लोग्नेले मुन्टो बटारेर हत्या गरे, परिवारका अरुले खाल्डोमा हालेर जलाए

मोरङ, कात्तिक १७– रातको समय । गाउँ नै चकमन्न, कोही नभएको जस्तो ।  छिट्टै रात पर्ने समय भएर पनि होला गाउँले सबै सुतिसकेका थिए । त्यसैले रातमा भएको घटना कसैले थाहा पाएनन् । घटना गएको कात्तिक १० गते रातीको हो । तिहार सकिएलगत्तै गाउँमा सबै छठ पूजाको तयारीमा जुटेका थिए । १२ गते परेको छठ पूजा गर्नको लागि मोरङको  बुधनगर गाबिस ४ का कोही ब्रतको तयारीमा थिए भने कोही सरसफाईमा ।
स्थानीय मिरादेबी शर्मा पनि छठ पूजाको तयारीमा हुनुहुन्थ्यो । १० गते राती मिरादेवीलाई श्रीमान चन्दन शर्माले गाली गर्दै कुटपीट गरे । पहिला पनि पटक पटक दाईजो मागेर तनाव दिँदै आएका चन्दनले मिरादेवीलाई चार थप्पड गालामा हाने, अनि भुईंमा लडेपछि मुन्टो बटारेर हत्या गरे ।






‘बुबाले पहिला आमालाई चार थप्पड हान्नुभयो’ छोरा १० बर्षिय रामचन्द्र शर्माले प्रहरीलाई दिएको वयानमा उल्लेख छ, ‘आमा भुईंमा लडेपछि मुण्टो बटार्नुभयो ।’
चन्दनले हत्या गरेको भएपनि घटना लुकाउने काममा परिवारका सबै सदस्य संलग्न रहेको प्रहरीले जनाएको छ । मिरादेवीको हत्या गरेर त्यही रात नजिकै खाल्डो खनेर शव जलाइएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
१० गते राती नै खाल्डो खनेर सबै परिवारका सदस्य मिलेर जलाएकाले त्यो दिन घटना बाहिर आएन । तर गस्तीमा जाने क्रममा घटनाबारे थाहा भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।






‘हत्या गरेको ठाउँ लिपेको अवस्थामा फेला प¥यो’ प्रहरी निरीक्षक खनालले भन्नुभयो, ‘त्यसैले हत्यामा परिवारका सबै सदस्य संलग्न हुन सक्छन् ।’
प्रहरीले हत्याको आरोपमा मिरादेवीकी सासु बिन्दा शर्मा र जेठानी सरितादेवी शर्मालाई पक्राउ गरेको छ । श्रीमान चन्दन शर्मा, जेठाजु देवानन्द शर्मा, ससुरा महेन्द्र शर्मा, देवर प्रकाश शर्मा र दिपक शर्मा भने फरार छन् । उनीहरु भारत तर्फ भागेकाले भारतीय प्रहरीको सहयोगमा खोजी भैरहेको प्रहरीले जनाएको छ ।

,