चिसोमा ध्यान दिनैपर्ने कुराहरु || अवस्य पढ्नुहोस्

चिसोमा छालाको स्याहार
__________________

मौसममा हुने परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। जाडो मौसमको चिसो हावामा नमीको कमी हुने भएकाले छाला सुख्खा हुन्छ। घरमा बढी समय बिताउँदा, घरभित्रको वातावरणले छालाको प्राकृतिक नरमपन सोसेर छालालाई सुख्खा बनाउँछ। यद्यपि जाडोमा पनि स्वास्थ्य छाला प्राप्त गर्न सकिन्छ।

साबुनको प्रयोगबाट जोगिनुपर्छ

साबुनमा भएको रसायनले मुहारमा लागेको धुलो तथा माटोका कणलाई हटाउनुका साथै मुहारको नरमपन पनि रित्याउँछ। छालालाई प्राकृतिक रूपमै एउटा सुरक्षात्मक तेलको आवश्यकता हुन्छ। जाडोमा मुहारमा साबुन प्रयोग गर्नु भनेको मुहारको छालाको प्राकृतिक नरमपन रित्याउनु हो। यतिबेला साबुनको साटो नरम खालको क्लीजिङ लोसन वा क्लीजिङ क्रिमको प्रयोग उपयुक्त हुन्छ। नुहाएपछि छालाको पोषणका लागि मोइश्चराइजर प्रयोग गर्नुपर्छ।

मृत कोषिका हटाउनुपर्छ

छालाको मृत कोषिकाहरूको माथिल्लो तह हटाउन अत्यन्त आवश्यक छ। जब हाम्रो छाला सुख्खा हुन्छ, तब हामी क्रिम लगाएर त्यसलाई सन्तुलित गर्छौं। सुख्खा छालाको अर्थ हुन्छ शरीरमा सुख्खा कोषिकाहरू बन्न थालेका छन्। त्यसैले सातामा एक पटक शरीरको यो माथिल्लो तहलाई उतार्नु आवश्यक छ। त्यसपश्चात् मोइश्चराइजर प्रयोग गर्नुपर्छ।

मोइस्चराइजर

जाडो याममा छालाको हेरचाह गर्न मुहारमा मोइश्चराइजरलाई राम्रोसँग प्रयोग गर्नुपर्छ। जाडो मौसममा प्रयोग गरिने मोइश्चराइजर गर्मीमा प्रयोग गरिनेभन्दा बढी प्रभावकारी हुनुपर्छ। क्लिजिङ क्रिमले छाला सफा गरेपश्चात् नमी प्रदान गर्न घरमै बनेको प्याक प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसका लागि एक ठूलो चम्चा बदामको तेल  प्रयोग गर्न सकिन्छ। यसको प्रयोग दैनिक रूपमा राति सुत्नुभन्दा अघि मुहार, घाटी र हातमा गर्नुपर्छ। यसबाट जाडोमा छालालाई कान्तिमय र कोमल राख्न सहयोग प्राप्त हुन्छ।



चिसोमा बस्ने बढी स्वस्थ
___________________
पछिल्लो अध्ययन अनुसार, चिसो हावापानीमा बसोबास गर्नेहरू गर्मी ठाउँमा बस्नेहरूको तुलनामा बढी स्वस्थ हुन्छन् । 'डायबिटिज जर्नल' मा प्रकाशित अध्ययनमा भनिएको छ— चिसो वातावरणले शरीरमा ब्राउन फ्याटलाई बढाउँछ, जुन मधुमेह र मोटोपना जस्ता रोगबाट जोगाउन सहायक हुन्छ ।

कुनै पनि व्यक्तिमा ब्राउन फ्याटको कमी वा वृद्घि बसोबास स्थलको वातावरणमा निर्भर हुने गर्छ । चिसो मौसमले यसलाई बढाउँछ भने गर्मी हावापानीले नष्ट गर्छ । यसअघि गरिएका अध्ययनहरूले पनि के प्रष्ट पारेका थिए भने, ब्राउन फ्याटको मात्रा बढी भएका मानिस दुब्लापातला हुन्छन् र उनीहरूको रगतमा चिनीको मात्रा पनि कम हुन्छ । चिसोले मानिसको शरीरमा ब्राउन फ्याटको मात्रा ३० देखि ४० प्रतिशतसम्म बढाउन सक्छ ।

