कस्को नेतृत्व चाहन्छन् एमालेका युवा नेता ?
नेकपा एमालेको आसन्न महाधिवेशनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा नेतृत्वको प्रतिस्पर्धा तीव्र देखिएको छ । अहिलेसम्म पार्टीका पूर्व महासचिव माधवकुमार नेपाल र केपी शर्मा ओली मैदानमा देखिएका छन् । प्रतिस्पर्धाको यो होडमा वर्तमान अध्यक्ष झलनाथ खनाल नदेखिए पनि सर्वसम्मत हुने अवस्था आएमा आफू अब्बल भएको खनालले बताइसकेका छन् ।
ठाकुर गैरे
बैकल्पिक केन्द्रीय सदस्य, नेकपा एमाले
हामीले आठौ महाधिवेशनमै नेपाली समाजको चरित्रलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका थियौ । राजनीतिक लडाई बैसठी त्रिसठीको जनआन्दोलन पश्चात सकियो भन्ने हाम्रो निश्कर्ष हो । अब राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्तिको विषय सिंगो नेकपा एमाले र देशको नीति हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष हो । अब समृद्धिको लागि नेकपा एमालेले भूमिका निर्वाह गर्न आवश्यक छ । संविधान निर्माण, कस्तो शासन प्रणाली, राज्यको चरित्र कस्तो बनाउने भारतसँगको सम्बन्ध कस्तो हुने विषयमा हामी व्यापक छलफल चलायौ र हामी हाम्रो बहसमा अरुभन्दा माधव नेपाललाई अलि नजिक पाएको हुनाले यो महाधिवेशनमा नेपाललाई साथ दिने निर्णय गरेका हौ । बहुदलीय जनवादको समयानुकुलु परिमाजर्न आवश्यक छ भन्ने कुरामा हामीले विचारका हिसावले जितेका छौ । को नेता हुुने होइन कस्तो नेता बनाउने भन्ने हाम्रो सरकारको विषय हो । अबको नेतृत्वले युवालाई नयाँ विचार दिन सक्छ कि सक्दैन ? आर्थिक समृद्धिलाई कसरी अघि बढाउछ ? राष्ट्रिय पुँजीको संरक्षण गर्न उसको नीति कस्तो छ भनेर खोज्दै जाँदा यो जिम्मेवारी बहन गर्ने नेताकारुपमा अहिलेको सन्दर्भमा हामीले नेता माधव नेपाललाई मात्र देख्यौ । यसकारण अबको नेकपा एमालेको नेतृत्व माधव नेपालले गर्नुपर्छ ।
विशाल भट्टराई
सभासद, नेकपा एमाले
नेकपा एमालेको यो नवौ महाधिवेशन भनेको नेतृत्व हस्तातरणको प्रश्न हो । एउटै व्यक्ति पटक पटक नेतृत्वमा रहिरहने कि नयाँ नेतृत्वको विकास गर्ने भन्ने हाम्रो विषय हो । त्यसैले केपी ओलीलाई नेतृत्व हस्तातरणका लागि हामीले प्रयत्न गरेका छौ । ओलीलाई नेतृत्व दिने भनेको पालो पुर्याउनेमात्र होइन विचारका हिसावले पनि यसको हस्तातरण हो । जनताको बहुदलीय जनवादलाई उहाँले जत्ति अरुले बुझेका पनि छैनन् । जबजको विकास तथा आगामी दिनमा नेकमा एमालेको चुनौतीलाई सामना गर्न पनि नेता ओली यतिखेर अध्यक्ष हुन आवश्यक छ । विचारका हिसाले भन्नुहुन्छ भने अहिलेको दस्तावेज एमालेको सर्वसम्मत विचारको रुपमा आएको हो । उहाँहरुको को हो जो सँग नेपाली समाजको समग्र समस्याको निदान गर्ने अचुक औषधी छ । यतिखेर जबजको विकास आवश्यक र रक्षा आवश्यक छ । यसको रक्षा विकास र प्रयोगविना नेपाली कम्युनिष्ट आन्दोलनले गति लिन सक्दैन । माधव कमरेड समूहका साथीहरुले ओलीको कमजोरीमा हिट गर्न खोज्नु भएको छ । ओलीको विरामीलाई यतिधेरै कमजोरी पनि नठानौ । विरामी को हुँदैन ? विरामीप्रति त माया सद्भाव पो हुन पथ्र्यो त । विरामीप्रति यति निकृष्ठ व्यवहार राख्ने चलन नेकपा एमालेमा किन देखियो ? व्यक्तिको कुरा होइन विचारको कुरा हो । स्वस्थ र दौडिन सक्ने मान्छे मात्रै नेतृत्वमा हुने भन्ने कुरा हुँदैन । त्यसो भए त शुसिल कोइराला पनि विरामी हुनुहुन्छ । उहाँ त देशकै नेतृत्व गरिरहनुभएको छ र नेपाली कंग्रेसको सभापति पनि हुनुहुन्छ ।
