नयाँ रिक्सा पुजा गरेर फर्कने क्रममा दुर्घटना, तीन जनाको मृत्यु

पाल्पा, असार १७ – पाल्पाको सिद्धबाबा मन्दिरमा पुजा गरेर बुटवल फर्किएको नयाँ अटोरिक्सा मंगलबार दिउँसो सवा दुई बजे तिर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । तीन जना गम्भीर घाइते छन् ।
दुर्घटनामा परी बुटवल नगरपालिका ६ का ३६ वर्षीय पिताम्बर ज्ञवाली, ३५ वर्षीया हीरा आचार्य रहेका छन् भने अर्की एक महिलाको सनाखत हुन नसकेको दोभान प्रहरी चौकी पाल्पाका प्रमुख धीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते गुल्मी घर भई बुटवल ७ बस्ने ७ वर्षीय सुवास ज्ञवालीको लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट थप उपचारका लागि चितवन रिफर गरिएको छ भने बुटवल ६ की ३४ वर्षीया भगवती रायमाझी र बुटवल १३ की २१ वर्षीया मुना गाहाको बुटवलमै उपचार भइरहेको छ ।
उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । चालक बुटवल ६ का ३८ वर्षीय यादव रायमाझी रिक्सा पल्टिनेक्रममै हाम फालेर बचेको प्रहरीले जानकारी दिएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबा र तल्लो सिद्धबाबा नजिकै छरछरे छहराबाट रिक्सा झण्डै डेढसय मिटर तल तिनाउ नदीमा खसेको थियो । रायमाझीले सोमबार मात्रै नयाँ अटो रिक्सा किन्नुभएको थियो । मंगलबार दिउँसो आफन्त र छिमेकी बटुलेर उनले रिक्सा पुजा गर्न मन्दिर आएको बेला उनीहरु दुर्घटनामा परेका हुन् ।
देव पचभैया/उज्यालो ।

,