उक्त अध्ययन अन्तर्गत पाँचजना स्वस्थ व्यक्तिलाई चार महिनासम्म १९ डिग्री सेल्सियसदेखि २७ डिग्री सेल्सियससम्मको निर्धारित तापक्रममा राखिएको थियो ।

सहभागीहरू दिनभर सामान्य जीवन व्यतीत गरेपछि राति करिब दस घन्टा तापक्रम नियन्त्रित कक्षमा बस्ने गरेका थिए । चिसोमा बस्दा उनीहरूको शरीरमा ब्राउन फ्याट बढेको पाइयो भने गर्मीमा बस्दा घटेको पाइयो ।



बदलिंदो जीवनशैलीका कारण चिसो मौसममा हृदयघात बढ्न थालेको छ।
______________________________________________________
काठमाडौं, साँखुका सुरज महर्जन (२३) लाई २१ पुसको बिहान ओछ्यानमै हातखुट्टा कठ्याङ्ग्रिने, रिंगटा लाग्ने र छाती दुख्ने समस्याले गाँज्यो। साँझ्मा सञ्चै सुतेका उनलाई एक्कासी त्यस्तो हुँदा परिवारजनले तातो खानेकुरा खुवाए, तर केही सुधार भएन। त्यसपछि विभिन्न अस्पताल हुँदै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका महर्जनलाई निमोनियासँगै हृदयघात भएको पत्ता लाग्यो।
“छातीको आधा भाग निकै दुखेको थियो”, पाँच दिन अस्पताल बसेर २७ पुसमा डिस्चार्ज भएका महर्जन भन्छन्, “दुई हप्तापछि फलोअपमा बोलाएको छ।” चिसो मौसममा हृदयघात हुन्छ भन्ने थाहा नपाएका महर्जनले यसलाई बूढाबूढी र मोटा मानिसहरूको समस्या ठानेका थिए। ४० वर्षसम्म जे खाँदा पनि पचाइन्छ भन्ने सोचका कारण युवा पुस्तामा मुटुको समस्या बढ्न थालेको हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्मा बताउँछन्। उनका अनुसार, उच्च रक्तचाप र हृदयघात भएर अस्पताल पुग्नेमध्ये धेरैजसो युवा धुम्रपान र मध्यपानको अम्मली छन्।

एकाबिहानै छाती दुख्न थालेपछि काठमाडौं, मालीगाउँका टेकहरि शर्मा (७६) ले घरायसी उपचार गरे। त्यसबाट निको हुनुको साटो ज्वरो र रूघाखोकी समेत थपिएपछि गंगालाल हृदय केन्द्र पुगेका शर्मालाई ६ वर्षअघिकै समस्या बल्झिएको देखियो। २०६४ सालमा हृदयघात भएर एन्जियोप्लाष्टी (साँघुरो भएका कोरोनरी रक्तनलीहरू खुलाउने उपचार विधि) गरेका शर्मालाई जोगिंदा जोगिंदै पनि चिसोले समस्या फर्काएको थियो।

छाती दुख्ने, पेट पोल्ने जस्ता समस्या बढ्दै जाँदा ग्याष्ट्रिकको औषधि खाएका सिलगुडीका जोसेफ क्षेत्री (६७) लाई हृदयघात भएको पत्तै भएन। १७ पुसमा दुखाइ बढेर सिलगुडीकै अस्पताल पुगेका उनलाई हृदयघात भएकोले सर्जरी गर्नुपर्ने भनियो। काठमाडौंको नर्भिक अस्पतालमा गत साता वाईपास सर्जरी गराएका क्षेत्रीले मधुमेह, उच्च रक्तचाप जस्ता समस्या नभए पनि मुटु रोग लागेको बताए। “जे खाँदा पनि पच्ने चिसो मौसममा यस्तो समस्या आइलाग्यो”, क्षेत्री भन्छन्।

