अन्य स्थानमा जस्तै लोड सेडिङ गर्न नपाएको भन्दै प्राधिकरणले नै बन्द गर्यो विद्युत उत्पादन

१३ चैत, काठमाडौ । अन्य स्थानमा जस्तै लोड सेडिङ गर्न नपाएको भन्दै नेपाल विद्युत प्राधिकरणले तेह्रथुम र धनकुटाका तीनवटा विद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरेको छ ।
विद्युतको उत्पादन र मागको सन्तुलनका लागि लोडसेडिङ गर्न तीन आयोजनाको विद्युत कटौती गर्न नपाएपछि प्राधिकरणले बेलुका ३ घण्टा विद्युत उत्पादन बन्द गरेको हो । प्राधिकरणको धनकुटा कार्यालयले पिलुवा खोला, तल्लो पिलुवा र हेवा जलविद्युत आयोजनाको विद्युत उत्पादन बेलुका ७ देखि १० बजेसम्मका लागि बन्द गरेपछि सर्वसाधारण मारमा परेका छन् ।

पिलुवा खोलाको तीन हजार किलोवाट, तल्लो पिलुवाको ४ सय ५० किलोवाट र हेवा खोलाको १ हजार २ सय किलोवाट गरी १ मेगावाट भन्दा धेरै विद्युत ३३ केभिए प्रशारणलाइनबाट धनकुटा हुँदै पुर्वतर्फ बितरण हुने गरेको थियो । विद्युत उत्पादन बन्द भए पछि पुर्व नेपालका तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटामा लोडसेडिङ सुरु भएको छ ।

स्थानीयले भने नियमित रुपमा उत्पादित विद्युतलाई अवरुद्ध पारेको भन्दै प्राधिकरणप्रति आक्रोस व्यक्त गरेका छन् । देशभर सञ्चालित ३८ वटा आयोजनाबाट वर्षायाममा ७ सय मेगावाट तथा हिउँदमा ५ सय मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । मुलुकभरबाट उत्पादित विद्युत भन्दा ५ सय मेगावाट बढी विद्युतको माग रहेका कारण दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

नेपाली हेडलाइनस बाट

,