झडप छुट्याउन जाँदा महिलाको मृत्यु

उदयपुर, असार १८ – वन क्षेत्रमा घर बनाएको बिषयमा बेल्टारबसाहा नगरपालिका ६ सुगारेमा मंगलबार राति दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।
 राति ९ बजे दुई समूहबीचको विवादपछि भएको कुटाकुट छुट्याउन गएकी ४९ वर्षकी स्थानीय लक्ष्मी थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा घाइते थापालाई स्थानीयले तत्काल प्राथामिक स्वास्थ्य केन्द्र वेल्टारमा ल्याउने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।
स्थानीय गणेश श्रेष्ठ, बुद्धिमान दाहाल र रत्न मगरको समूह र रमेश थापा र रेखबहादुर कटुवाल समूहबीच वन क्षेत्रमा घर बनाएको विषयमा झगडा भएको थियो । रेखबहादुरले रत्न मगरको आफन्तले वन क्षेत्रमा घर बनाएको विषयमा वन कार्यालयमा उजुरी गरेपछि वन कर्मचारीले दुख दिएको भन्दै विवाद भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका गणेश श्रेष्ठ सहितका तीन जनाले रेखबहादुर र रमेशलाई आक्रमण गरेको स्थानीयको भनाई छ । रेखबहादुर र रमेश नाताले लक्ष्मीका देवर हुन् । झडपमा रेखबहादुर र रमेश घाइते भएका छन् । घाइतेमध्ये रेखबहादुरको न्युरो अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको सिलगुढी लगिएको प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँको अवस्था गम्भीर रहेको छ भने अर्का घाइतेको अवस्था सुधार हुँदै गएको छ ।
लक्ष्मीको मृत्युपछि मगर, श्रेष्ठ र दाहाललाई पक्राउ गरिएको प्रहरी निरीक्षक न्यौपानेले वताउनुभयो । पक्राउ परेका तिनै जनालाई बुधबार नै अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।
-भरत खड्का/उज्यालो


,