छाती दुख्दा धेरैले ग्याष्ट्रिकको औषधि खाएर मुटु रोग बढाएको बताउने नर्भिक अस्पतालका डा. भरत रावत जाडो याममा चाडपर्व पनि धेरै हुने भएकाले खानपानले रक्तचाप बढाएको बताउँछन्। खानपानमा ध्यान नदिंदा शरीरमा नुन र कोलेस्टेरोलको मात्रासँगै रक्तचाप बढेर हृदयघात हुन्छ। “जाडो याममा बिहान ४ देखि १० बजेको बीच हृदयघात हुने सम्भावना बढी हुन्छ”, हिउँदमा मुटुको समस्या लिएर आउने बिरामीको संख्या २५ प्रतिशत बढ्ने अनुभव सुनाउँदै डा. रावत भन्छन्, “त्यसकारण जाडोमा रक्तचापमा विशेष ध्यान दिनुपर्छ।”

नियमित स्वास्थ्य परीक्षण
___________________
गंगालाल हृदय केन्द्रका निर्देशक डा. मनबहादुर केसीका अनुसार, जाडो महीनामा स्वस्थ व्यक्तिको पनि रक्तचाप एक्कासी बढ्ने भएकाले हृदयघात सम्बन्धी समस्या बढ्छ। गर्मीमा सामान्य रहेको रक्तचाप जाडोमा बढ्दा अस्पताल आउनुको साटो मानिसहरू 'मर्निङ वाक' मा निस्केर हृदयघातको शिकार भएको डा. केसी बताउँछन्। “हृदयघात घटाउने उपाय भनेको नियमित स्वास्थ्य परीक्षण र स्वस्थकर जीवनशैली नै हो”, डा. केसी भन्छन्।
केन्द्रका वरिष्ठ विशेषज्ञ डा. शर्माका अनुसार, हृदयघात भएको एक घण्टाभित्र एकतिहाइ बिरामीको मृत्यु हुन्छ। यो अस्पताल पुग्न नपाउने संख्या हो। अस्पताल पुगेका पनि १०० मध्ये ९० जनालाई मात्र बचाउन सकिन्छ। मानिसको जीवनशैली परिवर्तनले यस्तो स्वास्थ्य समस्या ल्याएको डा. शर्मा बताउँछन्। वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी जीवनशैलीकै कारण हृदयघात जस्ता नसर्ने रोगले युवालाई पनि सताउन थालेको बताउँछन्।

नियमित स्वास्थ्य परीक्षण र त्यही अनुसारको जीवनशैली नै मुटु रोगबाट टाढा रहने उपाय भएको डाक्टरहरू बताउँछन्। उनीहरूका अनुसार, हृदयघातबाट जीवन गुमाउने अधिकांश युवाले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिने डा. रेग्मी बताउँछन्। त्यसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न सघाउँछ। त्यसरी ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै गएर मुटुमा रगत सञ्चार गराउने नसा बन्द भएर हृदयघात हुन्छ।
धुम्रपानले क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छ, तर यो हृदयघातको पनि कारण हो भन्ने अहिले खुल्दैछ। डाक्टरहरूका अनुसार, सुर्तीजन्य पदार्थमा हुने निकोटिन, कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, टार लगायतका तत्वले हृदयघात बढाएको छ। मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले त चुरोट खानै हुँदैन।

गंगालाल हृदय केन्द्रका शल्यक्रिया विभाग प्रमुख डा. ज्योतिन्द्र शर्माका अनुसार मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको रगतको नली चिसो मौसममा रोकिने सम्भावना बढी हुन्छ। त्यही कारण जाडो मौसममा बाइपास सर्जरी र एन्जियोप्लाष्टी गर्नेको संख्या बढ्ने डा. शर्माले बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को एक अध्ययनले सन् २०२० सम्ममा दक्षिण एशियामा मुटुरोग महामारीका रूपमा फैलन सक्ने चेतावनी दिएको छ।

