७५ लाखका हकदार भेटिएनन्

काठमाडौं- वैदेशिक रोजगार सिलसिलामा मलेसिया पुगेर घाइते तथा मृत्यु भएका कामदार र तिनका आफन्तले पाउनुपर्ने झन्डै ७५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा जम्मा भएको छ। तर, सम्बन्धित हकदार नभेटिएकाले उक्त रकम वितरण हुन सकेको छैन।
घाइते तथा मृतकको क्षतिपूर्ति रकम चेकमार्फत् आउने गरे पनि पीडित परिवार नभेटिँदा रकम बढ्दै गएको विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले बताए।
विभागका अनुसार मलेसियाबाट घाइते तथा मृतक नेपाली कामदारका परिवारलाई क्षतिपूर्तिबापत आएको रकममध्ये १८ वटा चेक बुझ्न सात/आठ वर्षदेखि कोही आएका छैनन्। ती १८ पीडित परिवारले पाउनुपर्ने रकम ७५ लाख रुपैयाँ हाराहारी पुगेको छ।
'हामीले क्षतिपूर्ति रकम पाउने हकदारलाई
६/७ पटक जिल्ला प्रशासन कार्यालयमार्फत् सम्पर्क गर्न खोज्यौं, तर क्षतिपूर्ति बुझ्ने हकदार नै भेट्टाउन सकेनौं,' राजभण्डारीले नागरिकसँग भने, 'हकदार नभेट्दा आएको रकम बुझाउन पाएका छैनौं।'

मलेसियाबाट चेकका रूपमा विभागलाई प्राप्त क्षतिपूर्ति रकम व्यक्तिअनुसार फरक छ। मलेसियामा काम गर्दा घाइते तथा मृत्युको प्रकृति हेरेर रोजगारदाता कम्पनीले क्षतिपूर्ति रकम उपलब्ध गराएका हुन्। प्रतिव्यक्ति १५ हजारदेखि १० लाख रुपैयाँसम्म छ। केही व्यक्तिको नाममा १० लाख रुपैयाँको क्षतिपूर्ति रकम प्राप्त भएको राजभण्डारीले बताए।
विभागमा जम्मा भएका १८ चेकमध्ये १० वटा घाइते र ८ वटा मृतकका परिवारको नाममा छ। घाइतेका नाममा आएको क्षतिपूर्ति रकमको हकदारमा घाइतहरूकै नाम उल्लेख छ भने मृतक कामदारको हकदारमा आफन्तको नाम छ।
घाइते हकदारमा नवलपरासी धुर्कोट–४ का भीमसेन ढेगा मगर, काभ्रे देवभूमि बालुवा–२ का होमबहादुर दनुवार, झापा सतासीधाम–६ का लालबहादुर राय, गुल्मी रुपाकोट–७ का कृष्णबहादुर थापा, धनुषा रघुपुर– ४ का सुकदेव मण्डल घानुक, ताप्लेजुङ सबलाखु–३ का भागीमान बुढाथोकी, सर्लाही ईश्वरपुर–१ का घनश्याम महतो, झापा मेचीनगर–१ का गणेशकुमार गिरी, दाङ गंगारपुर–१ का शम्भु यादव र स्याङ्जा मालुंगा–२ का मुक्तिप्रसाद न्यौपाने छन्।

मलेसियामा काम गर्ने क्रममा मृत्यु भएका झापा सतासीधाम–३ का जयप्रसाद लिम्बू, सिन्धुली महादेवस्थान–३ का सूर्यलाल गोले, संखुवासभा तामाफोक–६ का चंखलाल जिमी, दोलखा माली–७ का पेमनोर्बु शेर्पा, दोलखा ओराङ्ग–३ का खिलबहादुर तामाङ, इलाम बाँझो–२ का हर्कध्वज लिम्बू, रौतहट गौर–१ का नमुनाथ नुनिया र नवलपरासी रामग्राम–७ का जोगिन्दर राठौरका कानुनी हकदारले पनि क्षतिपूर्ति रकम बुझेका छैनन्।
मृतक जयप्रसादको कानुनी हकदार नर्वदा लिम्बू र चन्द्रबहादुर लिम्बू, सूर्यलालका कानुनी हकदार पूर्णबहादुर गोले, चंखलालका कानुनी हकदार रमिला जिमी, पेमनोर्बुका कानुनी हकदार लकपुटी शेर्पा, पेमा शेर्पा र दोलापु शेर्पा छन्। त्यस्तै, अन्य मृतक खिलबहादुरका कानुनी हकदारमा चरी तामाङ र भक्ते तामाङ, हर्कध्वजका कानुनी हकदारमा सुकराज लिम्बू, लहरसिंह लिम्बू र शर्मिला लिम्बू, नमुनाथका कानुनी हकदारमा शिव महतो नुनिया र जोगिन्दरका कानुनी हकदारमा शम्भादेवी राठौर छन्।
'क्षतिपूर्ति रकम लिन न यी घाइते आएका छन् न मृतकका कानुनी हकदार,' विभागका महानिर्देशक राजभण्डारीले भने।
वैदेशिक रोजगारमा मलेसिया गएकाहरूको घाइते वा मृत्यु भए रोजगारदाता कम्पनीले बिमा तथा क्षतिपूर्ति रकम घाइते व्यक्ति तथा मृतकका परिवारलाई दिने कानुनी प्रावधान छ। यसैअनुसार रोजगारदाताले उनीहरूले पाउनुपर्ने रकमबापत चेक पठाएका हुन्।
मलेसियाबाट आउने यस्तो रकम वितरण गर्न विभागले कानुनी हकदारलाई जिल्ला प्रशासन कार्यालयमार्फत् सम्पर्क गर्छ। कानुनी हकदारले विवाह दर्ता, मृत्यु दर्ता, नाता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्भव भएसम्म मृतकको नागरिकता प्रमाणपत्र लगायत कागजात बुझाएपछि मात्र विभागले क्षतिपूर्ति रकम उपलब्ध गराउने गर्छ।
'मलेसिया बाहेकका देशले ड्राफ्टमार्फत् क्षतिपूर्ति रकम पठाउँछन्, जुन हामी सिधै जिल्ला प्रशासन कार्यालय पठाउँछौं र त्यहाँबाट सम्बन्धित व्यक्ति तथा परिवारलाई बुझाइन्छ,' राजभण्डारीले भने, 'मलेसियाका रोजगारदाता कम्पनीले भने चेक पठाउने हुँदा उक्त रकम हामीले सिधै हकदारलाई बुझाउने गरेका छौं।'

,