स्वयंसेवा नगरी ट्रान्सक्रिप्ट नपाइने

२५ जेठ, काठमाडौं । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले एउटा तह पास गरेर ट्रान्सक्रिप्ट प्राप्त गर्न अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने भएको छ । यो प्रावधान उच्च माध्यमिक तहदेखि विद्यावारिधिसम्मका लागि लागू हुनेछ ।
शिक्षा मन्त्रालयले गठन गरेको राष्ट्रिय विकासका लागि स्वयंसेवा परिचालन सुझाव समितिले विद्यार्थीले दुई महिनादेखि एक वर्षसम्म अनिवार्य रुपमा स्वयंसेवा गर्नुपर्ने प्रावधानसहितको कार्यविधि मस्यौदा तयार पारी मन्त्रिपरिषद्मा पठाएको नयाँ पत्रिकामा खबर छ ।
सुरुमा सरकारी तथा निजी वा अन्य कुनै पनि माध्यमबाट छात्रवृत्ति वा अन्य सहयोग प्राप्त गरी अध्ययन गर्ने विद्यार्थीले राष्ट्रिय शिक्षा स्वयंसेवा पूरा गरेपछि मात्र ट्रान्सक्रिप्ट उपलब्ध गराउने प्रक्रिया सुरु गर्ने र सबैमा यो व्यवस्था कार्यान्वयन गर्दै जान सिफारिस गरिएको छ । राष्ट्रिय शिक्षा स्वयंसेवा कार्यविधि, ०७० को मस्यौदामा सेवाप्रति सकारात्मक भावनाकोविकास गर्न यस्तो व्यवस्था गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा छात्रवृत्तिमा अध्ययन गरेका र इच्छुक विद्यार्थीले अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ । अर्को चरणमा भने उच्च माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीले राष्ट्रिय सेवा गर्नुपर्नेछ ।

,