आमालाई जिउदै जलाइदिएको देखेपछी ....!!

काठमाडौ, असार २१ - सोह्र वर्षकी छँदा आँखैअगाडि आमालाई जलाइएपछि उक्त आगो निभाएकी एक किशोरी त्यसको बदला लिन के-के गर्छिन् ? तर सफल हुँदैनन् ।

२०६५ जेठ ९ गते । १६ वर्षीया रेखा (नाम परिवर्तन) काठमाडौंको चाबहिलस्थित घरमा बेलुकीको खाना खाएर कोठामा पढ्दै थिइन् । भोलिपल्ट कक्षा ११ को लेखाको परीक्षा थियो । पढ्दापढ्दै उनी ओछ्यानमै निदाइन् । ४१ वर्षीया आमा अम्बिका, भान्सैमा थिइन्, बाबु (मुरारी धमला) लाई खाना कुर्दै । मुरारी कान्छी श्रीमती ममतापट्टिकी छोराको न्वारानमा गएका थिए ।

अचानक, राति ११ बजे भान्सा कोठामा दनदनी आगो लाग्यो । छिमेकीले हल्ला गरे । आमा चिच्याइन् । उनको निद्रा खुल्यो । आमा 'बुनु मलाई बचाऊ, बुनु मलाई बचाऊ' भन्दै उनको झ्यालतिर आइन् । रेखा आत्तिइन् । कोठा खोल्न खोजिन्, तर बाहिरबाट चुकुल लगाइएको रहेछ ।

भित्रबाट चिच्याइन् । कोठाको झ्यालमा सिसा लगाएको थिएन । त्यहाँबाट कौसीमा निस्किइन् । र, धाराको पानी थापेर ज्यानमा बलिरहेको आगो निभाइन् । आमा 'मलाई पापीले मार्‍यो' भन्दै कराउँदै थिइन् । बाबुले एकैछिनपछि आएर के भो भने । उनको गला अवरुद्ध भयो । बाबुको गालामा दुई झापड लगाइन् । आमाको जलेको शरीर तन्नाले बेरिदिइन् । तल सडकमा ल्याइन् । त्यो बेला एम्बुलेन्स/ट्याक्सी केही पाइएन । प्रहरीको भ्यान आइपुग्यो । आमालाई त्यसैमा राखेर ओम अस्पताल लगियो । ओमले टिचिङ अस्पताल (महाराजगन्ज) पठायो । त्यहाँबाट वीरमा ल्याइयो । ६० प्रतिशत शरीर जलेकी आमाले ७ दिनपछि जेठ १६ गते देह त्यागिन् ।

छिमेकीहरू र अन्यले भने- आमालाई बाबुले मट्टीतेल खन्याएर आगो लगाई मारे । उनले पनि आमाले घाइते हुँदा बोलेको सम्झिइन् । ठानिन्- कान्छी श्रीमतीका कारण बाबुले आमालाई आगो लगाए ।

उनको बुबाले केही वर्षअघि भक्तपुर, गठ्ठाघर बस्ने ममता घिमिरेसँग दोस्रो बिहे गरेका थिए । एक वर्षसम्म ममता उनीहरूकै घरमा आएर बसिन् । घरमा दोस्राे बिहेलाई लिएर सधैंजसो झगडा हुन्थ्यो । बुवाले आमालाई हातपात गर्थे । घर छाडेर जा

भन्थे । तर आमाले सहेर बसिन्, प्रहरीमा उजुरी पनि गरिनन् । 'हाम्रा लागि आमाले केही गर्नुभएन,' प्रहरी हिरासतमा भेटिएकी रेखाले गहभरि आँसु पार्दैभनिन्, 'आमा हामीलाई छाडेर गएको भए वा प्रहरीमै गएको भए पनि बित्नु हुन्नथ्यो ।' रेखा र उनकी दिदीलाई लाग्छ- आमा उनीहरूकै कारण मारिइन । किनकि, उनीहरूकै चिन्ताले आमाले कानुनी उपचार खोजिनन् । छोरीहरू भनेर बसिन् । दिदीबहिनीसँगै हुँदा अलि बढी आडभरोसा थियो । तर दिदी घटना हुनुभन्दा एक महिनाअघि मात्र अस्टे्रलिया गएकी थिइन् ।

घटनापछि बाबु समातिए, मुरारीलाई जिल्ला अदालत काठमाडौंले १२ वर्ष सजाय तोकेको थियो । उनी आफूमाथि अन्याय भएको भन्दै पुनरावेदन गए । पुनरावेदनले २० वर्ष कैद तोकेको छ । उनले आफू निर्दोष भएको भन्दै पोलिग्राफ टेस्ट गराई मागेका हुन् ।

रेखाले मामाघर बसेर पढाइ थालिन् । तर बाबुले आमाको मृत्युको पीडाले उनलाई सताइरह्यो । जसका कारण आमा मारिइन्, उक्त व्यक्तिसँग बदलाको भावना लिइन् ।