यो चेतावनीलाई ध्यानमा राखेर गत एक दशकदेखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रूपमा मनाउन थालिएको छ। मे २०१२ को ६५औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी विश्वका १९४ राष्ट्रले मुटु, रक्तसंचार, मधुमेह, क्यान्सर, जीर्ण खालका श्वास प्रश्वास समस्या लगायतका रोगबाट हुने मृत्यु २०२५ सम्ममा २५ प्रतिशत घटाउने प्रतिबद्धता जनाएका थिए। यी रोगबाट वर्षेनि करीब साढे ३ करोड मानिसको मृत्यु भइरहेको छ। यसमध्ये आधाजसो मृत्युको कारक मुटुसँग सम्बन्धित रोग छ।

जाडोमा हृदयघात

४–१० बजे बिहान हृदयघातको सम्भावना बढी

२५% ले जाडोमा मुटुको समस्या बढ्छ


चिसोमा कपालको स्याहार
___________________
म्यानेजिङ डाइरेक्टर, फेसियल हाउस, पसल नं. ४३२

चौथो तला, काठमाडौं मल

देशव्यापी रूपमा अहिले जाडो चम्केको छ । हिमालमा हिउँ पर्ने, पहाडमा तुसारो पर्ने र तराईमा शीतलहरले चिसो पानी चुहिने गरेको छ । यस्तो अवस्थामा बढ्दो चिसोले शरीरको छालालाई जति असर पार्छ, त्यत्तिकै असर कपाललाई पनि पार्दछ । अर्कोतर्फ जाडोमा कपाल खुला राखेर विभिन्न स्टाइल दिन पनि गाह्रो हुन्छ । सोही कारण गर्मीमा जस्तो कपाललाई विभिन्न डिजाइनमा प्रस्तुत गर्न गाह्रो हुन्छ । जाडोमा तातो पानीले कपाल धुने तथा नुहाउने गर्दा कपाल बिग्रने समस्या झेल्नुपर्छ । चिसोका कारण जाडोमा कपालको प्राकृतिक चमक हराउनुको साथै सुक्खा हुने गर्छ । पानी चिसो हुनेजस्ता समस्याले सेम्पु राम्ररी नपखालिँदा तथा चिसोका कारण टाउकाको छालामा सेतो पाप्रा आउने र त्यो चाया बन्ने गर्दछ । चायाले कपाललाई जरादेखि नै कमजोर बनाउँछ । चिसोले टाउकोमा रक्तसञ्चार समेत कम भइरहने हुँदा कपाल कमजोर हुन्छ । हामीले जाडोमा कपाललाई बढी नै हेरचाह गर्नुपर्छ । यो मौसममा कपाललाई रुखो हुन र टुक्रिएर झर्नबाट जोगाउन अक्तिरिक्त पोषण, मोस्चर दिनुपर्छ ।

चिसोले कपालमा निम्त्याउने समस्या

प्राकृतिक चमक हाउने तथा सुक्खा र फुस्रो हुने

चाया पर्ने

कपाल टुक्रिएर झर्ने

बढी चिलाउने

जराबाटै उखेलिने

जाडोमा सेम्पु र कन्डिस्नरको प्रयोग

जाडोमा दैनिक सेम्पुले टाउको नुहाउनुहुँदैन । हप्ताको दुई पटकसम्म सेम्पुले टाउको नुहाउनु राम्रो हुन्छ ।

कपाललाई सफा राख्न गुणस्तरीय सेम्पुको प्रयोग गर्नुपर्छ । किनकि, गुणस्तरहीन सेम्पुको प्रयोगले कपाल सुक्खा हुने र टुक्रिने गर्दछ ।

