बिहेको ऋण तिर्न नसक्दा बास उठ्यो, एकल महिलको बिचल्ली

१३ जेठ, बझाङ । विवाह गर्दा साहुबाट लिएको ऋण तिर्न नसकेपछि बादी समुदायका दुई व्यक्तिको घरमा ताला लगाइएको छ । साहुले गगन बादी र कित्थी बादीको घरमा ताला लगाएका हुन् ।

गगनले पाँच वर्षअघि साहु सानु सुनारबाट २० हजार रुपैयाँ लिएका थिए । कित्थीले भने लक्ष्मी सुनारबाट २५ हजार रुपैयाँ लिएकी थिइन् । उनीहरुले सोमबार गगन र कित्थीको घरमा ताला लगाएका हुन् । कित्थीको श्रीमानको मृत्यु भइसक्दा पनि बिहेको ऋण तिर्न नसक्दा उनको परिवारको बिचल्ली भएको नयाँ पत्रिकामा खबर छ ।
कित्थी माइती घर थलारामा विस्थापित भएकी छन् । कित्थीको श्रीमानको झन्डै दशक अगाडी नै मृत्यु भइसकेको छ । । उनले दुई छोराछोरीलाई दिदीको घरमा छोडेकी छिन भने एक जनालाई आफूसँगै लगेकी छन् ।
घरमा ताला लगाइ दिएपछि गगन भने दिदीको घरमा बस्दै आएका छन् । गगनले विवाह गर्दा लालपुर्जा राखेर साहुबाट २० हजार रुपैयाँ ऋण लिएका थिए । उनले भने, ‘साहुले व्याज जोडेर ६० हजार पुर्‍याएको रहेछ । ऋण तिर्न नसकेपछि घरमा आएर ताला लगाइदिए ।’ ताला लागेपछि आफ्नो बिचल्ली भएको उनको भनाई छ ।
घरमा ताला लागेपछि गगनको परिवारले आँगन मै खाना पकाएर विहान बेलुकाको छाक टार्दै आएका छन् ।