एक्लै यार्सा टिप्‍न जानेसँग बोल्दा एकलाखसम्‍म जरिबाना

मुगु : मुगु गाविस-६ का एक व्यक्ति गाउँलेलाई छलेर एक्लै यार्सागुम्बा टिप्न लेकतिर गएको आरोपमा उनीसँग बोल्ने व्यक्तिले पनि जरिबाना तिर्नुपर्ने भएको छ। स्थानीय कार्मा काङ्डोल लामा सहमतिविपरीत एक्लै यार्सा टिप्न गएको भन्दै गाउँलेले उनीसँग बोलचाल गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना तिराउने उर्दी गरेका हुन्।

गत जेठमा गाउँलेबीच सबैजना एकैपटक यार्सा टिप्न जाने सहमति भएको थियो। तर कार्मा सहमतिविपरीत अगाडि नै र्या टिप्न गएको आरोप लगाउँदै गाउँलेले उनलाई जरिबाना तिराउन खोजेका थिए। आफूले कुनै गल्ती नगरेको भन्दै उनले जरिबाना नतिर्ने बताएपछि गाउँलेले उनीविरुद्ध जिल्ला वन कार्यालयमा वन्यजन्तु र जडीबुटी चोरीनिकासी अभियोगमा मुद्दा हालेका थिए।

अहिले उनीसँग बोल्ने र उठबस गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्ने घोषणा गाउँलेले गरेका छन्। त्यसको कार्यान्वयन पनि सुरु भइसकेको छ।

कार्मासँग फोनमा कुरा गरेको भन्दै गाउँलेले स्थानीय पेमा तोर्ची लामालाई ५० हजार र उनका नाता पर्ने अर्का एक स्थानीयलाई ६० हजार रुपैयाँ जरिबाना गरेका छन्। त्यस्तै आफ्ना घरमा सहयोगी रहेका त्याक्याप कामीलाई समेत गाउँलेले ५० हजार रुपैयाँ जरिबाना गराएको उनले बताए।

चीनसँग सीमा जोडिएको मुगु गाविसमा कुनै व्यक्ति गाउँका समुदायबाट फरक हुन चाहेमा गाउँलेको स्वघोषित नियमअनुसार सजायको भागीदार हुनुपर्छ। उस्तै परे गाउँलेले गाउँनिकालासम्म गर्ने चलन रहेको स्थानीय बासिन्दाले बताए।

कार्माकी पत्नीसँग मिलेर सिरानीचौरमा पसल सञ्चालन गरेको भन्दै स्थानीय टोमा लामालाई एक लाख रुपैयाँ जरिबाना गराउने सहमति गाउँलेबीच भएको छ। गाउँमा हुने यस्ता गतिविधिबारे कसैलाई जानकारी गराउँदा गाउँनिकाला हुने डरले चित्त नबुझे पनि चुप लागेर बस्नुपर्ने बाध्यता रहेको एक स्थानीय बासिन्दाले बताए।

अघिल्लो वर्ष पनि यार्सा खोज्न अगाडि नै वन प्रवेश गरेको भन्दै कार्मालाई गाउँलेले २२ लाख रुपैयाँ जरिबाना तिराएका थिए। कर्माले भने, 'यस वर्ष पनि निहुँ पारेर पैसा खान खोजेका थिए, मैले तिर्न मानिनँ, त्यसैले मलाई गाउँलेले झूटो मुद्दा लगाएका छन्। मसँग बौल्ने गाउँका मान्छेलाई समेत सजाय गर्छन्।'

अहिले कार्माले आफूविरु द्ध झूटा मुद्दा हाल्नेलाई धनसम्पत्ति लुटपाट अभियोगमा जिल्ला अदालत मुगुमा मुद्दा दर्ता गरेका छन्। गाउँलेले भने कार्मा र उनका भाइविरुद्ध वन मुद्दा दर्ता गरेका छन्।

मुगु गाविस-६ का कार्मा तामाङले विगतमा गाउँको रीतिरिवाजविरुद्ध गएको र यस वर्ष पनि कसैले भनेको नमानी वन प्रवेश गरेकाले उनीविरुद्ध चोरी निकासीमा मुद्दा हालेको बताए। मुगु शान्ति युवा क्लबका सचिवसमेत रहेका तामाङले उनलाई सहयोग गर्ने केही व्यक्तिबाट जरिबाना लिएको स्वीकारे। उनीबाट भने पैसा असुल गरेको आफूलाई थाहा नभएको तामाङले बताए।

एक सय ५३ घरधुरीमध्ये कार्माको एक परवार एक पक्ष र अरू गाउँले अर्को पक्ष भएका छन्। मुगु गाविसका सचिव मकर रावलले उनको परिवारसँग बोलेमा जरिबाना गर्ने गरेको र तीनजनाले ५०-५० हजार रुपैयाँ तिरेको आफूले सुने पनि लिखित रूपमा गाविसमा त्यस्तो जानकारी नआएको बताए।

मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने, 'अहिलेसम्म त्यस्तो जानकारी कार्यालयमा आएको छैन। कसैसँग बोल्दैमा वा हिँडडुल गर्दैमा गाउँलेले कानुनविपरीत जरिबाना गर्न मिल्दैन। कसैले त्यस्तो गरेमा प्रहरीचौकीमा निवेदन दिए आवश्यक कारबाही हुन्छ।'
-आजको अन्नपूर्ण पोस्ट दैनिक बाट

, ,