राजेश हमालको विवाह सम्पन्न; घरमा देखिएन तामझाम

काठमाडौं, जेठ १० – नेपाली चलचित्रका महानायक राजेश हमालको विवाह सम्पन्न भएको छ । हमालले धरानी युवती मधु भट्टराईसँग विवाह गरेका हुन् ।

काठमाडौंको अन्नपूर्ण होटेलमा हिन्दू परम्परा अनुसार हमालको विवाह सम्पन्न भएको हो । ‘हिन्दू परम्परा र विधि अनुसार शनिबार दिउँसो २ बजे विवाह कार्यक्रम सम्पन्न भएको छ’ हमालका सहयोगी रोशन हमालले उज्यालो अनलाइनसित भन्नुभयो ।
विवाह कार्यक्रम मा वेहुला पक्षका हमालका नजिकका नातेदार र सहयोगी गरी ४० जना सहभागी भएका थिउ भने वेहुली पक्षका २० जना सहभागी थिए । विवाह समारोहमा सञ्चारकर्मीलाई प्रवेश दिइएको थियो ।
हमालले शनिबार दिउँसो ३ बजेतिर हमाल आफ्नो निवास कपुरधारामा बेहुली भित्र्याउने कार्यक्रम राखिएको छ । विवाहमा कुनैपनि किसिमको तडकभडक र तामझाम नभएको र दाइजोसमेत नलिएको रोशनको भनाइ छ ।
लामो समयदेखिको प्रेम सम्बन्धलाई हमालले विवाहमा परिणत गरेका हुन् । हमालले विवाह भोज भने आउँदो १४ गते दिन लागेका छन् । विवाह भोजमा चाहिँ झण्डै ५ सयजनालाई निम्तो दिइएको हमाल परिवारले जनाएको छ ।

हमालको घरमा देखिएन तामझाम
५० बर्षको उमेरमा बल्ल नायक राजेश हमालको बिहेको साइत जुरेको छ । प्रेमिका मधु भट्टराइलाई नायक हमालले आज बेहुली बनाएका हुन् । मधुलाई लिन नायक हमाल बिहान करिब ११ बजेर ४५ मिनेटमा अन्नपूर्ण होटल छिरेका थिए ।

नायक राजेश हमालको घरमा भने कुनै तामझाम देखिएन । न त घर सजिएको थियो न त हमाल नै सजिएर अन्नपूर्ण होटलसम्म नै पुगेका थिए । कोर्ट र दौरासुरुवालसँगै ढाकाटोपीमा हमाल अन्नपूर्ण होटलको कुमारी हल छिरेका थिए । तर उनको कपुरधारामा रहेको घर भने सामान्य देखियो । बिहेका लागि बोलाइएका अतिथी र उनका आफन्त भन्दा अन्य घरमा देखिएनन् । घरमा पनि कुनै सजावट देखिएन ।




, ,