एसएलसी अनुर्तीण भएपछि तीन जनाले आत्महत्या गरे

प्रवेशिका परीक्षा (एसएलसी)मा अनुर्त्तीण भएपछि तीन जना छात्राले आत्महत्या गरेका छन् । बागलुङको ग्वालीचौर गाविस-८ की १६ वर्षकी वसन्ती घिमिरेेले शुक्रबार साँझ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

३१ जेठ, काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी)मा अनुर्त्तीण भएपछि तीन जना छात्राले आत्महत्या गरेका छन् । बागलुङको ग्वालीचौर गाविस-८ की १६ वर्षकी वसन्ती घिमिरेेले शुक्रबार साँझ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
खार माध्यमिक विद्यालय ग्वालीचौरबाट प्रवेशिका परीक्षा दिएकी घिमिरे आफ्नै घरको माथिल्लो तलामा आत्महत्या गरेको अवस्थ्ाामा फेला परेकी खार प्रहरी चौकीका इञ्चार्ज विष्णुप्रसाद लम्सालले जानकारी दिए ।
त्यस्तै सोचेअनुसार नतिजा नआएपछि रुकुमकी एक छात्राले आत्महत्या गरेकी छिन् । रुकुमकोट-६ छिप्रिदहिककी १५ वर्षकी रक्षा श्रेष्ठले एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको केही घन्टामै आत्महत्या गरेकी हुन् ।
सोह्र सय डायल गर्दा सिम्बोल नम्बर छैन भनेपछि उनले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् । लामो समयसम्म छोरी कोठाबाट बाहिर नआएपछि बुबा सत्यप्रकाशले कोठामा हेर्दा छोरीलाई झुन्डिएको अवस्थामा भेटाएको स्थानीयले जानकारी दिएका छन् ।
रुक्मिणी उच्च मावि रुकुमकोटकी विद्यार्थी श्रेष्ठले जनता उच्च मावि पोखरा परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।
यस्तै रुक्मिणी उच्च माविकी अर्की एक छात्राले पनि शनिबार बिहान आत्महत्या गरेकी छिन् । खलङ्गा-८ रातामाटा घर भई रुकुमकोटस्थित मावलीमा बसेर पढ्दै गरेकी १५ वर्षकी गंगा थापाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिहान मकै गोड्न गएका बेला रक्षाको शव हेर्न गएकी थापा त्यसलगत्तै झुन्डिएकी जनाइएको छ । उनी झुन्डिएको ठाउँ नजिकै फेला परेको कागजमा ‘मलाई रक्षाले बोलाएकी छे म त्यतै गएँ’ भनेर लेखिएको जनाइएको छ ।

,