यसरी सेम्पु लगाएर कपाल नुहाएपछि गुणस्तरीय कन्डिस्नर कपालमा लगाउनुपर्छ । केही क्षणपछि कन्डिसनर राम्ररी जाने गरी कपाल नुहाउनुपर्दछ ।

जाडोमा कपाल नुहाउँदा सेम्पु तथा कन्डिस्नर राम्ररी पखालिएन भने त्यो फुस्रो एवं सेतो चायामा परिणत हुन्छ । त्यसैले, सेम्पु र कन्डिस्नर राम्ररी पखाल्न आवश्यक छ ।

यदि चाया परेको खण्डमा नुहाउनुअघि चाया झर्ने गरेर कपाल कोर्ने र एन्टी डेन्ड्रप उपचार गर्ने ।

चिसोबाट कपाल जोगाउने तरिका

कपालको अवस्था हेरेर यसलाई नरम बनाइराख्न ब्युटिसियनको सल्लाहअनुसार कपालको स्टिम (बाफ) लिने ।

चिसो स्याँठ चलेको ठाउँमा कपाल खुला राखेर नबस्ने ।

जाडोमा चिसोबाट कपाललाई जोगाउन तथा कपाल चिसो हावाले सुक्खा र रुखो हुन नदिन टाउकोमा स्कार्फ, टोपी लगाउने तथा गलबन्दी, मजेत्रो आदि बाँध्ने गर्नुपर्छ ।

यसरी कपाल बाँधेर राख्दा तेलग्रन्थी बढी सक्रिय हुन गई कपाल तैलीय बन्दछ र सुक्खा हुन पाउँदैन ।

चिसोमा जाँडरक्सी सेवन झनै हानिकारक
_____________________________
चिसो र शीत लहरका कारण बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा बढी समस्या देखिने हुँदा सचेत हुन चिकित्सकले सुझाव दिएका छन् । बालबालिकामा विशेष गरी निमोनिया, कोल्ड डायरिया साथै श्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्ने तथा वृद्धवृद्धामा पनि श्वास्वप्रश्वास सम्बन्धी समस्या तथा कठ्याँङ्ग्रिएर ज्यानै जान सक्ने हुँदा विशेष ध्यान दिनुपर्नेमा चिकित्सकले सुझाव दिएका हुन् ।
विशेष गरी कुपोषण भएका तथा रक्सी खाने व्यक्तिमा चिसोका कारण कठ्याङ्ग्रिएर ज्यान जान सक्ने संभावना बढी हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताउनुभयो । कुपोषण भएका व्यक्तिको शरीरमा चिल्लो पदार्थ अर्थात फ्याटको कमी हुने हुँदा शरीरको तापक्रम सन्तुलन राख्न नसक्दा उनीहरु चिसोबाट बढी प्रभावित हुने उहाँको भनाइ छ ।
विशेष गरी तराईको सुनसरी र रौतहट जिल्लामा बालबालिकामा कुपोषणको दर बढी भएकाले त्यहाँ शीतलहरबाट बालबालिका बढी प्रभावित हुन सक्ने उहाँले बताउनुभयो । तराईका कैलाली, कन्चनपुर तथा सप्तरीमा गत वर्ष १७ जनाले ज्यान गुमाएका थिए ।
यस्तै शरीर तताउन भन्दै चिसोमा जाँडरक्सी खानु पनि जोखिमयुक्त रहेको उहाँले बताउनुभयो । जाँडरक्सीले शरीरको तापक्रम घटाउने साथै बढी पसिना र तरलपदार्थ बाहिर गएर शरीरलाई चिसो बनाएर कठ्याँग्रिएर ज्यान जान सक्ने उहाँको भनाइ छ ।

यो जानकारी निम्न अनलाइन मिडियाहरुबाट सभारित गरिएको छ ।
http://ujyaaloonline.com/news/38658/winter-health/
http://www.rajdhani.com.np/article/0241564001418275713
http://nepalihimal.com/article/2236
http://www.ekantipur.com/saptahik/article/?id=13175
http://www.ekantipur.com/np/2071/3/21/full-story/391885.html

, ,