यसरी ठग्छन बेरोजगार युबालाई ! होसियार रहनुहोस्

देशमा लाखौँ युवा बेरोजगार छन्। उनीहरू निराश छन्, उदास छन्। के गर्ने, कहाँ जान्ने ? भयानक अन्योलमा छन्। र, यस्तोमा कुनै कम्पनीले आकर्षक तलब भएको जागिरको विज्ञापन गर्छ। घरमै बसेर टन्न कमाउन सकिने प्रलोभन दिन्छ। बेरोजगारहरू आशाको झिल्को पछ्याउँदै त्यहाँ पुग्छन्। उनीहरूलाई सशुल्क फारम भर्न लगाइन्छ, सशुल्क तालिम लिन लगाइन्छ। अनि भुलाइन्छ र झुलाइन्छ। शैक्षिक प्रमाणपत्र धरौटी राखेर झोलाभरि सामान हालेर गल्लीगल्लीमा बेच्न पठाइन्छ। महिना मर्छ, तर तलब दिइँदैन। राजधानीमा अहिले केहीका लागि नयाँ रोजगारी सिर्जना भएको छ। त्यो हो– बेरोजगार ठग्ने। अम्मर जिसीले बेरोजगारको भेषमा यो धन्दाको खोजीनिती गरेका छन्। 

एक दैनिक पत्रिकामा छापिएको विज्ञापनले आकर्षित गर्‍यो, सिन्धुपाल्चोकका सर्वजीत रावत (२८) लाई। मासिक ३३ हजार तलब पाउने सपना देखेर 'नेतृत्व विकास' तालिम लिए। नयाँ बानेश्वरको इन्टरनेसनल फर्वार्ड नामक कम्पनीले उनलाई सुरुमै पाँच सयको फारम भरायो। त्यसपछि 'तालिम लिए जागिर पक्का' भन्दै पाँच हजार रुपैयाँको तालिम पनि गरायो। 'उतिबेला अफिसमै बसेर आठ घण्टा काम गरे ३३ हजार दिन्छु भन्यो। अहिले त हामीले भनेजति सामान बेचेमात्र पूरा तलब दिने भनेर कुरा फेर्‍यो,' अहिले उनी पछुताएका छन्, 'दुई महिना खेरै गयो। पकेट खर्च पनि गुमाइयो। अब त त्यस्ता कम्पनीमा भुलेर पनि छिर्दिनँ।' '९९ कर्मचारी आवश्यक। मासिक २१ हजार देखि ३९ हजार तलब। यातायात, खाना र खाजा खर्च छुट्टै।' एक राष्ट्रिय दैनिकमा छापिएको विज्ञापन पछ्याउँदै चाबहिलस्थित 'इन्टरनेसनल आईटी मार्केट' पुगेका रोज शाही (२३) सशुल्क फारम भरेर सीधै अन्तर्वार्ता दिन तम्से। कम्प्युटरको बेसिक कोर्स मात्र गरेका थिए उनले। 'इन्टरनेटको राम्रो ज्ञान भयो भनेमात्र पूरा तलब पाइन्छ' भनियो अन्तर्वार्तामा। त्यसका लागि के गर्ने त ? उनलाई सात दिनको कोर्स गर्न सुझाइयो। तीन हजार रुपैयाँ तिरेर कोर्स गर्दा त्यत्रो कमाइ हुन्छ भने को पछि पर्ला ? कोर्स सकेपछि उनलाई एक वेबसाइटमा 'क्याप्चा वर्ड' टाइप गर्न दिइयो। हजार शब्द टाइप गरे, एक डलर कमाइ। सुरुका केही दिन त्यही डलरले दंग पा¥यो उनलाई। प्रत्येक दिन साँझ एक–डेढ सय रुपैयाँ बुझ्दैमा मक्ख थिए उनी। मासिक दुईतीन हजार कमाउँदैमा तीन महिना बित्यो। दिनभरि काम गरेर एक–डेढ सय ! 'पछि त त्यही पैसा पनि भोलिभोलि भनेर दिनै छाडियो,' बल्ल घैँटोमा घाम लागेको बताउँदै उनले भने, 'उनीहरू त ठग पो रहेछन्। काम गरेको पैसा पनि नदिने। सपना भने ३०–४० हजारको देखाउने। खाना, खाजा, यातायात खर्चको त कुरै छैन। हामी दिनभरि दुःख गर्ने। मालिकले आफ्नै खातामा पैसा जम्मा पारेर हामीलाई चारो हालेजस्तो मात्र गर्ने।' अहिले उनी काम गर्न छाडेर पुरानो पैसा असुल्ने दाउमा छन्। रोजको पीडाबारे बुझ्न कार्यालय पुग्दा त्यहाँको हाकिम बताउने रामकुमार बैदारले उल्टै थर्काए। 'हाम्रो व्यवसायमा डिस्टर्ब गर्ने तपाईं को हो ?' उनी झर्के, 'उसले टार्गेट मिट गर्न सकेन। काम गर्न अल्छी गरेपछि बाँकी पैसा पनि नदिएको हुँ।' उनले आफ्नो अफिसले इन्टरनेटबाट संसारका जुनसुकै कुनाका काम गर्ने अवसर जुटाइरहेको दाबी गरे। 'नेपालका बेरोजगारहरूलाई काम दिएकै पच्दैन। काम पाएनौँ मात्र भनेर कचकच !' उनी नेपालको बेरोजगारी घटाउन आफूले ठूलै संघर्ष गरेको बताउन पछि पर्दैनन्, 'दुईचार हजार खर्चेर हजारौँ कमाइन्छ भने किन कन्जुस्याइँ गर्ने ?' कार्यालयको प्रयोगात्मक कोठामा 'दुईचार' हजार तिरेका १० जनाभन्दा बढी युवायुवती मासिक ३०–४० हजारको सपना बुन्दै कम्प्युटरमा भुलिरहेका थिए। अनलाइन र अफलाइन जबकै आश्वासन दिएर ठग्ने कम्पनीविरुद्ध केहीअघि झापाका विद्यार्थीहरूले पत्रकार सम्मेलन गरेका थिए। सेलो नामको कम्पनीले मासिक ७० हजारको लोभ देखाएर १५ हजार तिराएर तालिम गरायो। दैनिक डेढ सयमात्र कमाउन सकेपछि विद्यार्थीहरू आक्रोशित भएका थिए। पत्रिकाको विज्ञापनलाई पछ्याउँदै 'अनलाइन जब'को आशमा धाउँदाधाउँदै थाकिसकिन्, बुटवलकी कामना राना (२९)। 'कम्प्युटरमा डिप्लोमा कोर्स गरे जागिर पक्का' भनेर उनलाई एक कम्पनीले पाँच महिना झुलायो। पाँच हजार तिरेर कोर्स गर्दा उनको हात लाग्यो शून्य। 'अरू कति ठाउँमा गइयो, गन्ती नै छैन। आवेदन फारम र कोर्स गर्दागर्दै भएको २० हजार पनि सकियो,' उनले भनिन्, 'पत्रिकामा जागिर फालाफाल खुल्छन् भनेर राजधानी आइयो। जताततै ठगका फेला पर्नुभन्दा त घरै फर्किने तयारीमा छु।' विज्ञापनमात्रै दिएर कम्पनी चलाउनेहरू उनले चिनिसकिन्। भन्छिन्, 'कर्मचारी चाहियो भनेर विज्ञापन गर्ने। फारम शुल्क र कोर्स गराउने भनेर पैसा असुल्ने। जागिरसागिर केही पाइने होइन।'

पुरा पढ्न यहाँ क्लिक गर्नुहोस् 

, ,