जेठो २१ वर्षपछि घर फिर्ता, माइलो अझै बेपत्ता

झापा : 'सपनामा गाउँ घर सबै बगाएको देखें। केही बाँकी रहेन। घरमा बिपत्ती आएको रहेछ भनेर म घरमा आएँ।' २१ बर्षपछि घर फर्केका गरामनी २ झापाका विष्णु घिमिरेले भने, 'घर आउँदा त सबै बद्लिएको रहेछ। घर नै ठम्याउन सकिन। मैले पढेको स्कुल छेउका मानिसलाई घिमिरेको घर सोध्दै आइपुगें।'


दुई दसकभन्दा बढी समय पत्तो नभएका विष्णु घर आउँदा उनका परिवारका सदस्यमा खुशियाली छाएको छ। जिउँदो नभएको भन्दै उनलाई सबैले माया मारिसकेका थिए। २०५० साल माघ २२ गते उनका छिमेकी वुद्धिमान रसाइली र हरि रसाइलीले कमाइ राम्रो हुने भन्दै विष्णु र उनका भाइ रुद्रलाई भारतको नोएडा पु:याएर बेपत्ता बनाएका थिए। तर उनका भाइको भने अझै अत्तोपत्तो छैन।

'भारत पुगेपछि काम गर्ने चक्करमा इधर उधर घुमें,' नेपाली बोल्दा पनि हिन्दी मिसाउने गरेका विष्णुले भने, 'हामी १३ दिनअघि करीब दिनको २ बजे आइपुग्यौं।' विष्णु घरबाट भारत भासिँदा १७ वर्षका थिए भने उनका भाइ रुद्र १५ वर्षका थिए। जस्ले उनलाई भारत पु:यायो ती मान्छेका बारेमा उनी केही टिप्पणी गर्न चाहँदैनन्। उनी भन्छन्, 'उनीहरूले भारत पुर्‍याउने वित्तिकै त्यहाँबाट कता गए थाह भएन। त्यसपछि त्यतै बस्दा बस्दै यत्रो समय वितेको पत्तै भएन।'

उनी घरमा आइपुग्दा घरका सदस्यले चिनेनछन्। उनी भन्छन्, 'घरमा आउँदा त कोही पानी मागेर खान आएका होलान् भने। तर ,भरे कुरा गर्दै जाँदा मात्र घरमा आमा तथा अरुले चिन्नुभयो।' जुन बेला उनी बेपत्ता भए त्यो बेला सम्पर्क गर्ने कुनै माध्यम नभएका कारण घरमा सम्पर्क गर्न नसकिएको उनले बताए। विष्णुले भने, 'त्यो बेला न फोन थियो न अरु कुनै माध्यम, कसरी सम्पर्क गर्नु र घरमा। अहिले जस्तो हात हातमा फोन भए त सम्पर्क भइहाल्थ्यो नि।'

आफ्नो घर वरपर सबै जंगल भएको त्यो बेलाको सम्झना गर्दै उनी अहिले प्राय जंगल मासिएर घर बनेकोमा आश्चर्यमा परेका छन्। उनी आएको थाह पाएपछि उनको घरमा पुग्दा उनी बाबुको काजकिरिया गर्न बसेका थिए। १३ बर्षअघि आफ्ना बाबुको निधनको खबर पनि उनले पाएका थिएनन्। उनले यसै साता घर आएपछि आफ्नो बाबुको काज किरिया गरेका हुन्। उनलाई हजुरबुबा तथा हजुरआमा त छैनन् होला तर बाबु त भेट्छु भन्ने लागेको थियो। ढिलै भएपनि आफ्नो बुद्धि फिरेको विष्णु बताउँछन्।

विष्णुले भारतमै हुँदा आफ्नो कम्पनीमा काम गर्ने साथीको माध्यमबाट महाकाली कन्चनपूरकी विष्णा रोकायासंग विहे गरे। आठ बर्षअघि विहे गरेका उनका छोरा र छोरी छन्। अहिले उनी श्रीमती, छोरा र छोरीसँगै घर आएका छन्।

आर्थिक विपन्नताकै कारण किशोर अवस्थामा भारत भासिएर परिवारले माया मारिसकेका २ छोरा मध्ये एकजना भएपनि घर आएपछि विष्णुकी आमा मनमायामा खुशीको सीमा रहेन। मनमायाले भनिन्, 'मैले मेरा छोराको अब मुख देख्न पाउँछु जस्तो लागेको थिएन। तर यस्ता दिन पनि आउँदा रहेछन्। अब त अर्का छोरो पनि घर आउँछ भन्ने विश्वास लागेको छ।' मनमायाका ३ छोरामध्ये विष्णु जेठा हुन्। माइला अझै बेपत्ता छन् भने कान्छा घरमै छन्। भारत भासिएका विष्णु र रुद्र भारत पुगेको ६ दिनपछि नै सम्पर्कबिच्छेद भएका थिए।

,