हिन्दु राष्ट्र कायम गर्न धर्मयुद्ध, २ दिन नेपाल बन्द
५ असार, काठमाडौं ।
वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले नेपाललाई वैदिक सनातन हिन्दुराष्ट्र कायम नगरे छिट्टै धर्मयुद्ध गर्ने चेतावनी दिएको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले अनादिकालदेखि विश्वसामु परिचित एक मात्र हिन्दुराष्ट्र नेपाललाई कथित् केही नेताहरुले नै डलरको प्रलोभनमा परि धर्म निरपेक्ष राष्ट्र बनाएको स्मरण गराउँदै अब बन्ने संविधानमा वैदिक सनातन हिन्दुराष्ट्र नेपाल उल्लेख गर्नुपर्ने धाराणा राखेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले नेपाललाई २०६३ साल जेठ ०४ गते धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा राज्यलाई पटक–पटक हिन्दु राष्ट्र नै कायम गरियोस भनि मेचि–महाकाली कलश यात्रा, खुल्लामञ्च टुडिखेलमा भागवत पूराण र धार्मिक ज्ञान महायज्ञ लगाउने जस्ता शान्तिपूर्ण रुपमा आफ्ना माँगहरु राख्दा बेवास्ता गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रेको बताए ।
वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिका प्रवक्ता शमसेर बहादुर कार्कीले अनशन बस्दा, शान्तिपूर्ण ढंगले आफ्ना मागहरुको सम्वोधन गर्न पटक–पटक ध्यानाकार्षण गराउदा समेत राज्यले उदासिनता देखाएको भन्दै यस्तै उपेक्षा गरिरहे छिट्टै धर्मयुद्ध गर्ने चेतावनी दिएका छन् । कार्कीले अब हुने धार्मिक युद्ध माओवादीको युद्ध भन्दा ठूलो युद्ध हुने उद्घोष गरेका छन् ।
त्यस्तै कार्यक्रममा महिला धार्मिक नेत्री एवम् संयुक्त संघर्ष समितिकी भण्डारण व्यवस्थापक राधादेवी रिमालले पनि पटक–पटक आफूहरुले धर्यताका साथ मागहरु राज्य समक्ष राख्दै आउदा राज्यले जहिले पनि उपेक्षा गरेको भन्दै छिट्टै युद्ध भुमिमा होमिइसकेको बताईन् । उनले भनिन्– यो महान कार्यमा सवै हिन्दु धर्म पे्रमीहरुलाई सहभागी हुन आह्वान समेत गर्दछु । रिमालले दिनदाहाडै परधर्मी क्रृश्चियनहरुले आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गरेकोमा राज्यले कुनै चासो नदेखाएकोमा आक्रोश पोखेकी थिईन् । वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले श्री श्री नीवासाचार्यको संयोजकत्वमा १२३ सदस्यीय कार्यसमिति विस्तार गरेको छ ।
