सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दसानायकेको म्याद थप गरेर पुनः फिर्ता बोलाउने तयारी गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक अभाव देखाउँदै पुवुदुको सम्झौता थप गर्न नसकिकिने बताएपछि सरकारका तर्फबाट युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पुवुदुको सम्झौता थपका लागि सरकार आफैंले निर्णय गर्ने तयारी गरेको बताएका छन्।
'पछिल्लो समयमा मुलुकका लागि महत्वपूर्ण योगदान दिएका प्रशिक्षकको म्याद नथप्ने कुरै छैन, क्यान र परिषद्ले म्यान नथप्ने हो भने पुबुदुका बारेमा अब सरकारले निर्णय गर्छ,' मन्त्री पौडेलले भने।
केही कानुनी प्रकृया पुरा गरिसकेपछि सरकारले पुबुदुका बारेमा निर्णय लिने मन्त्री पौडेलले बताए। साथै उनले पुवुदसँग सम्झौताका लागि चाहिने आवश्यक रकमका लागि अर्थमन्त्रालयसँग कुरा भइसकेको जानकारी दिए।
यसअघि खेलकुद मन्त्रालयले पुवुदको म्याद एक बर्ष थप्न निर्देशन दिएपनि खेलकुद परिषद् र क्यानले तीन महिना मात्र समय बढाएर आफूहरुलाई झुक्याएको मन्त्रीले आरोप लगाए।
यसैवीच, अर्थमन्त्री रामशरण महतले क्यानसँग पैसा नभए सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा अर्थमन्त्री महतले प्रशिक्षक पुवुदलाई गुमाउन नहुने भन्दै क्यान पैसा तिर्न सक्षम नभए सरकारले सहयोग गर्ने उल्लेख गरेका हुन् ।
Govt cann0t lose coach Dassanayake who s worked hard to raise our cricket status. Govt to support if CAN has become bankrupt n incapable.
— Ram Sharan Mahat (@ramsmahat) July 1, 2014
पुवुदको सोमबार समयावधि सकिएपछि क्यानले आर्थिक अभावका कारण उनलाई ल्याउन नसकिएको बताएको थियो । यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पुवुदुलाई फिर्ता नबोलाए आफू राष्ट्रिय टिमबाट क्रिकेट नखेल्ने घोषणा गरिसकेका छन्।