कर्मचारीलाई कार, फ्ल्याट र गहना बोनस

एजेन्सी, कार्तिक ४ - भारतका एक व्यवसायीले आफ्ना कर्मचारीलाई दीवाली बोनसको रुपमा कार, फ्ल्याट र गहना दिएपछि त्यसको विश्वव्यापी चर्चा भएको छ । भारतको हिरा उत्पादक कम्पनी हरिकृष्ण एक्पपोर्ट प्रालिले आफ्ना कर्मचारीलाई ५० करोड भारु बराबरको दिवाली बोनस वितरण गरेको हो ।

कम्पनीले आफ्ना ६ हजार कर्मचारीमध्ये छानिएका एकहजार २ सय ६८ जनालाई यस्तो बोसन वितरण गरेको हो । कर्मचारीले गरेको काम र कम्पनीप्रतिको जिम्मेवारीको आधारमा यस्तो बोनस दिइएको हो । प्रत्येक कर्मचारीलाई चार लाख भारु बराबरको बोनस दिइएको कम्पनीले जनाएको छ ।

'हामीले इमान्दार कर्मचारी पुरस्कार गर्ने अभियान चलाइरहेका छौं, एक बर्षको कामको मूल्यांकनको आधारमा दीवाली बोनसको लागि उनीहरु छानिएका हुन्', कम्पनीका अध्यक्ष तथा महाप्रबन्धक साभाजी ढोलाकियाले भने,'यस्तो पुरस्कारले उनीहरुको मनोबढल बढाउनेछ ।'

प्रत्येक कर्मचारीलाई कार, फ्ल्याट र गहनामध्ये एक विकल्प छान्न लगाइएको थियो । ४९१ कर्मचारीले कार, २०७ ले फ्ल्याट र ५७० जनाले गहना रोजेको बताइएको छ ।

कार छान्नेले पुन्टो इभो कार खरिदको लागि चार लाख भारु पाउनेछन् भने फ्ल्याट र गहना रोज्नेले पनि खरिदका लागि त्यति नै रकम पाउनेछन् ।

कम्पनीले गत बर्ष ६ हजार करोडको कारोबार गरेको थियो ।

, ,