मलेसिया जाने कामदारले स्वास्थ्य परीक्षण शुल्क १४ हजार तिर्नुपर्ने

२९ जेठ, काठमाडौं । मलेसिया जाने नेपाली कामदारलाई बायोमेट्रिक प्रणालीबमोजिम स्वास्थ्य परीक्षण लागू गरे स्वास्थ्य परीक्षण शुल्क १४ हजार रुपैयाँसम्म पुग्ने दाबी व्यवसायीहरुले गरेका छन् ।

बायोमेट्रिक प्रणालीको नियमबमोजिम प्रक्रियागत हिसावले बढी समय लाग्ने भएकाले नेपाली कामदारले कम्तीमा पनि २ पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिएको नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनले जनाएको छ ।

‘कामदारले अन्तर्वाता दिइसकेपछि स्वास्थ्य परीक्षण हुन्छ, त्यसपछि भिसा प्रक्रिया सुरु हुन्छ । बायोमेट्रिक प्रणालीमा भिसा आउन ८० दिन लाग्ने देखिन्छ,’ एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, ‘तर, मेडिकलको वैध अवधि २ महिनाको हुन्छ । भिसा आइसकेपछि पनि कामदारले पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।’

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको विशेषज्ञ समितिले मेडिकल शुल्क वृद्धि गरेर ५ हजार ५ सय रुपैयाँ पुर्‍याउने तयारी गरेको कारोबार दैनिकमा खबर छ । कामदारले २ पटक स्वास्थ्य परीक्षण गर्दा ११ हजार रुपैयाँ लाग्छ ।

बायोमेट्रिकको प्रयोग गरेबापत प्रत्येक कामदारले १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । स्वास्थ्य परीक्षण २ पटक गर्दा बायोमेट्रिकको सफ्टवेयर चार्ज पनि २ पटक तिर्नुपर्छ । यही कारणले कामदारको लाग्ने लागत ह्वात्तै बढेर १४ हजार पुग्ने अध्यक्ष श्रेष्ठको दाबी छ ।

यो रकम हालको भन्दा करिब ६ गुणा बढी हो । मलेसिया जान नेपाली कामदारले अधिकतम २ हजार ५ सय रुपैयाँ तिरे पुग्छ ।

,