रामकुमारी झाँक्री
युवा नेतृ, नेकपा एमाले
पहिलो कुरा त नेपाली समाजमा व्याप्त अशिक्षा, गरिवी, अस्थिरताका के हो त भन्ने विषयमा हामीले अध्ययन गर्न खोज्यौ । जब समस्याको पहिचान हुन्छ तब उपचार कसले गर्ने भन्ने विषय खास महत्वपूर्ण होइन । नेपाली समाजको समस्याको पहिचानका लागि खासगरी नेकपा एमाले नेता घनाश्याम भुसाल, योगेश भट्टराई र विजय पौडेलले अगुवाइ गर्नु भयो र हामी त्यसका सारथी भयौ । नेपाली समाज अर्ध औपनिवेसिक, अर्ध सामान्ती समाज हो भनिदै आइएको थियो । तर हाम्रो अध्ययनले यो निश्कर्षलाई अस्वीकार गर्दै नेपाली समाजको नयाँ व्याख्या गर्यो । आजको समाजको अवस्था पुँजीवादी हो , यसको चरित्र दलाल पुँजीपतिको जस्तो छ । आजको राष्ट्र अर्ध औपनिवेसिक होइन यो स्वतन्त्र राष्ट्र हो बरु भारतले थिचोमिचो गरेको छ । समाजको समस्याको पहिचान नै हुन नसकेका कारण त्यस अनुरुप कार्यक्रम बन्न नसकेका कारण नेपाली समाजको अवस्था जहाँको त्यही छ भन्ने हाम्रो निश्कर्ष रह्यो । र गत आठौ महाधिवेशनमै औपचारिकरुपमा यी मुद्याहरु प्रवेश गरे र यसपटक भने हाम्रो पार्टीले सही दिसाबोध गर्दै छ र संगठनको नेतृत्व माधव नेपालले गर्दै हुनुहुन्छ भने विचारको हिसावले घनश्याम भुसाल योगेश भट्टराई, विजय पौडेलले गर्दै हुनुहुन्छ हामी त्यसका सारथी हौ । व्यक्तिका बारेमा यही हुनुपर्छ भन्ने हाम्रो केही छैन जसले यो विचार बोक्न सक्नुहुन्छ उसलाई हामी नेता मान्न सक्छौ । यो कुरा हामीले मात्र होइन नेता नेपालले पनि सार्वजनिकरुपमै भन्नु भएको छ । हामी त चाहन्थ्यौं युवा नेता शंकर पोखरेले नै नेतृत्व गर्नुहोस् विचारका हिसावले, संगठनक हिसावले नेतृत्व युवामा ल्यायौ भन्ने चाहना थियो । जसले सही विचार बोक्छ हामी उसलाई समर्थन गर्छौ । पद बाँडेर प्रलोभन देखाएर नेतृत्व स्थापित हुँदैन ।
गोकुल घर्ती
सभासद नेकपा एमाले
सबैभन्दा ठूलो कुरा त नेकपा एमालेको यो नवौ महाधिवेशन सर्वसम्मत होस् र यसले सवैसम्मतरुपमा नेतृत्व चयन गरोस भन्ने सिंगो नेकपा एमालेका नेता तथा कार्यकर्ताको चाहना छ । यसका लागि पार्टीको नेतृत्वमा पुगिसक्नु भएका र सरकारको जिम्मेवारी पनि लिइसक्नुभएका नेताहरुले पहल गरिदिएर सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाए राम्रो हुने थियो । उस्तै योग्यता, उस्तै क्षमता तथा उस्तै योगदान भएका नेताहरुलाई नेृतत्व हस्तातरण गर्नका लागि नेता माधव नेपालदेखि झलनाथ खनाल सम्मले वातावरण बनाउनुपर्छ । तर्क जे गर्न पनि पाइन्छ । मूल कुरा नेतृत्व भनेको टिम स्प्रीट हो । पार्टीमा भूमिका खेल्ने कुरा हो । यसकारण कुनै पनि नेताले मैले एक्लै गर्छु भन्छ भने यो उसको मूर्खता हो । मैले मात्र गर्न सक्छु फलानोले गर्न स्कदैन भन्ने कुरा बेकार हो । नेतृत्व व्यक्तिले मात्र गर्ने भए किन पदाधिकारी र सामुहिकताको कुरा गरिन्थ्यो र ? अजम्बरी कोही पनि हुन सक्दैन । मदन भण्डारी ४१ वर्षमा बित्नु भयो तर पार्टीको नेतृत्वदेखि सिंगो नोपली कम्युनिष्ट आन्दोलनलाई नयाँरुपमा परिाभाषित गर्नु भयो । यसकारण विरामी या अन्य कुनै प्रकारका व्यक्तिगत टिकाटिप्पणीमा नजाउ । अब नेकपा एमालेको अध्यक्षमा नेता केपी ओली शर्मालाई सर्वसम्मत बनाउन सबैले योगदान गरौं ।