै लागेको छैन ? यसका लागि कमसेकम उनी नेपाल र्फकने बेलासम्म कुर्नु नेपाली नागरिकको कर्तव्य बनेको छ ।
कोइरालाको विकल्प खोज्दा अर्को पनि एउटा बहसको विषय बन्न सक्छ, संक्रमणकाललाई टुङ्याउनका लागि शेरबहादुर देउवाजस्ता बलिष्ठ, माधव नेपालजस्ता वायुपङ्खी वा रामचन्द्रजस्ता दुख पाएकामध्येबाट पनि सरकारको नेतृत्व गरिहेर्दा के बिगि्रएला ? एउटा बिरामीको ठाउँमा अर्को बिरामीलाई प्रधानमन्त्री बनाएर बलियाले नायवी चलाउने हो भने कोइराला नै पर्याप्त छैनन् र ? देश भयंकर अँध्यारो सुरुङतर्फ गइरहेको महसुस भइरहेको छ । योबेला हामी सबैले यति कामना गरौं, प्रधानमन्त्री सुशील कोइरालाले चाँडो स्वास्थ्यलाभ गरुन् ।
-अरुण बराल/अनलाइन खबर