कार्यगत एकता घोषणा गरेको केही दिनमै २ माओवादीबिच बिबाद बल्झियो |
काठमाडौं : पार्टी एकताका निम्ति वातावरण बनाउन कार्यगत एकता गरिरहेका एमाओवादी र नेकपा-माओवादी संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउन सक्रिय रहे पनि संविधान जारी गर्ने प्रक्रियामा उनीहरूबीच मतभेद देखिएको छ।
संविधानसभामा रहेको एमाओवादी संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा छ। संविधानसभा चुनाउ बहिष्कार गरेको नेकपा-माओवादी संविधानसभाबाहिर सर्वपक्षीय राजनीतिक सभा गरी संविधान जारी गर्नुपर्ने पक्षमा छ। 'सर्वपक्षीय राजनीतिक सभामा संविधानका अन्तरवस्तुमा सहमति गराएर संविधानसभाबाट संविधान जारी गर्नुपर्छ', एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले अन्नपूर्णसँग भने, 'संविधान संविधानसभाभन्दा बाहिरबाट जारी गर्नु हुँदैन।' एमाओवादीले संविधानका अन्तरवस्तु अध्ययन र सहमति खोज्न पार्टीभित्र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कमिटी बनाएको छ। एमाओवादी र नेकपा-माओवादीसहित पाँच माओवादी घटकले पाँच सदस्यीय कार्यदल बनाएर संविधानका अन्तरवस्तुमा सहमति जुटाउने कसरत गरिरहेका छन्।
----------
सर्वपक्षीय सभामा सहमति गराएर संविधानसभाबाट संविधान जारी गर्नुपर्छ : एमाओवादी
संविधानसभाबाहिर सर्वपक्षीय राजनीतिक सभा गरी संविधान जारी गर्नुपर्छ : नेकपा-माओवादी
---------
'संविधान कहाँबाट जारी गर्ने भन्ने विषयमा निर्णय गरेका छैनौं। हामी संविधानसभाबाट जारी हुनु हुँदैन भन्ने मा छौं। एमाओवादी संविधानसभाबाटै जारी गर्नुपर्छ भन्ने पक्षमा छ', नेकपा- माओवादी उपाध्यक्ष सीपी गजुरेलले भने, 'संविधानसभाभित्र वा बाहिर कहाँबाट जारी गर्ने भन्ने विषय टुंगिएको छैन।' आफूहरू पर्ख र हेरको अवस्थामा रहेको पनि उनले बताए। 'त्यो विषय अहिले थाती छ', गजुरेलले भने, 'संविधानसभामा रहेको दलले त्यहींबाट र अरू दलले सडकमा दबाब दिने भन्नेमा मात्रै समझदारी भएको छ।' नेकपा-माओवादीले संविधानसभालाई नस्वीकारेको पनि गजुरेलले प्रस्ट पारे।
दुवै दलको शीर्ष नेतृत्व पार्टी एकता गराउने पक्षमा दृढतापूर्वक उभिएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यबीच पार्टी एकताका विषयमा निरन्तर छलफल चलिरहेको छ। दुवै नेता चाँडै पार्टी एकता गर्ने पक्षमा छन् भने दुवै पार्टीमा पार्टी एकतामा अवरोध खडा गर्न खोज्नेहरू पनि छन्। एमाओवादीका एक नेताले अन्नपूर्णसँग भने, 'दुवै माओवादीलाई सिध्याउने प्रतिक्रियावादीको रणनीति दुवै पार्टीको शीर्ष नेतृत्वले बुझेको छ। त्यसैले अब जसरी पनि चाँडै पार्टी एकता गर्ने पक्षमा नेताहरू लागिरहनुभएको छ।'
-रेवती सापकोटा /अन्नपूर्णपोस्ट