रेखाको ६ महिनाअघि म्यानपावरमा काम गर्ने काभ्रेका युवकसँग चिनजान भयो । २३ वषर्ीय आसमान तामाङसँग कान्तिपथको 'नाइन्टिन ओ फाइभ' मा भएको उक्त चिनजान बिस्तारै प्रेममा बदलियो । सुरुमा त रेखाले आसमानसँग आफ्नो विगत बताउन चाहेकी थिइनन् । तर एक दिन अनायासै सुनाइन् । त्यसले रेखाको मनमा भन्दा बढी बदलाको भाव आसमानको मनमा जगायो । 'म उनलाई माया गर्छु, उनको पीडा सहिनसक्नुभयो मलाई,' हिरासतमै रहेका आसमानले भने, 'उनी रोएको देखेपछि बदला लिने अठोट लिएँ ।'

विगत सुनाउने क्रममा रेखा नराम्ररी रोएकी थिइन् । बदला लिन पाए हुन्थ्योसम्म भनिन् । पछि दिदीसमेत मिलेर उनीहरूले सौतेनी आमा (ममता) लाई मार्ने योजना बनाए । रेखाले आसमानलाई ममताको हुलिया बताइदिइन्, जो केन्द्रीय कारागारमा बाबुलाई भेट्न आउँथिन् । आसमानले कारागार गएर ममताको फोटो मोबाइलमा खिचेर ल्याए । त्यसमा सानो छोरा पनि थिए । आसमानले म्यानपावरमा काम गर्ने स्रोह्रखट्टेका सुशील नापितलाई यो काम सुम्पिए । सुशीलले चिनजानका केटाहरूले काम गर्ने तर पैसा धेरै लाग्ने बताए । २० लाख रुपैयाँ मागे । आसमानले महँगो भयो भने । पछि १५ लाखमा कुरा मिल्यो । आसमानले रेखालाई यसबारे बताए । अस्टे्रलियाबाट दिदीले समेत खर्च पठाउने कुरा भयो ।

रेखाले आफ्ना सुनका गरगहना आसमानलाई दिइन् । त्यसलाई रेखा र आसामानले नयाँ बजारको एउटा सुन पसलमा धरौटी राखे । त्यसबाट आएको ५० हजार रुपैयाँ सुशीललाई दिए । बाँकी काम भएपछि दिने सर्त राखे ।

नापितका दुई केटाहरू सुरेश गुरुङ र शेषमान तामाङले काम गर्ने भए । उनीहरू मोटरसाइकल लिएर ममता बस्ने घरतर्फ रेकी गर्न थाले । ममताको गठ्ठाघरको डेरा र कौशलटारस्थित छोराको स्कुलमा आउजाउ गर्थिन् । २ दिन पिछा गरेपछि उनीहरूले ममतालाई बाटोमा रोकेर गफ गर्न थाले । तिमीलाई सौताका छोरीहरूले मार्ने योजना बनाएका छन्, जोगिएर हिँड भनेर सुनाए । सौतेनीे छोरो जन्मेको ९ दिनमा श्रीमान् जेल गएको भन्दै रोईकराई गरिन् । सुरेश र शेषमानले आफूहरूले भनेजसो गरे नमार्ने भन्दै फकाउन थाले । २/३ दिनसम्म पिछा गरिरहेपछि सौतेनी आमासँग उनीहरूको फोन नम्बर मागिन् । आफ्नोचाहिँ पुरानो नचल्ने नम्बर दिइन् । अनि केही पर्‍यो भने फोन गर्छु भनिन् ।

त्यसपछि ममताले प्रहरी वृत्त ठिमीमा उजुरी दिइन् । ती दुई नम्बर टिपाइन् । प्रहरीले दुवै केटालाई पक्रियो । अनि बिस्तारै खुल्यो, बदलामा गर्न लागिएको हत्या योजनाको रहस्य । हत्यापछि आसमान र रेखाले फोटो खिचेर ल्याउनु भनेका थिए । तर उनीहरूले मार्न नपाउँदै प्रहरीले दबोच्यो । ठिमी वृत्तका डीएसपी भीमकिरण बोगटीका अनुसार केटाहरूले हत्या गर्ने मौका खोजिरहेका थिए । ममतालाई फकाएर ट्याक्सीमा राख्ने, अनि एकान्तमा लगेर हत्या गर्ने उनीहरूको योजना हुनुपर्ने बोगटीको अनुमान छ । 'उनीहरूका साथमा फेला परेको सेतो ग्लोब्सले पनि यसको पुष्टि गर्छ,' डीएसपीले भने 'भीडभाड र सहरमा आक्रमण गर्दा हल्ला हुने र पक्राउ पर्ने भएकाले सावधानीपूर्वक योजना बनाएको हुनुपर्छ ।'
-सभार श्रोत/इकान्तिपुर

,