विश्वकप फुटबलमा पनि म्याच फिक्सिङ !

काठमाडौं, असार १७ - क्यामरुनको फुटबल संघका अधिकारीहरुले म्याच फिक्सिङमा संलग्न रहेको आरोप लागेको ७ जना खेलाडीको बारेमा अनुसन्धान थालेको छ ।
जर्मनीको एउटा पत्रिकाले क्यामरुनका ७ जना खेलाडीले विश्वकपमा फिक्सिङ गरेको दावीसहितको समाचार सार्वजनिक गरेपछि क्यामरुनका फुटबल अधिकारीले त्यसबारेमा अनुसन्धान थालेका हुन् ।
समूह चरणका तीनै खेल हारेको क्यामरुन क्रोएशियासँग ४–० ले हारेको थियो ।
क्यामरुनको फुटबल संघले विज्ञप्ति निकाल्दै विश्वकपमा भएको भनिएको फिक्सिङमा संघको कुनै संलग्नता नरहेको भन्दै फिक्सिङमा संलग्न भएका भनिएका खेलाडीको बारेमा छानविन गर्ने जनाएको छ । सिंगापुरमा रहेका फिक्सरसँग पैसा लिएर क्यामरुनका खेलाडीले क्रोएशियासँगको खेल ४–० ले हारेको दावी पत्रिकाले गरेको छ । खेलका क्रममा क्रोएसियाका मारियो मन्डजुकिचसँग भिडेपछि क्यामरुनका एलेक्स सङलाई रेफ्रिले रातो कार्ड देखाएका थिए । खेलपछि क्यामरुनका खेलाडी बेनोइट इकोट्टो र बेञ्जामिन मोयउकन्डजोले झगडा समेत गरेका थिए ।


, ,