घुस लिँदालिँदै एलडिओ र इन्जिनियर पक्राउ !

रौतहट-रौतहटका स्थानीय विकास अधिकारी (एलडिओ) वसन्त कुमार भण्डारीलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

स्थानीय विकास अधिकारीको निवासमा हेल्प लाइन नेपाल नामको गैरसरकारी संस्थाका रामप्रसाद यादवसँग एक लाख विस हजार रुपैयाँ लिँदालिँदै अख्तियारको केन्द्रीय टोलीले एलडिओ भण्डारीलाई पक्राउ गरेको हो।
जिल्लामा निर्माणधिन ६ वटा झुलुङ्गे पुलको म्याद सकिएपछि नयाँ सम्झौता नविकरण का साथै म्याद थप गर्नका लागी स्थानीय विकास अधिकारी भण्डारीले घुस मागेका थिए। उनलाई घुस वापत दिएको रकमको नम्बर टिपेर यादवले अख्तियारमा पठाएका थिए।
यस्तै चितवनमा सेवाग्राहीहरुसंग काम मिलाइदिने भन्दै घुस लिँदै गरेका इन्जिनियर पक्राउ परेका छन्। काम मिलाइदिए बापत मध्माञ्चल सिचाई डिभिजन कार्यालय नं. ५ भरतपुर चितवनमा कार्यरत इन्जिनियरहरु रामभद्र पण्डित, मधु अधिकारी र चक्रपाणि लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमिल्सिनालाई चार लाख अन्ठानब्बे हजार घुस लिँदा लिँदै अख्तियारले रंगेहात पक्राउ गरेको हो। चारै जनालाई हिरासतमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताए।

,